८ वैशाख २०८१ शनिबार
अर्थ

‘हुँगा भ्याली एभरेष्ट ट्रेक’ प्रर्वद्धन गरिने

जाऔं है महाकुलुङ

सिलुछो डाँडाबाट देखिएको मकालु हिमाल। तस्बिर सौजन्य: पहाडी विकास तथा संरक्षण समूह, नेपाल।

सोलुखुम्बुमा पहिचान गरिएको नयाँ पदमार्ग ‘हुँगा भ्याली एभरेष्ट ट्रेक’को प्रवद्र्धन गरिने भएको छ। पदमार्गको प्रचार गर्न भर्खरै ‘पहाडी विकास तथा संरक्षण समूह, नेपाल’ले वृत्तचित्र, बुकलेट र पर्यटकीय नक्सा उत्पादन गरेको छ।

कोरोना महामारीपछि स्वदेशी तथा विदेशी पर्यटकका लागि घुमफिर गर्ने नयाँ गन्तव्यका रुपमा यसको प्रवद्र्धन गरिने समूहका अध्यक्ष भलाकाजी कुलुङले बताए। ‘यो पदमार्ग छोटो, मीठो र सस्तो हु्न्छ’, उनले भने, ‘कोभिड–१९ नियन्त्रणमा आएपछि नयाँ उत्साहका साथ हामी पर्यटकको स्वागत गर्नेछौं।’  

आँखै सामुन्ने सगरमाथासहितका हिमाली दृश्य, जैविक विविधता र कुलुङ एवं शेर्पा संस्कृतिको स्वाद पाइने पदमार्गमा दुइटा रुट छन्। काठमाडौंबाट जाने पदयात्रीले पहिलो रुटका लागि १३ दिन र दोस्रो रुटका लागि १० दिन समय छुट्टयाए पुग्छ।  

यस पदमार्गमा दुइटा रुट छन्। पहिलो रुटमा काठमाडौंबाट जाने पदयात्रीले घुमेर काठमाडौं फर्कन १३ दिन लाग्छ भने दोस्रो रुटमा १० दिन। दुवै रुटको पदयात्रा महाकुलुङ गाउँपालिकास्थित बुङ गाउँबाट सुरु हुन्छ। काठमाडौंबाट गाडीमा गुडेर पहिलो रात पत्तालेमा बास हुन्छ भने, दोस्रो रात बुङमा।  

पदयात्राको पहिलो दिन अर्थात यात्राको तेस्रो दिन बुङबाट छाराखर (२,९७५ मिटर)सम्म हिँड्नु पर्छ। त्यसैगरि चौंथो दिन छाराखरबाट खोलाखर्क (४,२२३ मिटर) पुगेर बास बस्नु पर्छ।  

छाराखरसम्म मानव बस्ती छ। यात्राको पाँचौं दिन खोलाखर्कबाट कोठे (३,५८० मिटर) पुगिन्छ। कोठेमा पर्यटकका लागि सामान्य खाना र बास सुविधा छ। त्यहाँ भन्दा मास्तिर क्याम्पिङ गर्नुको विकल्प छैन।  

यात्राको छैटौं दिन कोठेबाट मेरा बेस क्याम्प खहरे (५,००० मिटर)मा बास। सातौं दिन खहरेबाट महालंगुर भञ्ज्याङ पार गरेर खोङ्मादिङ भ्याली (४,८५० मिटर) पुगिन्छ। त्यस्तै आठौं दिन खोङमादिङबाट वातेल्मा दोभान (३,१५९ मिटर) पुगेर बास बस्नु पर्छ।  

पदयात्रा रोमाञ्चक हुन्छ। जंगलको बाटो हिँड्नु पर्छ। यात्राको नवौं दिन वातेल्मा दोभानदेखि जंगलैजंगलको बाटो वेइखो तेल्म् (३,०० मिटर) पुगिन्छ। दशौं दिन वेइखो तेल्म्देखि मुद्धिखर्क (२,५९० मिटर) झरिन्छ। यात्राको ११ औं दिन मुद्धिखर्कबाट छेस्काममा बास बस्न पुगिन्छ। र, १२ औं दिन छेस्कामबाट कि त गाडीमा काठमाडौं वा सल्लेरी पुगिन्छ। सल्लेरीमा बसेमा १३ औं दिन फाप्लु विमानस्थलबाट हवाई यात्रा गर्नुपर्छ। 

