८ वैशाख २०८१ शनिबार
अर्थ

सडक कालोपत्रे तीन वर्षकै न्यून

दाङको तुलसीपुर उपमहानगरपालिका–११ स्थित सहिद मार्ग आइतबार कालोपत्रे गरिँदै। सहिदको नाममा नामकरण गरिएको उक्त सडक स्तरोन्नतिका लागि स्थानीय तथा प्रदेश सरकारले चासो दिएका छन्। तस्बिर: दीपक बोहरा/रासस

गत आर्थिक वर्षको फागुनसम्म पूर्वाधार निर्माणको काम गर्न कुनै समस्या थिएन। तर पनि पूर्वाधार निर्माण गर्ने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले अपेक्षित गतिमा सडक तथा अन्य पूर्वाधार निर्माणको काम गर्न नसकेको पाइएको छ।  

अघिल्ला वर्षमा पनि लक्ष्यअनुसार काम नगरेको विभागले गत आर्थिक वर्षमा भने कोभिड १९ को बहाना बनाएर पन्छिन पाएको छ। विभागले गत वर्ष सडक कालोपत्रेमा तीन वर्षयताकै कम उपलब्धि हासिल गरेको छ। चैत ११ मा लकडाउन सुरु हुनुअघि काम गर्न कुनै अवरोध थिएन।  

लकडाउनबीच पनि सरकारले सडक र पूर्वाधार निर्माण गर्न बाटो खोलेको थियो। विभाग मातहतका योजनालाई गत आर्थिक वर्ष ०७६÷७७ मा एक खर्ब २७ अर्ब रुपैयाँ बजेट थियो। तर विभागले आर्थिक वर्षको अन्त्यसम्म करिब ५४ प्रतिशत बजेट खर्च गरेको छ।  

विभागका महानिर्देशक केशवकुमार शर्माले गत वर्ष विभागका आयोजनालाई एक खर्ब २७ अर्ब बजेट विनियोजन भए पनि ५४ प्रतिशतमात्रै बजेट खर्च भएको बताए। ‘कोभिड १९ ले दशकयताकै कम बजेट खर्च भएको छ,’ उनले भने, ‘अघिल्ला वर्षहरुमा ८० देखि ९० प्रतिशतसम्म खर्च हुन्थ्यो। अहिले कोभिड १९ ले गर्दा ५४ प्रतिशतमा खुम्चिन पुग्यो।’  

महानिर्देशक शर्माले तेस्रो चौमासिकमा काम सुरु हुने बेलादेखि नै लकडाउन भएकाले वित्तीय तथा भौतिक प्रगति सोचेअनुसार हुन नसकेको बताए। ‘कोभिड १९ का कारण लक्ष्य अनुसार काम गर्न सकिएन,’ उनले भने, ‘कोभिड हुँदैनथ्यो भने धेरै राम्रो प्रगति हुन्थ्यो।’  

विभागले गत आर्थिक वर्षमा १२ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेकोमा सात सय २९ किलोमिटर मात्रै गरेको छ। त्यसैगरी, तीन सय ५७ किलोमिटर स्तरोन्नति (कालोपत्रे), सात सय ५७ किलोमिटर ग्राभेल र तीन सय ६५ किलोमिटर नयाँ ट्र्याक खोलेको जनाएको छ।  

विभागले अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा नौ सय १५ किलोमिटर सडक कालोपत्रे गरेको थियो। त्योभन्दा अघिल्लो वर्ष ०७४/७५ मा नौ सय चार किलोमिटर कालोपत्रे भएको थियो।

तीन सय पुलमा २१० बने
विभाग मातहतको पुल महाशाखाले गत आर्थिक वर्षमा तीन सय पुल निर्माण गर्ने लक्ष्य राखेको थियो। पुल निर्माणको मुख्य सिजनमै लकडाउन भएपछि अपेक्षित गतिमा काम हुन सकेन। गत आर्थिक वर्षमा २१० वटा पुल निर्माण सम्पन्न भएका छन्। विभागका महानिर्देशक शर्माले पुल निर्माणको मुख्य सिजनमै लकडाउन भएकाले लक्ष्यअनुसार काम गर्न नसकेको बताए। ‘फागुनदेखि जेठसम्मको पुल निर्माण गर्न उपयुक्त सिजनमै लकडाउन हुँदा काम हुन सकेन,’ उनले भने, ‘लकडाउन नभएको भए लक्ष्यअनुसारै पुल निर्माण गर्न सक्थ्यौं।’ अघिल्लो आर्थिक वर्षमा दुई सय ४३ र आर्थिक वर्ष ०७४/७५ मा ८२ वटा पुल निर्माण भएका थिए।

प्रकाशित: १९ श्रावण २०७७ ०४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App