२० श्रावण २०७७ मंगलबार
अर्थ

होटल व्यवसायी भन्छन् : सिजनको तयारी गरौं, अहिलेलाई हतार छैन

पोखरा फेवाताल र पर्यटकीय क्षेत्र लेकसाइड। तस्बिरः उमेश पुन/नागरिक

कोरोना भाइरस संक्रमणको त्रासले गरिएको चारमहिने ‘लकडाउन’ अन्त्य गर्दैै सरकारले पर्यटन क्षेत्रलाई विहीबारदेखि खुला गर्ने अनुमति त दियो। तर पोखराका एकाध होटल र रेस्टुरेन्ट मात्र विहीबारदेखि संचालनमा आए। अधिकाशं व्यावसायीले होटल र रेस्टुरेन्ट खुलाउने आँट गरेनन्।  

थोरै संख्यामा रेस्टुरेन्ट र होटल विहीबारदेखि खुला गरेपनि अधिकांश व्यावसायीले अहिले होटल तथा रेस्टुरेन्ट खोल्नु घातक हुनसक्ने बताएका छन्। आगामी सेप्टेम्बर मध्यदेखि पर्यटनको मुख्य सिजन सुरु हुने भएकोले त्यो बेलासम्म व्यावसाय सुचारु गर्न सकिने सम्भावना रहेको व्यावसायीको भनाई छ। संक्रमणको गति बढ्दै गइरहेकोले अहिलेलाई ‘पर्ख र हेर’को अवस्थामा रहेको उनीहरुले बताए। यतिसम्मकी पोखराका तारेहोटल पनि विहीबारदेखि संचालनमा आउन सकेनन्। ठुला आकारका होटल पनि मुख्य सिजनलाई लक्षित गरि संचालन गर्ने तयारी रहेको छ।

यो बेला पाहुना आउने सम्भावना नरहेकोले तत्काल व्यावसाय सुचारु गर्न हतार नभएको उनीहरुको भनाई छ। सरकारले भदौ १ देखि अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान सहित लामोदूरीको सार्वजनिक बस सेवा संचालन गर्ने भनेपनि अहिलेलाई पाहुना आउने अवस्था नरहेकोले व्यावसाय खोल्न हतार नभएको अधिकांश व्यावसायी बताउँछन्। तर, व्यावसाय सुरु गर्नुपर्छ भन्ने व्यावसायी भने अहिलेको शुन्यतालाई सक्रिय तुल्याउन होटल र रेस्टुरेन्ट खोलेको बताउँछन्।  

‘सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गर्दै विहीबारदेखि होटल र रेस्टुरेन्ट त खोलियो तर, एकजना पनि पाहुना आएका छैनन,’ माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराईले भने, ‘होटलमा बस्नेगरि आइतबारदेखि पाहुना आउने भनेका छन्।’ उनका अनुसार काठमाडौंबाट अरुबेला आउने नियमित पाहुँना यो बेला पोखरा आउन चाहेका हुन्। ब्यापारको सिलसिलामा अरुबेला पनि ती पाहुना आउँदा माउन्ट कैलाशमै बस्दै आएका थिए।

‘व्यावसायको सिलसिलामा आउने उनीहरु मेरा नियमित पाहुना हुन। उनीहरु लकडाउन अवधिमा काठमाडौं छाडेका पनि छैनन,’ भट्टराईले भने, ‘त्यही भएर मैले उनीहरुको कोठा बुकिङ गरेको हुँ। आइतबार बास बस्ने गरि आउने भनेका छन्।’ भारत सहित तेश्रो मुलुकबाट आएका पाहुनालाई भने तत्कालै होटलमा राख्न सकिने अवस्था नरहेको उनले बताए। ‘क्वारेन्टिन अवधि पार गरेर पीसीआर परीक्षणपछि नेगेटिभ रिपोर्ट देखाएपछि मात्र अरु मुलुकका पाहुना राख्ने हो,’ उनले भने, ‘नत्र सरासर आउँदैमा भारतीय र तेश्रो मुलुकका पाहुनाले कोठा पाउँदैनन।’ होटलमा बसेका पाहुनाको बसाई अवधि सकिएको २४ घण्टापछि बल्ल अरु पाहुनालाई राख्ने उनले बताए। पाहुना आउँदा र बस्दा तथा सरसफाई गर्दा सरकारले तोकेको मापदण्डमा पालना गर्ने उनले बताए। स्वास्थ्यको प्रोटोकल पुरा गरेर विकसित मुलुकमा पनि होटल खुल्न थालेकोले आफुले पनि आँट गरेको उनले बताए। ‘सधैं निस्कृय भएर बस्न मिलेन,’ उनले भने।  

