३० श्रावण २०७७ शुक्रबार
अर्थ

अहिले कसरी हुन्छ टिक्ने मात्र हो

अर्थसंवाद

लोमस ग्रुपका युवा उद्यमी प्रवलजंग पाण्डे सिमेन्ट, औषधि उद्योग, बैंकिङ, सूचना प्रविधि, स्वास्थ्यलगायतका क्षेत्रमा आबद्ध छन् । इलेक्ट्रोनिक्स तथा टेलिकम्युनिकेसन इन्जिनियरिङमा स्नातक गरेका पाण्डे इस्टर्न कसमस सिमेन्ट प्रालिका कार्यकारी निर्देशक हुन् । सिटिजन बैंक इन्टरनेसनल, लोमस फर्मास्युटिकल लगायतका आधा दर्जन बढी संस्थामा डाइरेक्टर छन् । कोभिड–१९ को असरले मुलुकको अर्थतन्त्रमा ठूलो क्षति पुर्‍याएको बताउँछन् । पाण्डेले अहिले अर्थतन्त्रको चक्र नै भत्किएको बताउँछन् । यसबाट जोगाउन सबैले आफ्नो जिम्मेवारी पूरा गरेर साना तथा मझौला उद्योगीलाई टिकाइराख्नुपर्ने पाण्डेको धारणा छ । नेपाल उद्योग वाणिज्य महासंघका सदस्यसमेत रहेका पाण्डेसँग कोभिडले अर्थतन्त्रमा पुर्‍याएको असर, सरकारले ल्याएको बजेट, आगामी मौद्रिक नीति, उद्योगीले झेलिरहेका समस्यालगायतका विषयमा नागरिक परिवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः

कोभिड-१९ ले उद्योग, व्यवसाय र मुलुकको अर्थतन्त्रमा कस्तो असर पारेको छ ?

कोभिड–१९ को प्रकोपपछि मुलुक लामो समय लकडाउनमा गयो । लकडाउन खुकुलो भएपछि जनजीवन सामान्यतर्फ फर्किँदैछ । तर, कोभिडको असर कति समय लम्बिन्छ अझै अनिश्चित छ । लकडाउन हुँदा मुलुकमा व्यापार, व्यवसाय, उद्योगधन्दा सबै ठप्प भए । चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरिएको छ । कोभिडको अन्त्य नहुँदासम्म यसको असर बाँकी रहन्छ । विश्वभर नै असर परेकाले हामी अछुतो रहने कुरै भएन । चार महिनाको लक डाउनले सबै क्षेत्र प्रायः ठप्प हुँदा त्यसको असर सबै क्षेत्रमा परेको छ । त्यसबाट माथि कसरी उठ्ने भन्ने सबैलाई चिन्ता छ । लकडाउन खुले पनि व्यवसाय चलेको छैन । पसल खुला छन् ग्राहक छैनन् । ट्याक्सीवालाले आन्दोलन गरेर खोले । प्यासेन्जर पाएका छैनन् । प्रभाव नपरेका क्षेत्रलाई संरक्षण गरेर राख्नुपर्छ । सबैभन्दा धेरै असर पर्यटनमा परेको छ । मान्छेको क्रयशक्ति गुमेको छ । माग र आपूर्तिको चक्र खलबलिएको छ । 

सरकारको राजस्व अपेक्षित उठेको छैन । अहिले उठेको राजस्वबाट साधारण खर्च धान्न हम्मे परेको छ । विकास खर्च भएको छैन । आय घटेको छ । वस्तुको खपत घटेको छ । सरकारको राजस्व नआएपछि विकास खर्च आउँदैन । यसले अर्थतन्त्रको चक्र घुम्नमा नै प्रभाव पारेको छ ।

