coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लकडाउन खुुकुलोको एकमहिना : बजार खुल्यो, ब्यापार भएन

मुस्किलले एकतिहाई ब्यापार, अत्यावश्यक बाहेकको किनमेल बढेन

पोखराको मुल ब्यापारिक क्षेत्र चिप्लेढुंगा । बजार खुलेको महिनादिन बितिसक्दा पनि ब्यापार फस्टाउन नसकेको व्यवसायीको भनाई छ । तस्बिरः उमेश पुन/नागरिक

कोरोना भाईरस संक्रमणका कारण गरिएको लकडाउन खुकुलो भएको महिनादिन नाघिसकेको छ । लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढ्न थालेको थियो । झन्डै तीनमहिना बन्द रहेको बजार असारको सुरुवातताका खुल्दा बजारमा निकै चहलपहल देखिन्थ्यो । तर, त्यो चहलपहलले बजारको ब्यापार भने बढाउन नसकेको व्यवसायीले बताएका छन् ।  

व्यवसायीले अरुबेलाको तुलनामा अहिलेको ब्यापार एकतिहाई मात्र भईरहेको बताएका छन् । कतिपय व्यवसायीले त्यो भन्दा पनि कम आकारको ब्यापार भएको बताएका छन् । सार्वजनिक सवारी नचलेको, ग्राहककोे क्रयशक्ति कमजोर बनेको, सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु भनेकोले अझैपनि ग्राहक बजारसम्म आउन नसकेको व्यवसायीको भनाई छ । त्यसबाहेक पोखरा घुम्न आउने आन्तरिक पर्यटक आउन नसक्दा व्यावसाय उकासिन नसकेको उनीहरूको भनाई छ ।

पोखराका महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, न्यूरोड, नयाँबजार सर्वसाधारणको बढि भीडभाड हुने व्यापारिक क्षेत्र हुन् । दैनिक उपभोग्यबस्तुदेखि लत्ताकपडा, सुनचाँदी, भाँडाकुडाको बढी कारोबार त्यही क्षेत्रमा हुन्छ । थोक र खुद्रा दुवैखाले ब्यापार हुँदा ती क्षेत्रमा अरुबेला निकै नै चहलपहल हुन्थ्यो । अझ चाँडबाँडका बेला त त्यहाँ खुट्टा हाल्ने ठाउँ हुँदैनथ्यो । तर, अहिले बजार सुस्त रहेको व्यवसायीले बताएका छन् ।

‘बिहानदेखि बेलुकीसम्म पसल खोल्ने र कुर्ने काम भएको छ,’ चिप्लेढुंगाका भाँडा व्यवसायी पवन प्रजापति भन्छन, ‘भाँडाकुडा अत्यावश्यक सामाग्रीमा परेन । ग्राहकले अत्यावश्यक बाहेकका बस्तु किनेका छैनन ।’ भाईरस संक्रमणका कारण लामो समय मुलुक नै लकडाउन हुँदा धेरैजसो ग्राहक कामविहिन भएको र काम पाइहाले पनि पहिलेजस्तो आम्दानी गर्न नसक्दा त्यसको मार आफुहरूको ब्यापारमा परेको उनले बताए । संक्रमणको दर कसरी अघि बढ्छ भन्नेमा अन्योल हुँदा पनि सर्वसाधारणले अत्यावश्यक बाहेक बस्तु किन्ने आँट नगरेको उनले बताए ।

अर्का व्यवसायी नारायण कोइरालाले पनि लकडाउन अघि एकदिनमा हुने ब्यापार अहिले महिनादिन कट्दा पनि हुन नसकेको बताए । चिप्लेढुंगामै ब्याग हाउस संचालन गरेका कोइरालाले विद्यालय बन्द हुनु, विदेशसम्मको आउजाउ रोकिनु, आन्तरिक पर्यटक आउन नपाउँदा ब्यापार हुन नसकेको बताउँछन् । सार्वजनिक यातायात नचल्दा ग्राहकहरू बजारसम्म आउन नसकेको उनले बताए । खाद्यान्न, कस्मेटिक्स, रेडिमेड कपडाको ब्यापार केही फस्टाइसकेपनि अरु ब्यापार कम रहेको उनले बताए । ‘यो बेला स्कुल खुल्थे भने ब्यापार फस्टाउँथ्यो, तर, स्कुल बन्द छन । अनि विदेश जाने र विवाह–ब्रतबन्ध जस्ता गतिविधि पनि पहिले जस्तो छैनन,’ उनले भने, ‘त्यसको मार ब्यापारमा परेको हो ।’

