४ वैशाख २०८१ मंगलबार
अर्थ

लकडाउनपछि खुलेका रेस्टुरेन्टको कमाइः ‘बत्ती र पानीको पैसा तिर्न पनि पुग्दैन’

लकडाउन खुलेपछि यहाँका सीमित रेस्टुरेन्ट मात्र संचालनमा आएका छन् । तस्बिर: उमेश पुन/नागरिक

कोरोना महामारीबीच सरकारी अनुमतिपछि लेकसाइडका केही होटल र रेस्टुरेन्ट त खुले, तर, ती रेस्टुरेन्टले निकै नै कम आकारमा स्थानीय पाहुना पाएका छन् । होटलले भने एकाध सोधपुछबाहेक पाहुना स्वागत गर्न सकेका छैनन् । संचालनमा आएका रेस्टुरेन्टको कमाइले बत्ती र पानीको पैसा पनि तिर्न नसकिने व्यवसायीले बताएका छन् । रेस्टुरेन्टलाई जीवित राख्नका लागि मात्र संचालनमा ल्याएको उनीहरुको भनाई छ ।

लेकसाइडको मुनडान्स निकै नै चल्तीको रेस्टुरेन्ट हो । यो रेस्टुरेन्टमा सिजनका बेला विदेशी पाहुनाको भीड थेगिसक्नु हुँदैनथ्यो । पाहुनाको अधिक भीड हुँदा यहाँ ३७ जना कर्मचारीले काम पाएका थिए । तर, यतिबेला भने संचालक दोर्जे लामाले जम्मा ७ जना कर्मचारीको भरमा रेस्टुरेन्ट संचालनमा ल्याएका छन् । लकडाउन अवधिभर तालबन्दी रहेको यो रेस्टुरेन्टले तीन दिनअघिदेखि पाहुनालाई सेवा दिन थालेको छ । रेस्टुरेन्टमा पोखरामा रोकिएका केही विदेशी र बजारभित्रका स्थानीय पाहुना मात्र खाना खान पुगेको संचालक लामाको भनाई छ ।

‘पोखरामा रोकिएका केही विदेशी पाहुना आए । त्यसबाहेक स्थानीय केही युवायुवती र चिनजानका नियमित पाहुना मात्र आए,’ संचालक लामाले भने, ‘विदेशी छैनन् । बाहिरबाट आउने अवस्था छैन । स्थानीय बजारबाट झरेका र चिनजानका पाहुनाको भरमा चलेको ब्यापारले खर्च धान्न सक्दैन ।’ यतिबेला नाफाका लागि भन्दा पनि रेस्टुरेन्टलाई जीवित राख्न संचालनमा ल्याएको उनले बताए । ‘ब्यापारका लागि होइन, रिफ्रेसका लागि मात्र हो,’ उनले भने, ‘पैसा भन्दा पनि ब्यापारलाई सहि ट्रयाकमा ल्याउनका लागि हो ।’

नियमित आउने र विदेशी खाना रुचाउने पाहुना मात्र यतिबेला खाना खान झरेको लामाले बताए । ‘महंगा विद्युतीय उपकरणलाई चलायमान बनाउनका लागि पनि खोलेको हुँ,’ उनले भने, ‘आम्दानीको आस छैन ।’ चिनेका पाहुनाको भरमा खर्च धान्न नसकिने उनले बताए । ‘लामो समय प्रयोगमा नआउँदा मेसिन बिग्रने अवस्था आयो,’ उनले भने, ‘रेस्टुरेन्टको आत्मालाई बचाउने मात्र हो ।’ अहिले नै ब्यापार र नाफाका लागि रेस्टुरेन्ट खोलेको नभई नियमित सरसफाई, कर्मचारीलाई सुरक्षाका मापदण्ड पालनामा बानी पार्न, विद्युतीय उपकरण चलायमान बनाउन रेस्टुरेन्ट संचालनमा ल्याएको उनले बताए । ‘अब कतिञ्जेल डराएर बस्ने भनेर मात्र हो । तर, सतर्क पनि हुन जरुरी छ,’ उनले भने ।

लेकसाइडमै चल्तीको अर्काे रेस्टुरेन्ट हो ब्यञ्जन । यहाँ पनि चिनजानकै पाहुना यतिबेला खानाको स्वाद लिन पुग्ने गरेको म्यानेजर मनोज भट्टले बताए । उनका अनुसार तीन दिनअघिदेखि संचालनमा आएको रेस्टुरेन्टमा पहिलो दिन खासै पाहुना पुगेनन् । दोश्रो दिन पाहुना आगमन केही बढेको थियो । शनिबार पनि फाट्टफुट्ट युवायुवती खानाको स्वाद चाख्न ब्यञ्जन पुगेको म्यानेजर भट्टले बताए ।

‘यतिबेला स्थानीय पाहुना मात्र आएका छन् । लकडाउनले पोखरामै रोकिएका एकाध विदेशी पनि आए,’ भट्टले भने, ‘अहिलेका पाहुनामध्ये अधिकांश चिनेकै अनुहार हुन् । अरुबेला नियमित आउने गरेका स्थानीय पाहुना यो बेला आउन थालेका छन् ।’ अरुबेला बिहानदेखि राती अबेरसम्म खुल्ने यो रेस्टुरेन्ट अहिले मध्यान्ह १२ बजेदेखि बेलुकी ९ बजेसम्म खुल्ने गरेको छ ।