लामो लकडाउनले अब उपभोक्ताले कुन सामान किन्छ । कुन प्रोडक्टको बजारमा माग हुन्छ भन्ने अनुमान गर्न कठिन छ । जबसम्म कोभिडको डर रहन्छ । तबसम्म व्यवसायमा यसको असर रहिरहन्छ । कोभिडको असर अझै बढ्छ कि भन्ने त्रास पनि मान्छेहरुमा छ । अहिले नेपालमा कोभिडबाट मृत्युदर कम देखिएको छ । अर्को चरणमा मृत्युदर बढ्ने पो हो कि । यावत् चिन्ता मान्छेमा छ । जबसम्म कोभिडको अन्त्य भएर मान्छे ढुक्कसँग बाहिर निस्किँदैन । तबसम्म आर्थिक क्षेत्रमा यसको प्रत्यक्ष असर रहन्छ । दीर्घकालीन असर त अझै लामो समय पर्छ । भारतमा कोरोनाका संक्रमित बढे भनेर फेरि लकडाउन गर्न थालेको छ । सरकारको राजस्व अपेक्षित उठेको छैन । अहिले उठेको राजस्वबाट साधारण खर्च धान्न हम्मे परेको छ । विकास खर्च भएको छैन । आय घटेको छ । वस्तुको खपत घटेको छ । सरकारको राजस्व नआएपछि विकास खर्च आउँदैन । यसले अर्थतन्त्रको चक्र घुम्नमा नै प्रभाव पारेको छ ।

कोभिडको प्रकोपका बीच जेठ १५ मा सरकारले बजेट ल्यायो । निजी क्षेत्र स्टिमुलस प्याकेजको माग गरेको थियो । आगामि वर्षको बजेटले उद्योगी, व्यवसायीका माग कति सम्बोधन गर्न सक्यो ?

सरकारले आगामी आर्थिक वर्षको बजेटमा केही राहतका प्याकेज ल्याएको छ । यद्यपि पर्याप्त नभएको निजी क्षेत्रका छाता संस्थाहरुले बताइरहेका छन् । तर, सरकारलाई मात्र दोष दिने ठाउँ छैन । सरकारको राजस्व बढ्नु पर्‍यो । विकास खर्च बढाउनु प¥यो । त्यसपछि मान्छेको डर हटेर सोचमा परिवर्तन आउनु पर्‍यो । बजारमा पैसाको फ्लो हुनुपर्‍यो । साना तथा मझौला उद्यमीलाई ध्यान दिनुपर्छ । सरकारले बजेटमार्फत एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष स्थापना गरेको छ । पैसा बजारमा गयो भने मात्र भाइब्रेसन आउँछ । सरकारले सकेसम्म धेरै पैसा बजारमा रिलिज गरेर साना तथा मझौला  उद्योगी व्यवसायीको उत्थान गनुपर्छ । साना उद्योगी अर्थतन्त्रको आधार स्तम्भ हो । बेस बलियो भयो भने ठूला उद्योगहरु सर्रभाईभ हुन्छन् । उद्योगी, व्यवसायीको मनोबल गिरेको छ । चार महिनाको घरभाडा र ब्याज तिरेर बाहिर निस्किन कठिन छ । 

अहिले दुईवटा किस्ता तिर्न छुट दिएपछि सार्ला रे । त्यो दिँदैमा उसलाई राहात हुँदैन । पछि सारे पनि ऋणको भार बढ्छ । कर्मचारीको तबल पनि तिर्नु पर्नेछ । अतिरिक्त भार परेको छ । सञ्चालन भएका उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन अझै समय लाग्छ । अहिले चार महिनामा सतप्रतिशत घाटा भयो । अब सञ्चालन भएर घाटा कम भए पनि यसको रिकभर हुन अर्को एक वर्ष समय लाग्छ । साना होटल व्यवसाय बन्द भएका छन् । मुलुकको प्रमुख पर्यटकीय स्थल ठमेलको अवस्था हेरे त्यसबाट प्रष्ट हुन्छ । अहिले व्यवसाय छोडेर पलायन भएको मान्छे त्यही व्यवसायमा फर्किन्छ भन्ने ग्यारेन्टी के छ ? उसको मनोबल गिरेको छ । कसरी मनोबल उठाउने भन्नेमा ध्यान दिनुपर्छ । उद्योग, व्यवसाय खोले पनि ऋणको ब्याज, किस्ता, स्टाफको तलब, बिजुलीबत्ती लगायतका यावत् समस्यालाई कसरी धानेर व्यवसाय अघि बढाउँछ भन्ने अहिले प्रमुख चिन्ताको विषय बनेको छ ।

सरकार, व्यवसायी, बैंक र जनता सबै बच्नुपर्छ । अहिले कसैले पनि प्रोफिट खाने बेला होइन । सरकारले पनि खर्च कम गर्नुपर्‍यो । व्यवसायीलाई धेरै दुःख दिनु भएन । अझ एक दुई वर्ष मिहिनेत ग¥यो भने पुरानै अवस्थामा फर्किएला ।

साना तथा मझौला उद्योगी व्यवसायी बढी समस्या परेको भन्नुभयो । बजेटले केही विषय सम्बोधन गरे पनि पर्याप्त नभएको गुनासो छ । अब नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा के कस्ता विषय समेट्नु पर्छ भन्ने माग छ त ?

