८ वैशाख २०८१ शनिबार
अर्थ

रसुवा भन्सारको वार्षिक लक्ष्य पूरा भएन ८५.५२ प्रतिशत राजस्व संकलन

रसुवागढी नाका । तस्बिर : हिमनाथ/नागरिक

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण रसुवा भन्सारले वार्षिक लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । करिब पाँच महिना रसुवागढी नाका बन्द हुँदा वार्षिक लक्ष्यको तुलनामा कम राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।  

कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा ९ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । जसमध्ये कार्यालयले साउनदेखि असार मसान्तसम्ममा ८ अर्ब २७ लाख ७७ हजार मात्र राजस्व संकलन गरेको छ । यो वार्षिक लक्ष्यको ८५.५२ प्रतिशत हो ।  

कोरोना भाइरसको कारण नाका बन्द भएपछि वार्षिक लक्ष्यमा ठुलो असर पुगेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए । रसुवा भन्सार कार्यालयका अनुसार चैतदेखि असार २६ गतेसम्म राजस्व संकलन शुन्यमा झरेको थियो ।  

फागुन अन्तिमसम्ममा कार्यालयले वार्षिक लक्ष्यको ८५ प्रतिशत राजस्व उठाएको थियो । भने असारमा १ करोड ७६ लाख ६१ हजार राजस्व उठाएको छ । कार्यालयले असारमा ४६ करोड ७८ लाख ६१ हजार राजस्व उठाउने लक्ष्य राखेको थियो । यो लक्ष्यको तुलनामा ३.७७ प्रतिशत हो ।

गत आर्थिक वर्षमा ९ अर्ब ५० करोड ६२ लाख ६२ हजार रुपयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखिएकोमा १० अर्ब ६० करोड २४ लाख १९ हजार रुपयाँ राजस्व संकलन भएको थियो ।  

आर्थिक वर्ष २०७२/७३ मा २ अर्ब ४ करोड ४६ लाख ८७ हजार ७ सय ४४, आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आथिर्क वर्ष २०७४/७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार राजस्व उठेको कार्यालयको तथ्यांक छ ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ ।  

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

प्रकाशित: ३१ असार २०७७ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App