‘पाहुनाको रुपमा नयाँ अनुहार नआएसम्म ब्यापार बढ्दैन । नयाँ पाहुनाका लागि त अझै बाटो खुल्न सकेको छैन,’ भट्टले भने, ‘स्थानीय युवापुस्ता मात्र हाम्रा यो बेलाका पाहुना हुन् ।’ लामो समयको लकडाउनले घरभित्र थुनिएका पाहुना लेकसाइड झरेको भट्टको भनाई छ । ‘टिभी हेर्ने र मोवाइल चलाएर दिन बिताएका युवायुवती अहिले रेस्टुरेन्ट झरेका छन्,’ उनले भने, ‘घरभित्रै थुनिँदा उकुसमुकुस भएका थिए । तर, अहिले हिँड्डुल गर्न पाएका छन् र रेस्टुरेन्ट पस्न ढोका खुलेको छ ।’

पोखरा पिज्जा हाउसले पाहुनालाई ‘टेकअवे’ (पाकेको खाना रेस्टुरेन्ट बाहिर लगेर खाने) सेवा दिनेगरि दुईसाता अघि नै लेकसाइको रेस्टुरेन्ट खुल्ला त गर्‍यो तर, सोचे अनुरुप ब्यापार नभएको संचालक बिजय गुरुङ बताउँछन् । ‘दुईसाता अघिदेखिको ब्यापार अझै फस्टाउन सकेको छैन,’ उनले भने, ‘अहिलेकै संचालन अवस्थाले खर्च धान्न सकिन्न । टेकअवे पनि उत्तिसारो हुन सकेन ।’

यो ब्यापारबाट सन्तोष मान्न नसकेपनि केही समयका लागि पर्खनुको विकल्प नभएको उनले बताए । ‘हामीले खासमा ‘टेकअवे’ सेवा थालेका थियौ । तर, त्यो अनुसार ब्यापार हुन सकेन,’ उनले भने, ‘अहिले ब्यापार छैन । तर रेस्टुरेन्ट चलायमान बनाउनुको विकल्प पनि भएन ।’ भाइरस संक्रमणसँग भागेर नहुने भन्दै ब्यापार चालु गरेपनि खर्च थेग्ने आम्दानी नहुँदा भने समस्या भएको उनले बताए । ‘खर्च धान्ने अवस्था छैन, नचलाई पनि भएन,’ गुरुङले भने, ‘साना लगानीकर्ता अहिलेको मारबाट उठ्न कठिन छ ।’

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान)का पूर्व अध्यक्ष समेत रहेका रेस्टुरेन्ट व्यावसायी गोपि भट्टराई व्यवसायलाई चलायमान बनाउन मात्र खोजेको बताए । उनका अनुसार रेबान पोखरामा झन्डै एकसय रेस्टुरेन्ट छन् । ती मध्ये यतिबेला ३० वटा खुलेका छन् । ‘सार्वजनिक यातायात सुचारु नभईसक्दा यतिबेलाका पाहुना भनेका स्थानीय नै हुन् । ती बाहेक कामले बाहिरबाट आएका एकाध हुन सक्छन्,’ भट्टराई भन्छन्, ‘तर, ती पाहुनाको भरमा व्यवसाय थेग्न सकिन्न ।’

संक्रमण बढ्दो अवस्थामा रहेकोले पनि सार्वजनिक यातायात खुल्दाको दिनका पनि बाहिरी पाहुना आउने सम्भावना कमै रहेको उनले बताए । ‘ब्यापार भन्दा ठूलो स्वास्थ्य हो । तर, सधैं डराएर भएन । भाइरससँग जुध्नुको विकल्प पनि भएन,’ उनले भने, ‘तर जोखिम पनि ख्याल राख्नैपर्छ ।’ यो बेला खुलेका रेस्टुरेन्टले कर्मचारीलाई स्वास्थ्य प्रोटोकलबारे तालिम दिने र ब्यापारलाई चलायमान बनाउन खोजेको उनले बताए ।  

‘जोखिम पनि बढ्दैछ । ब्यापार पनि खुल्दैछ,’ उनले भने, ‘चार महिना बन्द रहेका रेस्टुरेन्टले ताजा हावा त पाउँछन् । रिफ्रेसमेन्ट जरुरी छ ।’ उनका अनुसार अरुबेला पनि असार–साउनलाई अफसिजन मानिन्थ्यो । तर पनि आन्तरिक र केही विदेशी पाहुना हुँदा यो बेला पनि व्यवसायीले कमाइ गर्दथे । ‘सबै व्यवासायी आत्तिएका पनि छैनन । किनभने उनीहरु अब आउने सिजनका लागि तयारीमा जुटेका हुन,’ उनले भने ।

प्याराडिजो स्पोर्टसबारका संचालक समेत रहेका भट्टराईका अनुसार यो बेला रेस्टुरेन्ट जाने पाहुना लकडाउन अघि नियमितजसो हुन्थे । उनका अनुसार अहिले खुलेका मध्ये एउटा कोरियन खानाको रेस्टुरेन्ट छ । चिनियाँ व्यवसायी पोखरामा नभएकोले चिनियाँ रेस्टुरेन्ट पनि खुलेका छैनन् । बाँकी सबै स्वदेशी व्यवसायीले चलाएका हुन् । ‘बढीमा राती १० बजेसम्म सबै रेस्टुरेन्ट बन्द हुन्छन् । स्थानीय पाहुना भएकोले पनि अबेरसम्म चल्दैनन्,’ उनले भने ।

प्रकाशित: १७ श्रावण २०७७ ११:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App