६ वैशाख २०८१ बिहीबार
अर्थ

लकडाउनले होटल र यातायात क्षेत्रमा करोडौं नोक्सानी

लकडाउन कारण सुनसान बनेको इलामको रोङ गाउँपालिकास्थित हिल उड रिसोर्ट। तस्बिर: भीम/नागरिक

साढे तीन महिनायताको लकडाउनका कारण मानिस आउ–जाउ शून्य हुँदा पर्यटकीय जिल्ला इलामका होटल र यातायात व्यवसायमा गम्भीर असर पुगेको छ। बैंकबाट ऋण काढेर लगानी गरिएका होटल र सवारी साधन ठप्प हुँदा व्यवसायीलाई करोडौं रुपैयाँको नोक्सान भएको छ।  

पर्यटक आउँदा खचाखच हुने होटल सुनसान छन् भने यात्रुले सधैं भरिपूर्ण देखिने सवारीसाधन व्यवसायीको घर–आँगनमै थन्किएका छन्। व्यवसाय नचल्दा यी क्षेत्रमा आश्रित हजारौंको रोजगारीसमेत गुमेको छ। कतिपय कामदार गरिआएको कामबाट पलायन भइसकेका छन्। मुखमा आउँदै गरेको ‘पर्यटन वर्ष सन् २०२०’ लाई लक्षित गरी खुलेका होटलको लगानी डुबेको छ। होटल व्यवसायीका अनुसार पर्यटन वर्ष लक्षित गरेरमात्रै पनि जिल्लाका होटलमा ३० करोड रुपैयाँ नयाँ लगानी थपिएको थियो। तर, निर्माण नसकिँदै लकडाउन भएपछि होटलहरूले उठ्नै नसक्नेगरी घाटा खानुपरेको व्यवसायीको गुनासो छ।

झापासँग जोडिएको जोरकलसदेखि पाँचथरसँग सीमा राँके बजारसम्म गएको वर्षदिनकै अवधिमा तीन दर्जनभन्दा बढी साना–ठूला होटल खुलेका छन्। कतिपय निर्माण चरणमै छन्। तर, लगानी गर्नेबित्तिकै व्यवसाय सञ्चालन गर्न नपाउँदा व्यवसायीलाई बैंकको ऋण तिर्न आपत् परेको होटल एसोसिएसनका जिल्ला अध्यक्ष देवी पौडेल बताउँछन्। ‘इलाममा त्यसै पनि पर्यटन व्यवसाय फस्टाउँदै गएकाले होटलमा ह्वात्तै लगानी बढेको थियो,’ उनले भने, ‘तर, लकडाउनले नयाँ र पुराना दुवैखाले व्यवसायीलाई नराम्रोगरी डुबाएको छ।’  

एसोसिएसनका अनुसार जिल्लामा साढे चार सय होटल तथा रेस्टुरेन्ट छन्। तीमध्ये ठूला ६०, मझौला दुई सय र सानाको संख्या एक सय ९० छ। यी होटल र रेस्टुरेन्टमा मात्रै दुई हजार तीन सय ७० जनाभन्दा बढीले रोजगारी पाएका थिए। ‘होटल व्यवसायमा मासिक करिब २२ करोड ६२ लाख रुपैयाँ घाटा भइरहेको छ,’ अध्यक्ष पौडेलले भने, ‘अब कतिपय होटल रेस्टुरेन्ट उठ्नै नसक्ने निश्चित छ। बचेका होटललाई पनि यो घाटा पूर्ति गर्न वर्षाैं लाग्छ।’ नयाँ व्यवसायीले एक करोडदेखि १० करोड रुपैयाँसम्म ऋण काढेर होटलमा लगानी गरेको एसोसिएसनले जनाएको छ। अध्यक्ष पौडेल भन्छन्, ‘होटलको भौतिक निर्माण गरिनसक्दै लगानी डुबेका व्यवसायी रातदिन राहत–सहुलियत खोजिरहनुभएको छ। तर, अहिलेसम्म कसैले पनि व्यवसाय सहज बनाउन सहज बाटो दिन सकेको छैन। भाडामा घर लिएर होटल चलाएका व्यवसायीको पीडा झन् उदेकलाग्दो छ।’ उनले व्यवसायीलाई कम्तीमा पनि ऋणको ब्याज सहुलियत गर्नु नितान्त आवश्यक भएको बताए।  

जिल्लाका यातायात व्यवसायीलाई पनि लकडाउन अवधिमा १५ करोड रुपैयाँभन्दा बढीको घाटा भएको अनुमान छ। व्यवसायीका अनुसार दिनमा कम्तीमा दुई हजार रुपैयाँ नाफा नभएसम्म कुनै सवारी साधन चल्न सक्दैनन्। पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी प्रालि अध्यक्ष गृष्म सुब्बा बैंकको ब्याज, सवारी साधनको बिमा, कर र त्यसमा आश्रित श्रमिकका लागि एउटा सवारीले दिनमा कम्तीमा दुई हजार रुपैयाँ बचत गर्नुपर्ने बताउँछन्। ‘सधैं हुने खर्च त लकडाउन अवधिभर पनि भइरहेकै छ,’ उनी भन्छन्, ‘तर, आम्दानी चाहिँ शून्य।’  

