७ वैशाख २०८१ शुक्रबार
अर्थ

सार्वजनिक सवारी : 'अझै टुंगो छैन'

पोखराको पृथ्वीचोकमा बसपार्कमा रहेका लामो दुरिमा चल्ने बस । फाइल तस्बिरः उमेश/नागरिक

कोरोना भाइरस संक्रमणको त्रासका कारण सार्वजनिक सवारी चलाउन झन्डै चार महिनादेखि लगाएको रोकावट सरकारले केही खुकुलो त बनायो, तर यातायात व्यवसायीले सरकारी निर्देशन अटेर गरे । जिल्लाभित्र मात्रै सार्वजनिक सवारी संचालन गर्न पाइने सरकारी निर्णय यातायात व्यावसायीले मानेनन् ।  

लामो समय गाडी गुडाउन नपाउदा आर्थिक रुपमा धरासायी भएको र त्यसले गर्दा बैंक तथा वित्तीय संस्थालाई किस्ता र ब्याज तिर्न नसकेको हुँदा किस्ताको समय अवधि कम्तिमा ६ महिना बढाइदिनुपर्ने लगायतका माग व्यवसायीले राखेका छन् । आफूहरुका मागबारे सरकारसँग बारम्बार छलफल चलिरहेको यातायात व्यावसायीले बताएका छन् । सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएपनि कहिलेदेखि गाडी गुडाउने भन्ने टुंगो व्यवसायीले लगाईसकेका छैनन् । तर, आन्तरिक तयारी भने भईरहेको उनीहरुको भनाई छ ।  

पोखरा उपत्यकामा अहिले विभिन्न कम्पनीले सार्वजनिक सवारी संचालन गरिरहेका छन् । पोखरा उपत्यकाभित्र सार्वजनिक सवारी संचालन गरिरहेको पोखरा यातायात प्रालीका प्रबन्ध निर्देशक अमृत शर्माले सरकारले मौद्रिक नीतिमार्फत यातायात व्यवसायीका माग सम्बोधन गर्ने आश्वासन पाएपछि सवारी संचालनको आन्तरिक तयारी गरिरहेको बताए । तर, कहिलेदेखि पोखरा उपत्यकाभित्र सार्वजनिक बस संचालन हुन्छन् भन्ने अझै टुंगो नलागेको उनले बताए ।

‘अब केही दिनमा पोखराभित्र सार्वजनिक बस संचालन गर्दैछौ । तर, कुन दिनदेखि संचालन गर्ने भन्ने यकिन नभएको मात्र हो,’ शर्माले भने, ‘हामी आन्तरिक तयारीमा जुटेका छौ ।’ पोखरा बसका ३७८ वटा गाडी छन् । ती सबै गाडी अहिले पोखरामा नभएकोले फिर्ता ल्याउने तयारी भईरहेको पनि उनले बताए । शर्माका अनुसार पोखरा बाहिरका चालकले ती सवारीलाई आफै संरक्षण गर्नेगरि लगेका छन् । गाडी संचालक आफैले आफ्नो गाडी रेखदेख गर्न नसक्ने हुँदा चालकलाई नै दिएर पठाइएको उनले बताए ।  

करिब ३० प्रतिशत सवारी अहिले चालकले विभिन्न ठाउँमा लगेर राखेका छन् । मजदुरले लगेका गाडी फिर्ता ल्याउने तयारी भईरहेको उनले बताए । ‘व्यवसायी हुँदैमा सबैले गाडीको रेखदेख गर्न सक्दैनन् । पार्किङ गर्ने ठाउँ पनि छैन, त्यही भएर चालककै जिम्मा लगाएर पठाइएको हो,’ शर्माले भने, ‘ती गाडी अब पोखरा बोलाउदैछौ । चालकहरु पोखरा नफर्केकाले पनि गाडी गुडाउन नपाएका हौ । चालकहरु काममा फर्किने तयारीमा छन् ।’

सरकारले सबै माग पुरा गरेर भोलिदेखि नै सवारी चलाउ भनेपनि सम्भव नभएको उनले बताए । लामो समय गुड्न नपाएका गाडीको परीक्षण गर्नुपर्ने अवस्था छ । टायर मक्किएको र इन्जिनमा खिया लागेको, मोविल सुकेको लगायतका समस्या रहेकोले ती समस्या समाधान गर्नुपर्दा केही दिन लाग्ने शर्माले बताए । ‘गाडी चलाएर दुर्घटनामा पार्नु भएन । त्यही भएर कम्पनीले गाडी कुन अवस्थामा छन् भनेर परीक्षण गर्नेछ,’ उनले भने, ‘ती गाडीलाई चल्नयोग्य बनाउनुपर्ने हुन्छ ।’  

