१६ चैत्र २०८० शुक्रबार
अर्थ

कोरोना पुष्टिपछि जगदम्बा इन्टरप्राइजेज सिल

वीरगन्ज महानगरपालिका वडा नं ३२ मा रहेको वीरगन्ज पथलैया औद्योगिक करिडोरस्थित जगदम्बा इन्टरप्राइजेजमा कार्यरत चार जनामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले उद्योगमा सिल गरेको छ । जितपुर नजिक रहेको उक्त उद्योग मंगलबार दिउसो जिल्ला प्रशासन कार्यालय पर्साको टोलीले बन्द गराई उद्योगको मूल प्रवेशद्वारमा ताला लगाएको छ ।  

उद्योगले फलामे छड, फलामको पाइप, टेबुलर पोल, स्टिल ट्रसलगायत सामग्री उत्पादन गर्दै आएको छ । त्यहाँ कार्यरत कर्मचारी तथा मजदुरमा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक भएपछि उक्त उद्योग सिल गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा संकट व्यवस्थापन केन्द्र पर्साका प्रवक्ता ललितकुमार बस्नेतले बताए । साउन ६ मा उद्योगका प्रमुख कार्यकारी अधिकृतमा कोरोना भेटिएको थियो ।  

उनको कन्ट्र्याक्ट ट्रेसिङ गर्ने क्रममा सोमबार राति थप सो उद्योगका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको पाइएपछि सरोकारवालाको समन्वयमा उद्योग सिल गरिएको हो । ‘साउन ६ गते त्यहाँबाट एकजना संक्रमित फेला परेपछि कन्ट्र्याक्ट ट्रेसिङ गर्ने क्रममा सोमबार पनि २६, ४८ र ५६ वर्षका तीन मजदुर तथा कर्मचारीको पिसिआर रिपोर्ट पोजेटिभ देखियो,’ बस्नेतले भने, ‘उद्योगमा उत्पादन बन्द गरी त्यहाँका कामदारलाई आइसोलेसन र क्वारेन्टाइमा बस्न निर्देशन दिएका छौं ।’

संक्रमित पुष्टि भए पनि लक्षण नदेखिएकालाई उद्योगकै खर्चमा उद्योगभित्रै वा उचित स्थानमा आइसोलेसन स्थापना गरी राख्न, संक्रमितको सम्पर्कमा आएका व्यक्ति र असार १५ गतेपछि भारतबाट आएका सबै कामदार, कर्मचारीको पिसिआर चेकजाँच गराउन प्रशासनले उद्योगलाई निर्देशन दिएको छ । स्वाब संकलन गरिएका र अन्य सबैलाई उद्योगकै खर्चमा उद्योगभित्रै वा बाहिर उपयुक्त ठाउँमा क्वारेन्टिनको व्यवस्था गर्न निर्देशन दिइएको जनाइएको छ ।

प्रकाशित: १४ श्रावण २०७७ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App