बगैंचा वेलनेस रिसोर्ट पनि विहीबारदेखि संचालनमा ल्याएको संचालक पोमनारायण श्रेष्ठले बताए। ‘पाहुना त छैनन। तर, सोधपुछ आउन थालेको छ,’ श्रेष्ठले भने, ‘एक–दुईदिनपछि आन्तरिक पाहुना आउन थाल्नेमा आशावादी छौ।’ निजी सवारी भएका र लामो समयको लकडाउनले घरभित्र थुनिएका पाहुना आउन सक्ने उनले बताए। ‘अहिले नै धेरै ब्यापारको अपेक्षा होइन। तर, सधैं निस्कृय भएर बस्दा पनि हुँदैन,’उनले भने, ‘अहिलेको तयारीले आगामि सिजनलाई सुखद बनाउन सक्छ। अहिले आम्दानीका लागि नभई आगामि सिजनका लागि तयारीमा जुटेका हौ।’  

पाँचतारे होटल पोखरा ग्राण्ड पनि विहीबारदेखि संचालनमा आएन। अहिले पाहुना आउने अवस्था नरहेकोले संचालनमा नल्याएको महाप्रबन्धक रोसन खवासले बताए। उनले सेप्टेम्बरदेखि बल्ल पाहुना आउन थाल्ने भएकोले त्यो बेलाका लागि केहीदिन समय राखेर तयार गर्ने बताए। ‘सेप्टेम्बरदेखि होटल खोल्ने योजना छ। त्यसका लागि केही दिन तयारी गरे पुग्छ। मुख्य सिजन सुरु हुने भएकोले पनि त्यो बेला खोल्नुपर्छ,’ उनले भने, ‘होटल खुला रहेको भन्ने सन्देश दिनका लागि पनि सेप्टेम्बरदेखि खोल्ने हो।’  

द यात्रा कोर्टयार्ड होटलका संचालक रामचन्द्र भट्टराइ पनि अहिले नै होटल खोल्न हतार गर्न नहुने बताउँछन्। ‘अहिले नै होटल खोल्ने हतार गर्दा सिजनका बेला झनै जोखिम हुन सक्छ। त्यसैले मैले सेप्टेम्बर १ बाट मात्र होटल खोल्ने निर्णय गरेको छु,’ उनले भने, ‘तर, त्यो बेलाको अवस्था पनि हेर्ने हो। जोखिम हुने गरि व्यावसाय सुचार गर्न हतार छैन। अहिलेको अबस्था डरलाग्दो नभए सेप्टेम्बरलाई पर्खेको हुँ।’ उनको बिचारमा अहिले सबैजसो होटल र रेस्टुरेन्टका कर्मचारी गाउँमा छन्। बजारमा सिमित कर्मचारी छन्। गाउँमा रहेका कर्मचारीलाइ भदौ १ भन्दा अगाडि बोलाउन सकिन्न। गाउँबाटै आएका कामदारबाट पनि संक्रमण फैलिने त्रास भएकोले ती कामदारलाई पनि कम्तिमा १४ दिन काममा लगाउन सकिने अवस्था नहुने उनले बताए।  