मौद्रिक नीतिमा दुई ढंगले समस्या सम्बोधन गर्नुपर्छ । एउटा छोटो  र अर्को लामो अवधिका लागि । मौद्रिक नीतिले अहिले तत्कालका लागि ऋणको पुनर्तालिकीकरण, बजेटमार्फत घोषणा गरेको पुर्नकर्जालगायतका कोषको उद्योगी, व्यवसायीले सहज रुपमा प्रयोग गर्ने वातावरण तयार गर्नुपर्छ । मुख्य गरी अर्को व्यापार तथा उत्पादनको लागत कम गर्नका लागि बैंकको ब्याजदर घटाएर एक अंकमा ल्याउनु पर्छ ।  

सरकारले एक सय ५० अर्ब रुपैयाँ पाँच प्रतिशत ब्याजमा दिने भनेको छ । कम ब्याज हुँदा व्यवसाय बाँचे भने खर्च गर्ने क्षमता बढ्छ । त्यसले अर्थतन्त्रको चक्र चल्छ । साना तथा मझौला व्यवसाय सञ्चालन भयो भने बजारमा पैसाको सृजना हुन्छ । त्यसले कर बढ्छ । खर्च गर्ने क्षमता बढ्छ । बजारमा जति पैसाको कारोबार बढ्यो त्यति कर बढेर अर्थतन्त्र चलायमान हुने हो । त्यसका लागि कसरी हुन्छ धेरै पैसा बजारमा आउने वातावरण मौद्रिक नीतिले सृजना गर्नुपर्छ । त्यसपछि सरकारको साधारण खर्च धानेर विकास खर्चमा पैसा जान्छ । अन्ततः त्यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिन्छ । रोकिएको अर्थतन्त्रलाई चलायमान बनाउनु पर्छ । पुँजी बजारमा पठाउनु पर्‍यो । चाहे सरकारले विकासका नाममा होस् चाहे स्टिमुलस प्याकेजका नाममा होस् । ऋण दिएर होस् । जसरी हुन्छ बजारमा पैसा आउनु पर्छ । तब मात्र अर्थतन्त्र पुरानै लयमा फर्किन्छ ।

यहाँ बैंंकको सञ्चालक र उद्योगी पनि । दुवै क्षेत्रका समस्याको बारेमा जानकार हुनुहुन्छ । उद्योगीको गुनासो ब्याज धेरै भयो भन्ने छ । यो समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ ?

बैंकको ब्याजदर घटाउने एउटा उपाय छ । सरकारी स्वामित्वका निकायहरु जस्तै दूर सञ्चार प्राधिकरण, विद्युत प्राधिकरण, सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल आयल निगमलगायतका निकायले फिक्स डिपोजिटमा पैसा राखेर ब्याज खाने होइन । सबैभन्दा विकृति कहाँ छ भने यी संस्थाले खर्बौं रुपैयाँ पैसा बैंकलाई बढाबढमा फिक्स डिपोजिटमा  राखेर ब्याज खाइरहेका  छन् । त्यो एफडीले कोषको लागत बढ्यो । ५० प्रतिशत एफडीमा पैसा छ । सरकारी स्वामित्वको नेपाल आयल निगमले फिक्स डिपोजिटमा पैसा राखेर खाने हो ? निगमको काम त भारतबाट तेल ल्याएर सुलभ मूल्यमा बिक्री गरेर सामान्य नाफा खानेको हो । ती निकायलाई बैंकको ब्याज खान रोक्ने हो भने बैंकको ब्याजदर दुई, तीन प्रतिशत त्यसै घट्छ । अर्को कुरा बैंकहरुले आफ्नो खर्च पनि घटाउनु पर्छ । शाखा कम गर्नुपर्‍यो । नेपाल राष्ट्र बैंकले बिग मर्जरको पोलिसी ल्याएर एकीकरण गर्नुपर्छ । म पनि बैंकर भएकाले हामीले कसरी खर्च घटाउने भन्नेमा लागि रहेका छौं । बैंकले पनि सोचेको छ । व्यवसाय बचाउन सक्यो भने मात्र बैंक बच्छ । व्यवसाय बचाउन सक्ने भने बैंक पनि बच्दैन भन्ने प्रस्ट बुझेका छन् । व्यवसायीलाई बचाउने अन्ततः ब्याजदर नै कम हुनुपर्छ । ऋण र ब्याजलाई केही महिनापछि धकेलेर सामान्य राहत मात्र हुन्छ ।