उनका अनुसार पोखराबसका ती गाडी विभिन्न २८ वटा रुटमा चल्छन् । पोखरा महानगर बाहेक कास्कीका गाउँपालिकामा पनि गाडीको सेवा छ । पोखरा सहरभित्र मात्र १४ वटा रुटमा गाडी गुड्छन् । त्यसबाहेक चालक र सहचालकको बिमा गर्ने, आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने र गाडीलाई सेनिटाइज गर्ने कामका लागि पनि समय तयारी गर्नुपर्ने उनले बताए । सरकारले नगरिदिए व्यवसायी आफैले चालक र सहचालकको कोरोना बिमा गरेर भएपनि सवारी संचालन गर्नेसम्मको तयारी भएको शर्माले बताए ।  

बेगनास ताल पोखरा यातायात प्रालिका अध्यक्ष श्रीप्रसाद तिवारीले पनि सरकारले व्यवसायीका माग पुरा गरेको खण्डमा संचालन गर्न सकिने भएपनि अहिले नै दिन टुंगो नलागेको बताए । ‘लामो समय गाडी थन्किएकोले व्यवसायी पीडामा छन् । गाडी चलाउदा पनि सेनिटाइज गर्ने, दुईजनाको सिटमा एकजना मात्र चढाउनु पर्ने हुँदा व्यवस्थापन गर्नुपर्ने, स्वास्थ्य सामग्रीको जोहो गर्नुपर्ने अवस्था छ,’ तिवारीले भने, ‘गाडी निकाल्दैमा पनि सहज हुने अवस्था छैन । किनकी गाडी निकाल्दा अरु दुई लाख रुपैयाँसम्म खर्चेर मर्मतसम्भार गर्नुपर्ने अवस्था छ ।’

सार्वजनिक सवारी नचालाएर यात्रुलाई दुःख दिन खोजेको नभई व्यवसायीका माग सुनुवाई गर्न सरकारलाई दवाब दिन खोजेको उनले बताए । ‘चार महिना बन्द हुँदा बैंकले समस्या पारेको छ । गाडी निकाल्दा २ लाख रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘त्यसको व्यवस्थापन पनि गर्न जरुरी छ ।’ बेगनास ताल पोखरा यातायात प्रालिसँग अहिले १३० वटा गाडी छन् । यी गाडी पोखरासहित कास्कीका विभिन्न क्षेत्र हुँँदै लम्जुङ सदरमुकाम बेशिसहरसम्म संचालन हुन्छन् ।

लामो दुरिमा मात्र यातायात संचालन गर्दै आएका केही व्यवसायीले भने सार्वजनिक सवारी संचालनको दायरा जिल्लाभित्र मात्र सिमित नराखि प्रदेशभित्रका लागि खुकुलो बनाउनुपर्ने बताएका छन् । जिल्लाभित्र मात्र संचालनको अनुमति पाएकोमा अब प्रदेशभित्र संचालन गर्नेगरि सरकारले स्वीकृति दिनुपर्ने व्यवसायीको माग रहेको छ ।  

पृथ्वी राजमार्ग बस संचालक कम्पनिका अध्यक्ष योगेन्द्रबहादुर केसीले लामो दुरिमा चल्ने अनुमति नपाएकोले अब प्रदेशभित्र संचालन गर्न पाउनुपर्ने बताउँछन् । उनका अनुसार प्रदेशभित्र सार्वजनिक सवारी संचालन गर्न दिने हो भने यात्रुलाई सहज हुन्छ । जिल्लाभित्र मात्र सवारी संचालन गर्दा लामो दुरिमा चल्ने गाडीका व्यवसायी थप मारमा पर्ने उनले बताए ।  

‘हाम्रो माग प्रदेशभर गाडी चलाउन देउ भन्ने हो,’ उनले भने, ‘त्यसो हुँदा यात्रुलाई पनि सहज हुन्छ ।’ उनका अनुसार जिल्लाभर संचालनको अनुमति पाउदा पृथ्वीमा आवद्ध १४ सय सवारी गुड्न पाउँदैनन् । तर प्रदेशमा संचालन अनुमति दिँदा तनहुँको मुग्लिन, स्याङजाको राम्दी र बागलुङ ढोरपाटनसम्म केही गुड्न पाउँछन् । ‘कम्तिमा प्रदेशभित्र संचालन गर्न दिने हो भने यात्रु र व्यवसायीलाई पनि केही सहज हुन्थ्यो,’ उनले भने, यी रुटमा संचालन गर्दा यात्रुलाई पनि केही सहज हुन्थ्यो ।’

जिल्लाभित्र मात्र चलाउदा यात्रुलाई असुविधा भएको उनले बताए । ‘कम्तिमा प्रदेशमा चलायो भने केही व्यवहारिक हुन्छ । प्रदेशभित्र चलाउन भन्यो भने तयारी हुन सकिन्छ,’ केसीले भने, ‘सरकारले व्यवसायीको माग सम्बोधन गर्ने पनि भनेको छ । बैंक वित्तीय संस्थाको समस्या हल भयो भने बाटो क्लियर हुन्छ ।’ उनका अनुसार पृथ्वीमा आवद्ध १४ सय सवारी छन् ।

प्रकाशित: ३१ असार २०७७ ०९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App