coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रसुवा भन्सारलाई ११ अर्ब ३३ करोड राजस्व असुलीको लक्ष्य प्राप्त

रसुवागढी नाका तस्बिरः हिमनाथ/नागरिक

भन्सार विभागले रसुवा भन्सारलाई ११ अर्ब ३३ करोड राजस्व असुलीको लक्ष्य दिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ का लागि विभागले कार्यालयलाई ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व असुलीको वार्षिक लक्ष्य दिएको हो ।  

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नाका सुस्त गतिमा सञ्चालन भइरहेको छ । नाकामा व्यापारिक कारोवार घटेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा पनि करिब पाँच महिना नाका सञ्चालन नहुँदा कार्यालयले वार्षिक लक्ष्य भेट्टाउन सकेको थिएन ।  

आर्थिक वर्ष २०७६/७७ मा ९ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा ८ अर्ब २७ लाख ७७ हजार मात्र राजस्व संकलन गरेको थियो । यो वार्षिक लक्ष्यको ८५.५२ प्रतिशत हो ।  

यसै परिस्थितिमा विभागले नाका सञ्चालन भएयता कै सबैभन्दा बढी असुली लक्ष्य दिएको छ । २०७१ सालदेखि सञ्चालनमा आएको नाकामा पछिल्लो समय व्यापारिक कारोवार बढ्दै गएको थियो । रसुवा भन्सारले २०७१ साल यता दुई वटा आर्थिक वर्षमा आफ्नो लक्ष्य पूरा गर्न नसकेपनि अन्य वर्षमा लक्ष्य भन्दा बढी असुली गर्दै आएको छ ।

भन्सार विभागले दिएको राजस्व संकलनको वार्षिक लक्ष्य प्रारम्भिक बाँडफाँड भएकाले परिस्थिति अनुसार थपघट हुने रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए ।  

आर्थिक वर्ष २०७५/७६ मा मा ९ अर्ब ५० करोड ६२ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखिएकोमा १० अर्ब ६० करोड २४ लाख १९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।  

आर्थिक वर्ष २०७२/७३ मा २ अर्ब ४ करोड ४६ लाख ८७ हजार ७ सय ४४, आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आर्थिक वर्ष २०७४/७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार राजस्व उठेको कार्यालयको तथ्यांक छ ।  

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ ।  

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

प्रकाशित: ३ श्रावण २०७७ ०७:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App