८ वैशाख २०८१ शनिबार
अर्थ

एक वर्षमा १४ करोड ७५ लाख कर संकलन

करदाता सेवा कार्यालय खोटाङले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा करिब ५ करोड बढि कर संकलन गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा १० करोड कर संकलन गरेको करदाता सेवा कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा १४ करोड ७५ लाख राजस्व संकलन गरेको हो । आयकर, मुल्या अभिबृद्धि कर, अन्तः शुल्क र अन्य सेवा वापत गत साउनमा २ करोड ५५ लाख ५५ हजार, भदौमा ३८ लाख २७ हजार, असोजमा ५६ लाख ५७ हजार, कात्तिकमा ६२ लाख ८ हजार, मंसिरमा ६० लाख ८५ हजार, पुसमा १ करोड १९ लाख ४ हजार राजस्व संकलन गरिएको करदाता सेवा कार्यालय खोटाङका कर अधिकृत गोपाल राईले बताए ।  

यस्तै, माघमा १ करोड ७७ लाख ९७ हजार, फागुनमा ७४ लाख ५१ हजार, चैतमा ३८ लाख ४४ हजार, बैसाखमा ७४ लाख ४७ हजार, जेठमा १ करोड १५ लाख ७४ हजार र असारमा ४ करोड १ लाख २६ हजार राजस्व संकलन भएको करदाता सेवा कार्यालयले जनाएको छ । कोभिड–१९ को असरका कारण समेत राजस्व संकलनमा असर परेको घर अधिकृत राईले बताए । ‘यस कार्यालय अन्तरगत ९० प्रतिशत भन्दा बढि साना करदाता रहेका छन् । कोभिड–१९ ले पनि कर संकलनमा अशर गर्‍यो,’ कर अधिकृत राईले भने, ‘जिल्लामा ठूला–ठूला आयोजना तथा विकास निर्माणका काम गर्ने कार्यालय नहुनु, ठूला–ठूला ठेक्कापट्टा, आपुर्ती र सेवा प्रदान गर्ने निकाय नभएकाले टिडिएस र ५० प्रतिशत मूल्य अभिबृद्धि कर वापत जम्मा हुने राजस्व जम्मा हुन नसकेको हो ।’  

आर्थिक वर्ष २०७६/०७७ मा ५ हजार ९२० ले वर्ष आयकर, मुल्याअभिबृद्धि कर, अन्तशुल्क, पि–प्यान र डिडिएस दर्ता गरेको कार्यालयले जनाएको छ । करदाता सेवा कार्यालयले २०७५ साल चैत २८ गतेदेखि दिक्तेलबाटै सेवा सुरु गरेपछि कर चुक्ताका लागि प्रदेश नम्बर १ बाट प्रदेश नम्बर २ मा पर्ने लाहान पुग्नुपर्ने बाध्यता अन्त्या भएको छ । कार्यालयले स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र वितरण, मूल्य अभिबृद्धि कर दर्ता, अन्तशुल्क इजाजत तथा नविकरण, कर संकलन, करदाताको विवरण संशोधन लगायतका सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित: ९ श्रावण २०७७ ०७:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App