सरकारले निश्चित मापदण्ड र नियम तोकेर सार्वजनिक यातायातका साधन चलाउन अनुमति दिएको छ। तर, सर्वसाधारण यात्रु नै गाडी चढ्न नआउने गरेको उनले सुनाए। ‘लकडाउनअघि यही इलाममा दैनिक आठ सय हाराहारी सवारीसाधन चल्थे,’ उनले भने, ‘अहिले त्यसको एक तिहाई पनि चल्न सकेका छैनन्।’ अध्यक्ष सुब्बाले घरमा आइनखाइ ऋण लिएर नयाँ सवारी साधन किनेका व्यवसायी लकडाउनको सबैभन्दा ठूलो मारमा परेको सुनाए। ‘गाडीमै वर्षाैंसम्म श्रमिक भएपछि ऋण÷सापट गर्दै, भएको घर–जग्गासमेत धितो राखेर नयाँ सवारीसाधन किन्ने ८० प्रतिशतजति व्यवसायी छन्,’ उनले भने, ‘मालिक पनि आफैं, श्रमिक पनि आफैं भएका सवारी साधनका सञ्चालक नराम्ररी फसेका छन्।’  

यातायात व्यवसायीले बैंकबाट लिएको ऋणमा जरिमानामात्र नभई ब्याज छुटको सुविधा माग गरेका छन्। ‘लामो समय कोरोना कहरले देश नै ठप्प भयो, सबै क्षेत्र डुबेकै छ तर सबैभन्दा ठूलो मार यातायात क्षेत्रमै छ,’ व्यवसायी सुब्बाले भने, ‘सरकारले ब्याजमात्रै छुट दिँदा पनि व्यवसायीको घाटा पुर्ताल चाहिँ हुँदैन।’ सवारी साधनका श्रमिक लामो समय कामविहीन हुँदा उनीहरूलाई घर–परिवार चलाउनै सकस भइसकेको व्यवसायीले जनाएका छन्। सवारीका कतिपय श्रमिक भने सडक, भवन, पुललगायत निर्माण क्षेत्रमा समेत गएर रोजीरोटी चलाउन थालेका छन्।  

लकडाउन अवधिमा निजी सवारीका साधन ‘अनुमति’ लिँदै यात्रु बोकेर हिँड्दा सार्वजनिक चाहिँ ठप्प थिए। निजी सवारीले अहिले पनि मोटो भाडा लिएर लामो दूरीमा यात्रुसमेत ओसारिरहेका छन्। ‘जोखिमबाट बच्न हामीले सहयोग गर्नुपर्छ, गरेकै छौं। तर, व्यवसायीमाथि परेको पीडामा सरकारले केही सम्बोधन गरिदेओस् भन्ने सबै व्यवसायीको चाहना छ,’ अध्यक्ष सुब्बाले सुनाए। लकडाउनयता जिल्लाका सन्दकपुर, अन्तुडाँडा, माइपोखरी, कन्यामलगायत सबै पर्यटकीय क्षेत्र ठप्प छन्। पर्यटक नआउँदा होटल, यातायातलगायत सबै क्षेत्रमा आर्थिक क्षति पुगेको छ।  

जिल्लाका व्यवसायीले आफूहरूलाई लकडाउन अवधिभरको घरभाडामा पूर्ण छुट तथा विशेष व्यवस्था गर्न माग पनि गरेका छन्। इलाम उद्योग वाणिज्य संघले लकडाउनका कारण भएको चरम आर्थिक नोक्सानीको सम्बोधन हुनेगरी कार्यक्रम घोषणा गर्न प्रदेश र संघीय सरकारसँग माग गरेको छ।  

संघले जिल्ला प्रशासन कार्यालयमार्फत् सरकार र सम्बन्धित निकायलाई पठाएको ध्यानाकर्षणपत्रमा बिक्रीका लागि राखिए पनि लकडाउनका कारण नष्ट भएका सामग्रीको समेत क्षति सम्बोधन गर्न माग गरिएको छ। ‘हामीले सरकार र बैंकहरूलाई समेत व्यवसायीको आर्थिक नोक्सानी सम्बोधन गर्न माग गरेका छौं,’ संघ अध्यक्ष ईश्वर चिपालुले भने, ‘कुनै सहुलियत नपाए जिल्लाको जुनसुकै व्यवसाय वर्षाैं पछि धकेलिने निश्चित छ।’

प्रकाशित: ३१ असार २०७७ ०४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App