‘कर्मचारीलाई पनि अहिलेको मापदण्डबारे सिकाउनु जरुरी छ। सानोसानो कुरामा ध्यान दिनुपर्छ,’ उनले भने, ‘नत्र पछि पछुताउनुको विकल्प हुँदैन। पाहुना घुम्ने र बस्ने तथा खानपिन गर्ने ठाउँ पनि सुरक्षित हुनुपर्छ। होटल मात्र सुरक्षित रुपमा संचालन गर्दैमा हुँदैन।’ अबका दिन न्यु नर्मलमा ब्यापार गर्ने भएकोले धेरै कुरामा ध्यान दिनुपर्ने भट्टराईको भनाई छ। ‘होटल तथा रेस्टुरेन्ट खोल्न बिमती होइन तर सुरक्षा महत्वपूर्ण हुन्छ,’ उनले भने।

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली अहिले नै व्यावसाय खोल्न हतार गर्न नहुने बताउँछ्न। उनले पनि आगामि सिजनका लागि तयारी गर्दा उपयुक्त हुने बताए। ‘म आफैले पनि होटल खोलेको छैन,’ पिसप्लाजा होटलका संचालक समेत रहेका पराजुलीले भने, ‘भदौ लागेपछि बल्ल बिचार गर्ने हो। अहिले खोलेर पाहुना आउने अवस्था छैन। लामो दूरीका सार्वजनिक सवारी पनि चलेका छैनन। लामो दूरीका सवारी चलेपछि संक्रमणको अवस्था हेरेर होटल खोल्ने हो।’ उनले तत्कालै पाहुना आउने अवस्था नरहेकोले अहिले व्यावसाय थाल्दा थप खर्चिलो पर्नजाने बताए। ‘सिजनका लागि तयारी थाल्ने हो। तर, अहिले नै व्यावसाय थाल्नु जोखिमपूर्ण निर्णय हो,’ उनले भने।  

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन अहिले होटल खोल्दा जोखिम थपिने त्रास रहेको बताउँछन्। उनका अनुसार भारतमा संक्रमणको गति तिब्र रहेकोले पनि यहाँ होटल खोलेको थाहा पाउनासाथ भारतीय पाहुना आउनसक्ने हुँदा जोखिमपूर्ण हुनेछ। ‘भारतीय पाहुना एकाएक पोखरा आउन सक्छन। त्यसबाट संक्रमणको जोखिम हुन्छन,’ तुलाचनले भने, ‘नाका नखुलेको र संक्रमण बढेकोले अहिलेको व्यावसाय थालनी हतार हुनसक्छ।’ जहाज र सार्वजनिक बस नखुलेको अवस्थामा आन्तरिक तथा बाह्य पाहुना आउने सम्भावना नरहेको उनले बताए।  

अग्रज पर्यटन व्यावसायी गणेशबहादुर भट्टराईका अनुभवमा असार र साउन महिना पर्यटनमा अफसिजन हो। अघिल्ला वर्ष पनि यो बेला विदेशी पाहुना कम हुन्थे। आन्तरिक पाहुनाको आकार पनि अरुबेला भन्दा घट्थ्यो। त्यसैले सामान्य अवस्थामा पनि यो बेला पाहुना कम हुने भएकोले अहिलेका लागि हतार गर्न नहुने उनी बताउँछन्। ‘सामान्य अवस्थामा पनि यो बेला पाहुना कम हुन्थे। अहिले त झनै कोरोनाका त्रासले पाहुना आउने कुरै छैन,’ अग्रज व्यावसायी भट्टराईले भने, ‘अहिलेको अवस्था फरक छ। सरकारले भन्यो भन्दैमा व्यावसाय खोल्न हतार नगरौ।’ संक्रमणको यो बेला कसैलाई देखाउन ब्यापार खोल्न नहुने उनले बताए।‘अझै केही समय पर्खिदा राम्रो हुन सक्छ। अहिले हतार गर्दा रोग फैलिन सक्छ। आउने सिजनको तयारी गरौ, अहिले हतार छैन,’ उनले भने।  

प्रकाशित: १५ श्रावण २०७७ १७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App