‘लुक्लाबाट महालंगुर काटेर शेर्पीनी कोल, मकालु बेस क्याम्प वा आम्फू लाप्चा पदयात्रामा निस्केका पदयात्रीहरू भारि हिमपातका कारण अलपत्र पर्नुपथ्र्यो। त्यस्तो अबस्थामा अब उनीहरूले हुँगा भ्याली एभरेष्ट ट्रेकलाई वैकल्पिक पदमार्गका रुपमा समेत प्रयोग गर्न सक्छन्।’   

हुँगा खोलाको शिर भएकाले खोङमादिङ भ्यालीलाई हुँगा भ्याली पनि भनिन्छ। मुलुकमा माओवादी द्वन्द सुरु हुनु अघि यस क्षेत्रमा कहिलेकाहिँ पर्यटक पदयात्रा गर्थे। माओवादी जनयुद्द सुरु भएसँगै पर्यटक आवागमन शून्यमा झ-यो।  

तिनताका विदेशी माझ ‘होङ्कु भ्याली टे«क’का रुपमा ब्राण्डिङ गरिएको थियो। पछिल्लो समय विसं २०७४ मा समूहले नयाँ ठाउँ समेटेर नयाँ ढँगले पदमार्ग एक्सप्लोर गरेको हो।  

पदमार्गको  पर्यटकीय नक्सा

यस पदमार्गमा प्राकृतिक सौन्दर्यका साथै कुलुङ र शेर्पा समुदायको संस्कृति र जीवनशैलीको सुवास पाइन्छ। छाराखरदेखि उकालो लाग्दा हुर्हुरेबाट नुम्बुर, कोङ्दे, चोयु, लगायत हिमालको दर्शन मिल्छ। त्यस्तै पदयात्रामा पहाडी भुगोल, वन, झरना, जडीबुटी, पाँचपोखरी आदिको अध्ययन गर्न पाइन्छ।  

मकालु–बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ महाकुलुङ। पदयात्राको चौंथो दिन छाराखरबाट हुर्हुरे पुगेपछि निकुञ्ज क्षेत्र सुरु हुन्छ। मुद्धिखर्कसम्मै निकुञ्ज पर्छ।

‘यो पदमार्ग मेरा पिक, बरुन्चे हिमाल, चाम्लाङ हिमाल आरोहण गर्न छोटो र कम खर्चिलो रुट पनि हो’, अध्यक्ष कुलुङ भन्छन्, ‘लुक्लाबाट महालंगुर काटेर शेर्पीनी कोल, मकालु बेस क्याम्प वा आम्फू लाप्चा पदयात्रामा निस्केका पदयात्रीहरू भारि हिमपातका कारण अलपत्र पर्नुपथ्र्यो। त्यस्तो अबस्थामा अब उनीहरूले हुँगा भ्याली एभरेष्ट ट्रेकलाई वैकल्पिक पदमार्गका रुपमा समेत प्रयोग गर्न सक्छन्।’  

‘पहाडी विकास तथा संरक्षण समूह, नेपाल’ले यस पदमार्गको वृत्तचित्र, बुकलेट र पर्यटकीय नक्सा उत्पादन गरेको छ। उसले आन्तरिक पर्यटकलाई समेत आकर्षित गर्ने योजना बनाएको छ।  

अचेल पर्यटकहरू मेरा पिक आरोहण गर्न लुक्ला हुँदै जान्छन्। उनीहरू जताबाट गयो त्यतैबाट फर्कन्छन्। अब चाहिं हुँगा भ्यालीबाट महाकुलुङ हुँदै मेरा बेस क्याम्प जान वा फर्कन सकिन्छ। 

त्यसैगरि दोस्रो रुटमा यात्राको तेस्रो दिन बुङबाट पदयात्रा सुरु हुन्छ। साँझ दिम्बुल वा नुर्कुम (३,०१४ मिटर)मा पुगेर बास बस्नु पर्छ। चौंथो दिन दिम्बुल वा नुर्कुमबाट घ्याङखर्क (३,६०० मिटर) मा बास हुन्छ। घ्याङखर्क रमणीय भ्यू पोइन्ट हो जहाँबाट सूर्योदय, सूर्यास्तका साथै हिमालको लामो लर्कन देखिन्छ। त्यहाँबाट सगरमाथा, पुमोरी, ल्होत्से, चोयु र मकालु लगायत हिमाल देखिन्छन्।