सर्वसाधारण नागरिकको क्रयशक्ति कमजोर हुँदा एकमहिना अवधिमा पनि व्यापार फस्टाउन नसकेको कोइरालाले बताए । ‘कहिलेकाँकी त बोहनी मात्र हुने गरेको छ । पसल कुर्ने काम भएको छ,’ उनले भने, ‘बाहिरबाट हेर्दा बजारमा निकै नै भीडभाड देखिन्छ । तर, सामान किन्ने ग्राहक छैनन ।’ अरुबेला सिजनमा एकदिनमा हुने ब्यापार अहिले महिनादिनमा पनि नभएको उनले बताए । यस्तै अवस्था रहे अझै एकवर्ष ब्यापार नहुने उनले बताए । ‘संक्रमणको त्रास कायमै रहेकोले सरकारले अहिले अत्यावश्यक काम बाहेक बजारमा ननिस्कनु भनेकोले पनि कतिपय ग्राहक घरमै रोकिएका छन,’ उनले भने ।  

पोखराको व्यापारिक भवन पोखरा ट्रेडमलका व्यवसायी नवराज त्रिपाठी पसल खुलेको एकमहिना बितिसक्दा पनि व्यावसाय उकासिन नसकेको बताउँछन् । ‘लकडाउन खुकुलो भएसँगै असार एकदेखि मैले ट्रेडमलभित्रको पसल खोलेको हुँ । सुरुका केहीदिन त ब्यापारै भएन,’ त्रिपाठीले भने, ‘अहिले केही उकासिन थालेको छ । तर, पहिलेजस्तो छैन ।’ त्रिपाठीका अनुभवमा अहिलेका ग्राहकको क्रयशक्ति निकै नै कमजोर छ । महंगो सामान हत्तपत्ति किन्न चाहेका छैनन । कामचलाउ अवस्थामा ग्राहक रहेको उनले बताए ।  

‘पोखरा भ्यालीभित्रका केही मात्र ग्राहक बजारसम्म आएका छन्,’ त्रिपाठीले भने, ‘गाडी नचल्दा बाहिरबाट ग्राहक आउन पएका छैनन ।’ लामो समय कामविहीन भएका सर्वसाधारण अहिले सस्तो सामान किन्ने र कामचलाउ मात्र गर्ने अवस्थामा रहेकोले पनि ब्यापारको आकार बढ्न नसकेको उनले बताए । उनका अनुसार ट्रेडमलमा आउने ग्राहक पोखरा मात्र नभई आसपासका गाउँ र व्यापारिक क्षेत्रका पनि हुन्थे । तर, सार्वजनिक सवारी नचल्दा तनहुँको दुलेगौंडा, खैरेनीटार, भीमाद, दमौली, स्याङजाका ग्राहक पोखरासम्म आउन नपाएको उनले बताए ।

‘६० प्रतिशत ब्यापार घटेको छ । यो उकासिन अझै केही महिना लाग्छ,’ उनले भने, ‘जसोतसो बजार आएका ग्राहकको पनि क्रयशक्ति छैन ।’ ‘सपिङ टे«न्ड’ नै टुटेको छ, जसोतसो कामचलाउ अवस्थामा अहिलेका ग्राहक छन,’ उनले भने । चाँडबाँड नजिकिन थालेकोले व्यापार केही बढ्ने अपेक्षा भएपनि यो पटक महामारीका कारण पहिलेजस्तो आकार नहुने उनको अनुमान छ ।  

