१९ श्रावण २०७७ सोमबार
अर्थ

तरकारीको भाउ छोई नसक्नु

गाईघाट बजारको फुटपाथमा बेच्न राखेको तरकारी । तस्बिरः महेश्वर

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) कहरले ह्वात्तै बढेको हरियो तरकारीको भाउ बढ्ने क्रम लकडाउन खुल्दा पनि थयावत छ । कोभिडबाट बच्न सरकारले चैत ११ देखि लागू गरेको लकडाउनसँगै आकाशिएको तरकारीको मूल्य लकडाउन खुलेपछि घट्ने आसा गरेका उपभोक्ता निराश बन्नु परेको छ ।

साउन पहिलो सातादेखि लकडाउन हटे पनि तरकारी झन् महँगिदै गएको उपभोक्ता बताउँछन् । तरकारी छोईनसक्नु भएपछि उपभोक्ता अहिले मस्यौरा (भटमासको पिना), फर्सी, दाल र आलुको भरमा भान्सा चलाउन बाध्य हुनुपरेको गाईघाटकी गृहिणी सरिता राईले बताईन् । फर्सीको मुन्टा, निउरो, रायोको साग र लट्टेको साग सबभन्दा महँगो भएको छ । रायो र मुन्टा पाउको ३० देखि ५० अर्थात किलोको डेढसयदेखि २ सय रुपंयाँसम्म पुगेको राईले बताईन् ।

अर्की गृहिणी तुलसा विकले ४ जनाको सामान्य परिवारलाई एकछाक तरारीमा डेढ दुईसय रुपैयाँ खर्च हुने गरेको बताईन् । दाल र मस्यौरा खाँदा छाकमा ५० रुपैयाँले धान्ने तर, हरिया तरकारी खाँदा कम्तीमा डेढ सय खर्च हुने उनले बताईन् । ‘हरिया तरकारी असाध्य महँगो भएपछि आजकाल मस्यौरा र आलुको तरकारी खानुपर्ने बाध्यता आईलाग्या छ’ एकपछि अर्को तरकारी पसल चाहार्दै हिडेकी विकले भनिन् ‘मुन्टा, रायो र लट्टेको साग त भाउ सुन्दै अत्यास लाग्छ ।’

बजारमा हाल फर्सीको मुन्टा, रायो र लट्टेको साग, लौका, फर्सी, चिचिन्डा, करेला, बाँसको तामा, भिण्डी, आलु र स्कुसको मुन्टा हरिया तरकारीको रुपमा पाईन्छ । मुन्टा र रायोको साग किलोको २ सय, फर्सी १ सय २०, भिण्डी, आलु, तामा किलोको ६० ले बिक्री हुने गरेको तरकारी व्यापारी देवनारायण साह बताउँछन् । उनका अनुसार यसवर्ष निरन्तरजस्तो वर्षा हुँदै आएकाले तरकारी खेती डुबानमा परिणत भएर महँगिएको हो । गाईघाट र आसपासमा उसै पनि स्थानीय उत्पादन कमै हुने गरेकोमा निरन्तरको वर्षाले खेतैबारी डुबान भएपछि भएको तरकारी कुहिएर मूल्य बढेको साहले बताए ।

‘त्यसै पनि लोकल तरकारी यहाँ कमै उत्पादन हुन्छ, त्यसमाथि यो वर्ष वैशाखदेखि निरन्तर पानी परिरहेकाले अलिअलि भएको खेती पनि डुबानमा परेर यस्तो अवस्था भएको हो’ अर्का व्यापारी उमेश भुजेलले भने ‘लोकल तरकारी नभएकाले बाहिरबाट ल्याएर बेच्नुपर्दा खरिदमै महँगो पर्न गएर भाउ बढेको हो ।’ व्यापारीहरुका अनुसार कोरोना र वर्षाले तरकारीको मूल्य आकाशिएको हो । एकातिर कोरोनाको डरले बाहिर जता पायो त्यताबाट ल्याउन नमिल्ने अवस्था छ भने अर्कातिर वर्षाले उत्पादन घटाएपछि मूल्य बढ्नु स्वभाविक भएको उनीहरुको तर्क छ ।  