कोभिडले व्यवसायीको मनोबल खस्किएको देखिन्छ । व्यवसायीलाई व्यवसायमा टिकाइरहन के गर्नुपर्छ ?

सबैभन्दा पहिला बैंकको ब्याज नै घटाउनु पर्छ । बजारमा सरकारले पैसाको फ्लो बढाउनु पर्छ । आम मानिस कोरोनाको डरबाट मुक्त नहुँदासम्म मान्छे बजारमा निस्किँदैन । सपिङ मलमा कपडा किन्न आउँदैन । रेष्टुरेन्टमा ग्राहक हुँदैन । हलमा मान्छे जाँदैन । कोभिडको अन्त्य नहुँदासम्म परिस्थिति जटिल छ । मानौं होटल व्यवसायसँग कति चिज जोडिएको छ । दैनिक उपभोग्य वस्तु, दूध बेच्ने, तरकारी उत्पादन गर्ने किसान, काम गर्ने कामदार, होटलमा काम गर्ने कर्मचारी । पर्यटन थला परेकाले पनि त्यसको असर अन्य क्षेत्रमा परेको छ । पर्यटनलाई कसरी माथि उठाउने भन्ने खाका सरकारले तयार गरेर कार्यान्वयनमा ल्याउनु पर्छ ।  

नयाँ उद्योगमा लगानी गर्ने सम्भावना के देख्नुहुन्छ ?

कोभिडको अन्त्य नभएसम्म कुनै व्यवसायी अहिले तत्काल लगानी गर्ने मुडमा देखिँदैन । बैंकमा लगानी गर्ने पुँजी बढिरहेको छ । ऋणको माग बढेको छैन । नयाँ क्षेत्रमा लगानी कसैले गर्दैन । नयाँ क्षेत्रमा लगानी नगरेपछि भवन बन्दैन, घर बन्दैन । यसले सिमेन्ट, डण्डी उद्योग, निर्माण सामग्री उद्योगमा प्रभाव पर्छ । हामी एउटा चेनमा छौं । चक्र ब्रेक भएको छ । यसलाई एक–एक गरेर जोड्दै जानुपर्छ । पुरानै अवस्थामा फर्काउनु पर्छ ।  भारतको रतन टाटादेखि चीनको ज्याक्मा सबैले भनेका छन् । उद्योग, व्यसायमा अहिलेको समय भनेको जोगिने समय हो । नयाँ बढाएर उद्योग विस्तार गर्ने होइन । अहिले कसरी हुन्छ टिक्ने मात्र हो । नयाँ उद्योगमा लगानी गर्ने कसैको दिमागमा छैन ।

कोभिड महामारीको यो कठिन परिस्थितिले उद्योगी, व्यवसायीलाई केही सिकायो कि ?

