सर्लाहीको बागमती नगरपालिका–१० सोल्टीस्थित साना किसान कृषि सहकारी संस्थाले लकडाउनको मारमा परेका ऋणीलाई ब्याजमा ४७ लाख ९५ हजार आठ सय ३९ रुपैयाँ छुट दिएको छ।
मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर संस्थाले कोरोना भाइरस संक्रमणविरुद्ध गरिएका कार्य एवं लकडाउनका कारण मारमा परेका सेयर सदस्यलाई दिइएको सेवा सुविधाबारे जानकारी गराएको हो।
संस्थाका सञ्चालक सदस्य भुपेन्द्रमान श्रेष्ठका अनुसार ऋणीलाई ब्याजको २५ प्रतिशतसम्म छुट गरिएको छ। चैतमा २५ तथा वैशाख, जेठ र असारमा ब्याजको १८ प्रतिशत छुट दिइएको श्रेष्ठले बताए। ‘कोरोना भाइरस संक्रमणबाट मुलुकलाई जोगाउन सरकारले गरेको लकडाउनका कारण मारमा परेका ऋणीलाई थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले संस्थाले सकेजति ब्याजमा छुट दिएको छ,’ श्रेष्ठले भने, ‘संस्थाले पहिला पनि नियमित ब्याज बुझाउनेलाई ब्याजको पाँच प्रतिशत छुट दिँदै आएको थियो, ऋणको ब्याजमा छुट दिइए पनि निक्षेपमा भने ब्याज घटाइएको छैन।’
संस्थाकी अध्यक्ष कमल कुमारी पोखरेलले लकडाउनको अवधिमा एक हजार पाँच सय बोरा युरिया सरकारी मूल्यमै किसानलाई उपलब्ध गराइएको जानकारी दिइन्। पोखरेलका अनुसार लकडाउनका कारण बजारमा किन्दा किसानले एक हजार आठ सय रुपैयाँसम्म तिर्न बाध्य भएपनि संस्थाले आफ्ना सेयर सदस्यलाई प्रतिबोरा ९०० उपलब्ध गराएको थियो।
त्यस्तै लकडाउनका कारण व्यापारीहरु नआएकाले किसानको बिक्री हुन नसकेको मकै पनि संस्थाले खरिद गरेर गोदाममा राखेको अध्यक्ष पोखरेलले जानकारी दिईन्। ‘व्यापारीहरु कम आएपछि किसानले मकैको उचित भाउ नै पाउने अवस्था रहेन’, अध्यक्ष पोखरेलले भनिन्, ‘त्यसैले गोदाममा अटेजति अर्थात ३२१ मेट्रिक टन मकै खरिद गरेर किसानलाई पैसा दिईसकिएको छ।’
संस्थाका प्रबन्धक माधवप्रसाद काफ्लेका अनुसार २०६३ सालमा स्थापित संस्थामा हाल २ हजार २२७ महिला तथा ७५५ पुरुष गरी २ हजार ९८२ जना शेयर सदस्य रहेका छन्। गत आर्थिक वर्षमा ४९ करोड ६५ लाख २२ हजार ४१० रुपैंयाको कारोबार गर्दै ९८ लाख ३३ हजार ९४४ रुपैंया नाफा कमाएको काफ्लेले बताए।
प्रकाशित: १४ श्रावण २०७७ ०४:१८ बुधबार