coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बैतडीमा १ अर्ब ८ करोड बजेट फ्रिज

बैतडीमा आर्थिक वर्ष २०७६/०७७  मा १ अर्ब ८ करोड बढी बजेट फ्रिज भएको छ । संघीय र प्रदेश सरकारको चालुगत र पूँजिगत १ अर्ब, ८ करोड ४६ लाख १६ हजार ८ सय १९ रुपैयाँ फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीका प्रमुख सिद्धराज ओझाले जानकारी दिए । संघीय सरकारको कुल विकासे बजेट ९१ करोड ६७ लाख २६ हजार रहेकोमा ५३ करोड, ६९ लाख २ हजार ८ सय रुपैयाँ ९२ पैसा अर्थात ४९ दशमलव ४९ प्रतिशत मात्रै खर्च भएको हो । संघीय सरकारको विकासे रकम ३७ करोड ९८ लाख २३ हजार २ सय रुपैयाँ फ्रिज भएको छ ।

प्रदेश सरकारको बिकासे बजेट २ अर्ब ५२ करोड ६९ लाख ३२ हजार मध्ये १ अर्ब ८८ करोड ३७ लाख ३१ हजार ४ सय ९८ रुपैयाँ अर्थात ७४ दशमलव ५५ प्रतिशत मात्रै खर्च भएको हो । प्रदेशको ६४ करोड ३२ लाख ५ सय २ रुपैयाँ फ्रिज गएको छ ।

संघीय सरकारको चालू खर्च ५ अर्ब २ करोड ५० लाख ३४ हजार ४ सय ५० रुपैयाँ कुल बजेटमध्ये ४ अर्ब ७८ करोड २५ लाख ९५ हजार ८ सय ७८ रुपैयाँ अर्थात ९५ दशमलव १८ प्रतिशत खर्च भएको छ । संघीय सरकारको चालू बजेटको २४ करोड २४ लाख ३८ हजार ५ सय ७२ रुपैयाँ फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रदेशको चालूतर्फ ८९ करोड ४९ लाख ५७ हजार ४ सय ९० रुपैयाँमा ७३ करोड ३९ लाख ६२ हजार ४५ रुपैयाँ अर्थात ८२ प्रतिशत खर्च भएको छ भने १६ करोड ९ लाख ९५ हजार ४ सय ४५ रुपैयाँ फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ ।

यस्तै दार्चुला जिल्लाको विकासे बजेटको ५३ प्रतिशत मात्रै खर्च भएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा संघीय सरकारले जिल्लाका विभिन्न स्थानीय तह र अन्य कार्यालयलाई पठाएको विकासे बजेटको ५३ दशमलव ७८ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाका कार्यालय प्रमुख भुपालसिंह कार्कीले जानकारी दिए ।

जिल्लालाई प्राप्त कुल पूँजिगत बजेट ५५ करोड ६७ लाख ८३ हजार २ सय ५७ मध्ये २९ करोड ९४ लाख ८५ हजार १ सय ५७ रुपैयाँ मात्रै खर्च भएको छ, भने २५ करोड ७२ लाख ९८ हजार १ सय रुपैयाँ फ्रिज भएको कार्यालय प्रमुख कार्कीले बताए । पूँजिगत बजेट मध्ये असारमा मात्रै १२ करोड ६० लाख ६९ हजार ४ सय ३९ रुपैयाँ खर्च भएको छ ।

विगतका वर्षहरुको तुलनामा यस वर्षको विकासे बजेट खर्च निरास जनक छ । अघिल्ला वर्षहरुमाको तुलनामा बजेट खर्च हुने समयमा कोरोना भाइरसको संक्रमणले लकडाउन हुँदा खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाका प्रमुख कार्कीले बताए ।

आर्थिक वर्ष सकिन लाग्दा मात्रै विकास योजनाका काम अघि बढने भएकाले वर्षेनी ठूलो बजेट फ्रिज हुने गरेको छ । असार विकासका नाममा आर्थिक वर्षको अन्तिम महिनामा निर्माण भएका विकासे योजना दीगो नहुने र बजेट अनुसारको काम नहुने गरेको स्वतन्त्र विचार मञ्च बैतडीका अध्यक्ष गणेश ठकुराठीले बताए ।

प्रकाशित: ३ श्रावण २०७७ १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App