८ वैशाख २०८१ शनिबार
अर्थ

भैरहवा भन्सार राजस्व: लक्ष्यको ६६ प्रतिशत असुली

आयात सबा दुई खर्बको, निर्यात तीन अर्बको

बेलहिया नाकाबाट नेपाल भित्रिँदै गरेको औद्योगिक कच्चा पदार्थ एमएस बिलेट बोकेको गाडी। तस्बिर: रेखा/नागरिक

देशकै दोस्रो ठूलो भैरहवा भन्सारले यसपटक लक्ष्यभन्दा ३४ प्रतिशत कम राजस्व संकलन गरेको छ। गत आर्थिक वर्ष ०७६/७७ मा यो भन्सारले ७० अर्ब २९ करोड १५ लाख राजस्व संकलन गरेको हो। यो रकम राजस्व असुली लक्ष्यको ६६.३१ प्रतिशत मात्रै हो।

भन्सार विभागले गत आर्थिक वर्षका लागि भैरहवा भन्सारलाई एक खर्ब ६ अर्ब राजस्व असुलीको लक्ष्य तोकेको थियो। पछिल्ला चार महिना लकडाउनले अत्यावश्यक बाहेकका मालसामान आयात ठप्प हुँदा राजस्व संकलन घटेको भन्सारका सूचना अधिकृत पुर्णप्रसाद लम्सालले बताए।  

संकलित कुल राजस्वमध्ये भन्सारतर्फ २४ अर्ब ६४ करोड संकलन भएको छ। मूल्य अभिवृद्धि करतर्फ २४ अर्ब ५५ करोड र अन्तःशुल्कबाट १४ अर्ब १९ करोड असुली भएको छ। त्यसबाहेक सडक सुधार तथा मर्मतसम्भार शीर्षकमा दुई अर्ब ९४ करोड, पुर्वाधारबापतको एक अर्ब १० करोड र कृषि सेवा शुल्कमा एक अर्ब ६१ करोड राजस्व असुली भएको छ।  

अघिल्ला वर्षको तुलनामा यो नाकाबाट मोटरसाइकल, जिप, कार, भ्यान, डिजल, पेट्रोल  आयात उल्लेख्य घटेको छ। सूचना अधिकारी लम्सालका अनुसार कोरोना महामारीका लागि गरिएको लकडाउनले पेट्रोलियम पदार्थ, गाडीका पार्टपूर्जा, विद्युतीय सामग्री, लत्ताकपडा आयात घटेको हो। चामल, आलुप्याज र हरियो तरकारकी आयात भने बढेको छ।  

अघिल्लो वर्षको तुलनामा आयात घटे पनि राजस्व असुलीको पहिलो नम्बरमा भने सवारी साधन नै छ। कुल राजस्वको २९.६० प्रतिशत हिस्सा सवारी आयात बापतको छ। यो नाकाबाट संकलित राजस्वमध्ये सबैभन्दा धेरै ११ अर्ब ६३ करोड राजस्व मोटरसाइकल आयतबापतको हो।  

जिप, कार भ्यानबाट ६ अर्ब ९२ करोड, सिंगल क्याब पिकअप गाडीबाट एक अर्ब २६ करोड र ट्रक, मिनी ट्रक आयातबाट एक अर्ब पाँच करोड राजस्व संकलन भएको छ। एमएस बिलेटबाट दुई अर्ब ८१ करोड, डिजेलबाट एक अर्ब ५२ करोड, टायलबाट दुई अर्ब, २६ करोड, पेट्रोलबाट एक अर्ब ३५ करोड राजस्व संकलन भएको छ। मार्बलबाट एक अर्ब ३९ करोड, कोइला आयातबाट एक अर्ब १९ करोड राजस्व संकलन भएको हो।  

यी वस्तुहरु राजस्व संकलनका हिसाबले पहिलो १० नम्बरमा परे पनि आयातित वस्तुको मूल्यको हिसाबले भने  एमएस बिलेट १ नम्बरमा छ। यसपालि भैरहवा नाकाबाट १५ अर्ब ३३ करोडको एमएस बिलेट अर्थात फलाम पत्ति आयात भएको हो। दोस्रो नम्बरमा मोटरसाइकल छ। ११ अर्ब ८५ करोडको एक लाख २८ हजार दुई सय ६ मोटरसाइकल आयात भएको छ। सात अर्ब ४३ करोडको डिजेल र दुई अर्ब ७७ करोडको पेट्रोल आयात भएको छ। त्यस्तै ६ अर्ब ३९ करोडको कोइला आयात भएको छ।  

चार अर्ब ११ करोडको टाइल र दुई अर्ब ४९ करोड मूल्यको मार्बल आयात भएको छ। तीन अर्ब १५ करोडको चार हजार पाँच सय १८ जिप तथा कार आयात भएको छ। दुई अर्ब २२ करोडका एक हजार नौ सय ४० ट्रक, मिनी ट्रक भित्रिएका छन्। एक अर्ब सात करोडका एक हजार आठ सय ७५ वटा पिक–अप गाडी भित्रिएका छन्।  

आयात सबा दुई खर्बको, निर्यात तीन अर्बको  
यो नाकाबाट निर्यात हुने वस्तुको तुलनामा भारत तथा तेस्रो मुलुकबाट आयात हुने मालसामानको परिमाण उच्च छ। भैरहवा भन्सारबाट हुने निर्यातको हिस्सा जम्मा ०.०१  प्रतिशत मात्रै छ।

औद्योगिक कच्चा पदार्थ एमएस बिलेट, मोटरसाइकल, ट्रक तथा पिकअप गाडी, जिप, कार, भ्यान, इन्धन, टायल–मार्बल र उपभोगजन्य वस्तुको आयात दर बर्सेनि बढ्दो छ। आयातमुखी अर्थतन्त्रका कारण व्यापार घाटाको ग्राफ बर्सेनि बढ्दै गएको भन्सार अधिकारी बताउँछन्। यो नाकाबाट खाद्यान्न र आलुप्याजको आयात पनि उच्च छ।

प्रकाशित: १९ श्रावण २०७७ ०४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App