यात्राको पाँचौं दिन घ्याङखर्कदेखि साल्पा भञ्ज्याङ (३,४५८ मिटर) पुगिन्छ। त्यस्तै छैठौं दिन भञ्ज्याङदेखि साउने थाम (३,६६१ मिटर) पुगिन्छ। साउने थामबाट ३ घन्टा उकालो लागेमा सिलुछो (४,१५३ मिटर) पुगिन्छ। सिलुछोबाट हिमालको लामो लर्कन देखिन्छ।  

सातौं दिन बिहानै सिलुछो चढेर साउने थाम आएर बास बस्न भ्याइन्छ। र, आठौं दिन साउनेथामबाट गुदेल वा बुङ पुग्न सकिन्छ। यात्राको नवौं दिन बुङबाट काठमाडौं वा सल्लेरी प्रस्थान गर्न मिल्छ। सल्लेरी गएर बास बसैमा दशौं दिन फाप्लुबाट हवाई उडान भर्नुपर्छ।  

दुवै रुटमा दैनिक ५ देखि ७ घन्टा पदयात्रा गर्नु पर्ने हु्न्छ। महाकुलुङका पर्यटनकर्मी टार्जन कुलुङले यस क्षेत्रको भबिश्य सुनौलो देखेका छन्। साइक्लिङ पर्यटन विकासका लागि स्थानीय गाउँपालिकासँगको सहकार्यमा महाकुलुङ सर्किट बनाउने योजना उनले सुनाए।  

‘साहसिक पदयात्रा र सांस्कृतिक अनुसन्धानका लागि यो पदमार्ग उत्कृष्ट गन्तव्य बन्न सक्छ’, उनी भन्छन्, ‘महाकुलुङ क्षेत्रमा माउन्टेन बाइकिङको पनि प्रचूर सम्भावना छ।’  

छोटो समयमा सजिलोसँग सगरमाथा देखिने, जातीय संस्कृतिको अध्ययन गर्न पाइने र जैविक विविधतामा रमाउन सकिने पदमार्गको यात्रा रोमाञ्चक बन्छ। आन्तरिक पर्यटकका लागि समेत हुँगा पदमार्ग आकर्षक बन्ने देखिन्छ।  

‘नेपालीले समूहमा घुम्न चाहेमा हामी घुमाइदिन्छौं’, समूहका अध्यक्ष कुलुङ भन्छन्, ‘खर्च पनि धेरै लाग्दैन।’  

पदमार्ग विकासका लागि नेपाल पर्यटन बोर्ड, जिविस सोलुखुम्बु, महाकुलुङ गाउँपालिका, द ग्रेट हिमालयन टे«ल आदिले सहयोग गरेका छन्। समूहले पदमार्गमा संकेत चिन्हहरू राखेको जनाएको छ।

कोरोना भाइरसका कारण अबका केही वर्ष विदेशी पर्यटक आउने सम्भावना कम छ। त्यसैले समूहले आन्तरिक पर्यटकका लागि ‘जाऔं है महाकुलुङ’ अभियान सञ्चालन गरेमा राम्रो हुने देखिन्छ।  

पदमार्गमा केही काम गर्न बाँकी छ। पदमार्ग सुधार, झाडी सफाई, टि हाउस र पोर्टर शेल्टर निर्माण, तालिम लगायत काम आबश्यक भएको छ। त्यस्तै ठाउँठाउँमा खोलामा पक्कि पुल बनाउनु पर्नेछ। क्याम्पिङ साइट सुधार गर्नु पर्ने देखिन्छ।  

समूहले कोरोनाको महामारी शान्त भएपछि काठमाडौंमा म्याप, भिडियो र बुकलेट सार्बजनिक गर्दै सरोकारवालासँग अन्तरक्रिया गर्ने जनाएको छ। यी प्रचारात्मक सामाग्री उत्पादन गर्न उसलाई महाकुलुङ गाउँपालिका र द पार्टनर्स नेपालले सघाएका हुन्।  

कोरोना भाइरसका कारण अबका केही वर्ष विदेशी पर्यटक आउने सम्भावना कम छ। त्यसैले समूहले आन्तरिक पर्यटकका लागि ‘जाऔं है महाकुलुङ’ अभियान सञ्चालन गरेमा राम्रो हुने देखिन्छ।  

‘हुँगा भ्याली एभरेष्ट ट्रेक’ एक्सप्लोरेशन टोली। 

प्रकाशित: १५ श्रावण २०७७ ०९:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App