७ वैशाख २०८१ शुक्रबार
अर्थ

चालुमा ८८ र पुँजीगतमा ५० प्रतिशत खर्च

खोटाङमा गत आर्थिक वर्ष संघीय सरकारबाट आएको कुल बजेटमध्ये चालुतर्फ ८८.५८ प्रतिशत खर्च भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा संघीय सरकार अन्तरगतका ३७ वटा कार्यालय तथा १० स्थानीय तहका लागि संघबाट पठाइएका कुल ५ अर्व ६६ करोड ६ लाख ९१ हजार ५९५ मध्ये ५ अर्व १ करोड ४७ लाख ४१ हजार ५३९ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय खोटाङले जनाएको छ । 

यस्तै, संघीय सरकारबाट प्राप्त भएको कुल पुँजीगतमध्ये ५० प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय खोटाङका प्रमुख ध्रुब कार्कीले बताए । कुल पुँजीगत बजेट १ अर्व १९ करोड ८९ लाख १७ हजार ५९९ मध्ये ६० करोड १ लाख १९ हजार ८ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।  

प्रदेश सरकारबाट प्रदेश अन्तरगतका ७ कार्यालय र स्थानीय तहलाई प्राप्त भएको बजेट र खर्चको हिसाव किताव भने हालसम्म प्राप्त नभएको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख कार्कीले बताए । जिल्लाका सबै स्थानीय तह, प्रदेश र संघीय कार्यालयको हालसम्मको बेरुजुको विवरण माग गरिएको र सो विवरणलाई कोष तथा लेखा नियन्त्रकको कार्यालयमा अद्यावधिक राख्ने व्यवस्था गर्न लागिएको जनाइएको छ । चालु आर्थिक वर्षका लागि प्रदान गरिने सबै प्रकारका अनुदान, राजस्व र आयको अनुमान सभामा पेश गरी पारित नगरे वा गत आर्थिक वर्षको खर्चको प्रगती विवरण साउनभित्र पेश नगरेमा भुक्तानी रोकिने प्रमुख कार्कीले बताए ।  

यस्तै, भदौ १५ गतेसम्ममा सबै निकायको आन्तरिक लेखा परीक्षण गरेर प्रणालीमा प्रविष्ट गरिसक्ने गरी आन्तरिक लेखा परिक्षण सुरु गरिएको कार्यालयले जनाएको छ । हाल जिल्लामा म्याद सकिएका चेक साट्न बाँकी नरहेको कार्कीले बताए ।

प्रकाशित: ९ श्रावण २०७७ ११:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App