कोरोनाको डरले पहिलेजस्तो बाहिरबाट प्रसस्त तरकारी आयात नहुँदा स्थानीय किसानको उत्पादन थोरथोरै संकलन बेच्नु परेको व्यापारीहरु बताउँछन् । गाईघाटस्थित सगरमाथा कृषि उपज केन्द्रका व्यापारी सुमन राईले स्थानीय उत्पादन कम भएकाले दिनभरी संकलन गर्दा पनि ५०/६० किलोभन्दा बढी फेला पार्न नसकिने बताए । ‘यसवर्ष कोरोना र पानीले तरकारी उत्पादन छैन, भएको पनि डुबानमा परेर खेर गयो । बाहिरबाट ल्याउनु कोरोनाको जोखिम हुने भएकाले स्थानीय संकलन गर्दै बेच्ने गरेका छौं’ तरकारी महँगिनुको कारण खोल्दै राईले भने ‘दिनभरी १०/१५ किसानको खेती चाहार्दा क्वीण्टल पुर्‍याउन गाह्रो हुन्छ ।’

महँगो र अभाव दुवैका कारण पहिलेजस्तो बग्रेल्ती तरकारी पसल पनि अहिले देख्न छाडिएको छ । पहिले कृषि उपज केन्द्रसँगै सडकको दाँयाबाँया फुटपाथमा उत्तिकै तरकारी बेच्न राख्ने दृष्य अहिले देख्न पाइदैन । गाईघाटको बिपी चोकदेखि पुरानो गाईघाट (पिजी) चोकसम्मको सडक दाँयाबाँया दर्जनौ फुटपाथका तरकारी पसल हिजोआज ८/१० वटामा खुम्चिएको छ । फुटपाथमा हाल फाटफुट मात्र हरियो तरकारी बेच्न बस्ने व्यापारी आउने गरेको स्थानीय प्रकाश श्रेष्ठले बताए । उनका अनुसार पहिलेजस्तो ढाकीमा तरकारी बेच्न आउने घुमन्ते व्यापारी पनि हिजोआज स्वाट्टै घटेका छन् । पहिले दर्जन हाराहारी घुमन्ते व्यापारी ढाकीमा तरकारी लिएर बजार डुल्दै हिड्नेहरु अहिले देखिन छाडेको श्रेष्ठले बताए ।

भाउ नै अचाक्ली बढेपछि हरिया तरकारी किनेर खान निम्न मध्यम वर्गका परियारलाई सकस पर्न थालेको छ । सरकारी जागीरे, आकर्षक कमाई हुने कर्मचारी र मध्यम वर्गभन्दा माथिल्लो आर्थिक हैसियत भएकाले मात्र हरियो तरकारी खाने गरेको स्थानीय बताउँछन् । भाउ यत्तिकै रहने हो भने मजदुर, श्रमिक र बिपन्न वर्गका परिवारले हरिया तरकारी किनेर खान नसक्ने अवस्था सिर्जना भएको उपभोक्ता बताउँछन् ।

गाईघाटका पत्रकार दिनेश चामलिङ न्युन आयआर्जन भएका परिवारको भान्सामा हरिया तरकारी पाक्न छाडेको बताउँछन् । गरिव, दुःखी, बिपन्न र श्रमिक वर्गले हरिया तरकारी किन्न नसकेपछि मस्यौरा र आलुको भरमा भान्सा चलाउनुपर्ने अवस्था रहेको उनले बताए । ‘अहिले को कति धनी छ भन्ने हैसियत हेर्न तरकारी किनेको हेर्दा वा भान्छामा हरियो सब्जी छ छैन देखेर पत्ता लाग्छ’ उनी भन्छन् ‘सानोतिनो कमाई हुने परिवारले त हरियो तरकारी हेरेरै चित्त बुझाउने हो, किनेर खान सक्ने अवस्था छैन ।’

प्रकाशित: १५ श्रावण २०७७ १५:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App