नेपालीले क्षमताभन्दा बढी लगानी गरेर काम गर्छौं । मैले सिकेको पाठ के हो भने–हामीले क्षमताअनुसार मात्र काम गर्नुप¥यो । ताकि यस्तो किसिमको अप्ठ्यारो परिस्थिति आउँदा धान्न सकियोस् । जसरी बैंकले रिजर्भ राख्छन् । उद्योगी, व्यवसायीले पनि त्यसरी रिजर्भ राख्नुपर्‍यो । नाफा हुँदासाथ प्रोफिट खाइहाल्ने । बैंकले जसरी १०/१५ प्रतिशत रिजर्भ फण्ड हरेक कम्पनीले राख्नुपर्ने आवश्यकता देखियो । सरकारले यो नियम ल्याउनु पर्छ । बैंकको जस्तै नाफाको १० प्रतिशत बाँड्न नपाइने बनाउनु पर्छ । त्यो रकम भयो भने यस्ता अप्ठ्यारा परस्थितिमा व्यवस्थापन गर्न सजिलो हुन्छ ।  

यहाँ औषधि उद्योगमा आबद्ध भएकाले कोभिड प्रकोपका बीच औषधि उद्योगले तुलनात्मक रुपमा लाभ लिन सके कि सकेनन् ?

बाहिर देखिएजस्तो औषधि उद्योगले खासै लाभ लिन सकेनन् । कोभिडको बीचमा औषधिको बिक्री ७० प्रतिशत घटेको छ । बिरामी सकेसम्म अस्पताल गएका छैनन् । डाक्टरकोमा बिरामी नगएपछि औषधि बिक्री हुने कुरै भएन । कोभिड सर्छ भनेर नगई नहुने मात्र अस्पताल गएको छ । प्रसूति बाहेकका मेजर अप्रेसन भएको छैन । गाउँबाट उपचारका लागि सहरमा मान्छे आएका छैनन् । अहिले अस्पताल, औषधिमा ६० देखि ७० प्रतिशत व्यवसाय घटेको छ । बाहिरबाट देख्दा औषधि राम्रो भयो देखे पनि कारोबार भएको छैन ।

सिमेन्ट उद्योगको अवस्था कस्तो छ ?

पहिले सिमेन्ट, डण्डी उद्योग राम्रो थियो । अहिले ओभर प्रोडक्सन भएको छ । अहिले टिक्न कठिन छ । फेरि एक दुई वर्षपछि राम्रो भएर नयाँ अवसर सृजना होला । हरेक पाँच सात वर्षमा राम्रो अवसर आउँछ ।  घाँटी हेरेर हाड निल्नुपर्छ ।

कोभिडको कारण उद्योग, व्यवसाय चौपट भयो । उद्योगीको आँखाबाट हेर्दा कोभिडको नियन्त्रणमा सरकारले के गर्नुपथ्र्यो ? कहाँ चुक्यो ?

सरकारले प्रयास नगरेको होइन, गरेको छ । सरकारले सुरुवाती चरणमा जे गर्नुपथ्र्यो त्यो गर्न सकेन । जसरी भारतबाट बोर्डरमा मान्छेहरु आए । उनीहरु त्यहाँ करिब एक महिना रोकिए । नेपाल प्रवेश गराएर बोर्डरमा क्वारेन्टाइन बनाएर चेकजाँच गरेको भए कोभिड यति धेरै फैलिने थिएन । सबैभन्दा ठूलो कमजोरी त्यहाँ भयो । स्रोतमा नियमित आउन दिएर पिसिआर परीक्षण गरेर पठाएको भए फैलिने थिएन । पिसिआरको दायरा समयमा बढाउन सकिएन ।

अहिले कस्ता चुनौती छन् ?

सर्वोच्च अदालतले लकडाउन खुलेपछि कर लिनु भन्ने आदेश पछि सरकारलाई नियमित खर्च चलाउन हम्मे प¥यो । सरकारलाई सघाउन उद्योगी, व्यवसायीले कर तिरे पनि केही राहत महसुल गर्‍यो । सरकारसँग के आस गर्ने ? सरकार आज कमाउने भोलि खाने छ । एक महिना राजस्व नउठ्दा थला पर्नेछ । सरकार, व्यवसायी, बैंक र जनता सबै बच्नुपर्छ । अहिले कसैले पनि प्रोफिट खाने बेला होइन । सरकारले पनि खर्च कम गर्नुप¥यो । व्यवसायीलाई धेरै दुःख दिनु भएन । अझ एक दुई वर्ष मिहिनेत ग¥यो भने पुरानै अवस्थामा फर्किएला ।

पर्यटन क्षेत्र कहिले रिभाइभ हुन्छ । त्यसमा भर पर्छ । पर्यटनसँग धेरै जोडिएको छ । कोभिडको अन्त्य हुनुपर्छ । अरु कुरा नर्मल हुँदै जाला । चलायमान भएपछि करिब एक वर्ष लाग्ला । त्यसपछि सबै बिर्सेर फेरि पुरानै अवस्थामा फर्किन्छ । बाहिर जाने घुम्न जान्छ । त्यसले अर्थतन्त्र चलायमान हुन्छ ।  

अहिले धेरैले रोजगारी गुमाएको अवस्था छ । रोजगारी सृजना गर्न के गर्नुपर्छ ?

