८ वैशाख २०८१ शनिबार
अर्थ

हस्तान्तरण नहुँदै जीर्ण: सरकार बनाउँदै, टिप्पर भत्काउँदै

शहीद मार्ग

रोल्पाका सडकहरु अस्तव्यस्त छन्, कोरोना कहरले तर्साउन छोडेको छैन। शिक्षा क्षेत्र सुनसान छ, भएका रोजगारी डोजरले खोसेका छन्। स्थानीय सरकारको अलिअलि चहलपहल देखिए पनि केन्द्र र प्रदेश सरकार रोल्पालीका लागि गुमनाम जस्तै छन्। जिल्ला जोड्ने मुख्य दुई सडक मध्य एकको अवस्था निकै जीण छ। दाङको घोराही हँुदै रोल्पा होलेरी जोड्ने शहीद मार्ग जीर्ण बनेको छ।  

सरकारी पक्षकोे चरम लापरबाहीका कारण राज्यले करोडौको लगानीमा निर्माण गरेको महत्वपूर्ण सडक जीर्ण बनेको हो।क्षमताभन्दा धेरै भार बोकेर टिप्पटरहरु कुदाउदा घोराही हँुदै रोल्पा होलेरीसम्मको कालोपत्रे सडक उप्किएर कच्ची सडकभन्दा पनि जीर्ण बनेको स्थानीय बताउछन्।

सडकको क्षमता भन्दा बढी भार बोकेका सिमेन्ट उद्योगका दर्जनौ टिप्परहरुले नियमित आवत जावत गर्न थालेपछि सडकको बेहाल भएको स्थानीयहरु बताउँछन्। त्यसो त यहाँ सिमेन्ट उद्योगका लागि बैकल्पिक औधोगिक मार्ग समेत छ तर प्रयोगमा आएको छैन।

चुन ढुंगा ओसार्न प्रयोग गर्नका लागि अर्को सडकको स्वीकृती ल्याएको भए पनि शहिद मार्ग नै प्रयोग गरिरहेको छ। सडक कालो पत्रे भएको २ बर्ष नबित्दै जीर्ण भए पनि मर्मत तर्फ ध्यान कसैले नदिइएको स्थानीएको आरोप छ।

घोराही होलेरी साढे ३१ किलोमिटर उक्त सडकमा यतिबेला यात्रा गर्न कठिनाई भएको छ। पहाडी घुम्ती उक्त सडकमा दर्जनौ स्थानमा पहिरो र ठूल्ठूला खाल्डा खुल्डी परेपछि सवारी चालक र यात्रुहरु हैरान बनेका छन्। ‘शिल प्यासेफिक ज्वाईन्ट भेन्चर कम्पनी’ले ४० करोड ८३ लाखमा उक्त सडक कालोपत्रे गरेको थियो।  

यो सडक भारतीय एक्जीम बैङ्कको ऋण सहयोगमा गत साल कालो पत्रे गरिएको हो । निर्माण भएको एक वर्षसम्म ठेकेदार कम्पनीले मर्मतको जिम्मा लिने संझौता भएकाले सडक अस्तव्यस्त भएपछि हस्तान्तरण समेत भएको छैन। दर्जनौ स्थानमा भत्किएको र उम्किएको यो कालो पत्रे सडक कतिपय ठाउँमा कच्ची सडकभन्दा पनि कमसल देखिन थालेको छ। टिप्परहरुले ओभर लोड बोकेर दौडने गरेका कारण कालो पत्रे नटिकेको स्थानीय बताउँछन्।  

‘कालो पत्रे गरिएको यो सडक निर्माण ब्यबसायीले हामीलाई हस्तान्तरण गर्ने बेला भएको छ। तर संझौता अनुसारको नभएपछि हामीले बुझेका छैनौ।’ शहिद मार्ग सडक योजनाका प्रमुख बिष्णु बाबु पाण्डेले भने ‘बास्तबमा क्षमता भन्दा बढी लोड बोकेर टिप्परहरु कुद्न थालेपछि सडकले भार थेग्न नसकेको हो।’ उनका अनुसार टिप्पर नचलेको ठाउँको सडक ठीकै छ। चुन ढुंगा निकासी गर्ने स्थानसम्मका प्राय सबै घुम्तिमा सडक धेरै नै बिग्रिएको छ।  

त्यसो त ठेकेदार कम्पनीले ओभर लोडेड टिपर गुडेकै कारण उक्त सडक बिग्रिएको दाबी गर्दै आएको छ। शिल प्यासेफिक ज्वाईन्ट भेन्चर कम्पनीले न्यायका लागि अदालतमा जाने बताउँदै आएको भए पनि प्रक्रियामा भने गएको छैन। यस विषयमा कम्पनीका प्रतिनिधिसँग प्रतिक्रिया लिन खोज्दा उनीहरुसँग सम्पर्क हुन सकेन।

उता रुन्टीगढी गाउँपालिका होलेरीले पनि सडक सुधारमा कसैले चासो नदिएको बताएको छ। ‘सडक निकै अस्तव्यस्त छ। कार्यपालिकाको बैठकले प्रदेश मन्त्री, सांसद, उद्योगका आधिकारिक व्यक्ती लगायत सरोकारवालालाई राखेर सर्वपक्षीय छलफल गर्ने निर्णय गरेका छौ।’ रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले भने ‘अहिले झनै जीर्ण भएको छ। धेरै पटक छलफल भयो तर कुनै निकास भने निस्किएको छैन।’

सडकमा समस्या आएपछि स्थानीयहरु सबैभन्दा बढी समस्यामा परेका छन्। ‘सबैभन्दा बढी साना गाडी र मोटरसाइकललाई तनाव हुन्छ। बर्षौ भयो हरेक साल सडकले तनाव दिन्छ।’ रुन्टीगढी गाउँपालिकाका कर्मचारी दिपक डिसी भन्छन् ‘टिप्पर नचलेका ठाउँमा सडक ठीकै छ तर अन्यत्र बिजोग छ।’ उनी जस्तै होलेरीका स्थानीय पत्रकार नन्दराम खड्का पनि सडकले स्थानीयलाई सास्ती दिएको बताउछन्। ‘यो सडक कहिल्यै सुधार नहुने भयो।’ उनले भने।

पहाडका लागि त्यति उपयुक्त नमानिएको डिजाइन् स्टिमेटमा बनेको यो सडक दाङ, रोल्पाको होलेरी, घर्तीगाउँ, थवाङ, हुदै रुकुम जोड्ने योजना रहेको छ। त्यसो त यहाँको योजना डिजाइनमा बातावरणीय जोखिम प्रभाव न्युनिकरणका लागि बजेट समेत छैन। ठाउँठाउँमा सडकको दुईतिर रुखबिरुवा रोप्नु पर्ने तर बजेट नभएपछि त्यो केहि गरिएको छैन। सडकको कालो पत्रे उम्किए जस्तै दर्जनौ स्थानमा पहिरो लडेर जोखिम निम्ताएको छ। तर वातावरणीय हिसावले कुनै काम गरिएको छैन।

प्रकाशित: १९ श्रावण २०७७ ०८:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App