मोवाइल बिक्रीका लागि चल्तीको ठाउँ महेन्द्रपुलस्थित सिता भवनको आरडिएस मोवाइल सपका संचालक मोहन अधिकारी पनि पहिलेको आकारमा ब्यापार नभएको बताउँछन् । ‘पहिला पहिला ब्राण्डेड मोवाइल मात्र बिक्री हुन्थे । चाहेको मोवाइल किन्न नपाए ग्राहक यत्तिकै फर्किन्थे । तर, अहिले जुन ब्राण्ड पाइन्छ, त्यही किन्ने गरेका छन,’ अधिकारीले भने, ‘अहिले ग्राहकले रोजाइको सामान किन्न पाएका छैनन । त्यसले पनि ब्यापार फस्टाउन सकेको छैन । अहिले जुनसुकै ब्राण्ड पनि बिक्री हुने गरेको छ ।’  

फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका पूर्व अध्यक्ष मिनराज काफ्ले अरु बेलाको तुलनामा अहिलेको ब्यापार एकतिहाईमा झरेको बताउँछन् । उनका अनुसार बजारमा रोजेको सामान छैन भने ग्राहकसँग पनि महंगो रकम खर्चने चाहना देखिँदैन । सिमित व्यवसायीले यो बेला ५० प्रतिशत हाराहारीमा ब्यापार गरेपनि अधिकांशको एकतिहाईमा झरेको उनले बताए । ‘पोखरामा यो बेला सामान पनि छैनन । बिवाह, ब्रतबन्ध, भोजभतेर, घुमघाम सबै रोकिएका छन् । विवाह ब्रतबन्धमा हुने खर्च निकै कम छ,’ काफ्लेले भने, ‘त्यसले गर्दा ब्यापार हुन पाएको छैन । नियमित गतिविधि नै हुन सकेको छैन ।’

यतिबेला किनमेलका लागि बजार पुग्ने ग्राहकले घरमा बस्दा चाहिने लत्ताकपडादेखि अत्यावश्यक बस्तु मात्र किनेको उनले बताए । ‘गर्मिका कपडा किन्नुपर्ने बेला लकडाउन सुरु भयो । लकडाउनले ती सामान पनि आउन पाएन,’ उनले भने । लकडाउनका कारण घरभित्रै रहेका ग्राहकले अवस्था कुन रुपमा अघि बढ्छ भनेर पर्खेको पनि उनले बताए । ‘घरभित्रै बस्नका लागि किन नयाँ सामान किन्ने भन्ने ग्राहक छन,’ काफ्लेले भने, ‘अत्यावश्यक बाहेक बिक्री छैन । गाडी पनि चलेका छैनन । बजारसम्म आउन पनि कठिन छ ।’

काफ्लेका अनुसार बिक्रीका लागि ल्याइने चिनियाँ सामाग्री अहिले केरुङ नाकामा रोकिएका थिए । केरुङ नाकाको चीनतर्फ अहिले देशभरका सामान बोकेका करिब १२ सय कन्टेनर सामान रोकिएका छन् । ती कन्टेनरमा लत्तकपडा, जुत्ताचप्पल, विद्युतीय सामाग्री रहेकोले ती सामान ल्याउन नपाउँदा व्यावसाय फटाउन नपाएको उनले बताए । काफ्लेका अनुसार सिमित कामदारले चिनियाँ कन्टेनरका सामाग्री नेपाली ट्रकमा लोड गरेर पठाउँछन् । दिनमा करिब ३ कन्टेनर (१२ ट्रक) मात्र सामान नेपाल छिर्ने गरेकोले सबै सामान आउन नपाएको उनले बताए । ‘गर्मिका सामान बल्ल आउँदैछन् । पोखराका व्यायवसायीको करोडौंको सामान नाकामै रोकिएको छ,’ उनले भने, ‘त्यसले गर्दा पनि बजारमा चाहेको जस्ता सामान पाउन कठिन छ । त्यसले व्यावसाय फस्टाउन सकेन ।’  

प्रकाशित: ५ श्रावण २०७७ ११:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App