रोजगारी सृजना गर्न आयात प्रतिस्थापन गर्नुपर्छ । चाहे कृषि होस् वा अन्य औद्योगिक उत्पादन । आयात प्रतिस्थापन गरेपछि यहाँ माग सृजना हुन्छ । माग पुरा गर्न उद्योग खोल्नुपर्छ । अहिले माग नभएकाले उद्योग ५० प्रतिशत उत्पादन गरिरहेका छन् । पूर्ण क्षमतामा चलेपछि उद्योगले फेरी कामदार थप्छन् । त्यसले रोजगारी सृजना हुन्छ । नयाँ उद्योग ल्याएपछि फेरि काम गर्ने अवसर पाउँछन् । माग नभएकाले उत्पादन कटौती गर्दा रोजगारी गएको हो । पर्यटनले धेरै रोजगारी दिएको थियो । पर्यटनलाई सुचारु गर्ने वातावरण बनाउनु पर्छ ।

उद्यमशीलता विकास गर्न धेरै साहस चाहिन्छ । जोखिम मोलेर व्यवसायमा हात हालेको हुन्छ । उद्यमशीलता म¥यो भने क्षति पुग्छ । त्यस्ता व्यवसायीलाई सरकारले हेर्नुपर्छ । ब्याजलाई कम दिएर राहत दिनुपर्छ । आजका साना उद्योगी भोलिका ठूला उद्योगी हुन् ।

उद्योग, व्यवसायमा समस्या आइरहन्छन् । योजना बनाएर काम गरिरहेका छौं ।  

अहिलेको अवस्थामा नयाँ लगानीको क्षेत्र के हुन सक्छ ?

कृषिमा लगानी बढाएर उत्पादन गर्ने अवसर छ । चक्लाबन्दी खेती गर्न सकिन्छ । कृषि उद्योग । अनलाइन सपिङको ट्रेन्ड बढ्छ । यसमा फोकस गर्दा राम्रो हुन्छ । कोभिडपछि मान्छेको मनोविज्ञान कस्तो हुन्छ । त्यसले निर्धारण गर्छ । एक वर्ष जति खर्च गर्ने क्षमता कमजोर भएकोले कुनै पनि वस्तुको माग नबढ्ने भएकाले लगानीका लागि धेरै अवसर छ जस्तो लाग्दैन ।

तपाइँको सफलतको सूत्र के हो ?

कडा परिश्रम । बुवाले दिएको संस्कारलाई अनुसरण गर्दै आयौं । त्यो संस्कारलाई सही रुपमा मनन गरेर पालना गरेकाले यो अवस्थामा आएका हौं । समयसापेक्ष रुपमा परिवर्तन गरेर चल्न सक्नुपर्छ ।

समय व्यवस्थापन—बिहान ६ बजे उठ्छु । एक घण्टा हिँड्ने । त्यसपछि कुन—कुन उद्योगमा दिनभर कुन स्टाफलाई के काम लगाउने  कार्यतालिका बनाएर जिम्मेवारी बाँडफाँड गरेर फोन गर्छु । साढे १० बजे अफिस आएर २ बजेसम्म व्यासायिक काम सकाउँछु । उद्योगको अवलोकन गर्ने । त्यसपछि उद्योग वाणिज्य महासंघलगायत संस्थामा जाने काम गर्ने ।

रुचि— परिवारसँग विदेश घुम्ने ।

खानपान— साधारण खाना । गुलियो आइसक्रिम खान मन पर्छ ।

सामाजिक काम— प्रचार गर्नु हुँदैन । दीनदुःखीलाई आफ्नो ढंगले सहयोग गर्ने ।  

धर्मकर्म— काम नै धर्म हो ।

प्रकाशित: १३ श्रावण २०७७ १४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App