coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बेरुजु देखिदैमा भ्रष्टाचार भयो भन्ने नसोचौं : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बन्धित आयोजना प्रमुखले समयमै सोधभर्ना नगर्ने प्रवृतिले असार मसान्तमा खर्चको आकार बढी देखिएको बताएका छन्।  

प्रतिनिधिसभाको अर्थसमितिको बिहीबारको बैठकमा बजेट कार्यान्वयनका सम्बन्धमा छलफल गर्न उपस्थित भएका अर्थमन्त्री खतिवडाले भुक्तानी दावी ढिलो गरी आउने र आयोजनाको सोधभर्ना नगर्ने प्रवृतिले आर्थिक वर्षको अन्त्यमा खर्च बढी देखिने गरेको बताए। उनले भुक्तानी ढिलो हुनुको प्रमुख कारण आयोजना प्रमुखहरुले समयमा दावी नगर्ने तथा सोधभर्ना नलिने नै रहेको बताए। उनले आर्थिक वर्षको अन्त्यमा मात्रै सोधभर्ना लिदा असार मसान्तमा खर्च बढी देखिएको बताए। उनले कतिपय अवस्थामा सोधभर्ना लिनका लागि मन्त्रालयले नै ताकेता गर्नुपरेको जानकारी दिए। असार महिनामा सोधभर्ना धेरै आउने भएकाले असारमा नै भुक्तानी र खर्च बढी देखिएको स्पस्ट पारे। उनले भने, 'भुक्तानी ढिलो हुनमा आयोजना प्रमुखहरुले समयमा दावी गर्नुहुन्न, सोधभर्ना लिनुहुनन्न। सोधभर्ना लिनलाई ताकेता गरिरहनुपर्छ र बल्लबल्ल स्रोतको सोधभर्ना आउँछ। सोधभर्ना पनि फेरी जेठ असारमा धेरै आउँछ। असारमा सोधभर्ना आउँदाखेरी विदेशी सहायता पनि त्यहि देखिन्छ र खर्च पनि त्यहि देखिन्छ।’

अर्थमन्त्री खतिवडाले राजश्व पनि असार मसान्तमा धेरै उठने भएकाले त्यसको आधारमा भुक्तानी बढी हुँदा पनि असारमा खर्च धेरै देखिने गरेको बताए। बजेट कार्यान्वयन, आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐन अनुसार खरिदमा विवेक र ढंग पुर्याउन नसके विवादमा पर्न सक्ने भएकाले पनि खर्चका प्रक्रियाहरुमा कठिनाई र ढिलाई हुने गरेको बताए।  

बजेट कार्यान्वयनको असर जनतामा परेको सम्बन्धमा भने गरिबी, रोजगारी शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार निर्माण लगायतका परिसूचकको आधारमा हेर्नुपर्ने अर्थमन्त्री खतिवडाले बताए। उनले परिसूचकहरुमा मात्रै छलफल गर्न आफु तयार रहेको बताए। उनले जनताले अपेक्षा गरेका सबै कुरा पुरा नभएपनि धेरै विषयहरु पुरा हुने भएकाले मतदाता समक्ष भन्न सक्ने आधार खडा हुने भन्दै सांसदहरुलाई विश्वस्त हुन आग्रह गरे। खतिवडाले बेरुजुलाई रकममा नहेरी प्रतिशतमा हेर्न पनि आग्रह गरे। प्रतिशतमा हेर्दा अर्थमन्त्रालयको बेरुजु स्वीकार योग्य नै रहेको बताए। उनले बेरुजु देखिदैमा भ्रष्टाचार भयो भन्ने नसोच्न आग्रह गरे।  

 

 

प्रकाशित: १ श्रावण २०७७ १२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App