८ वैशाख २०८१ शनिबार
अर्थ

पाँच लाख घरको पुनर्निर्माण सकियो

सिन्धुपाल्चोकको झ्यादीटोलमा निर्मित एकीकृत बस्ती। तस्बिर: नेपाल पुनर्निर्माण प्राधिकरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये पाँच लाखभन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ। संघीय संसद्को विकास तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच लाख सात हजार ६ सय २३ घरको पुनर्निर्माण सम्पन्न भएको र दुई लाख दुई हजार ६ सय ४३ घर पुनर्निर्माणको क्रममा रहेको बताए। घर पुनर्निर्माणका लागि ७ लाख ८६ हजार एक सय ४४ घरधनीले अनुदान सम्झौता गरेका थिए। त्यसमध्ये ६५ प्रतिशतको घर पुनर्निर्माण सम्पन्न भएको छ। २५ प्रतिशत पुनर्निर्माणको क्रममा छन्।

भूकम्पबाट सबैभन्दा धेरै मानवीय क्षति पुगेको सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा धेरै ७० हजार ९७ घर पुनर्निर्माण सकिएको छ। नुवाकोटमा ६४ हजार एक सय २४ र २०७२ वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा जिल्लामा ५६ हजार घर पुनर्निर्माण सम्पन्न भएका छन्। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले ६ लाखभन्दा बढी गुनासाहरु सम्बोधन गरेको जानकारी दिँदै प्राधिकरणको निर्णयमा चित्त नबुझे पुनरावेदन समितिमा उजुरी दिन सकिने बताए।  

उनले भूमिहीन र सुकुमबासी लाभग्राहीका बारेमा सबै टुंगो लागिसकेको र जोखिमयुक्त बस्तीका लाभग्राहीलाई सुरक्षित ठाउँमा जग्गा खरिद तथा व्यवस्थापन भएको जानकारी दिए। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एकीकृत बस्ती पुनर्निर्माणका लागि ८६ वटा प्रस्ताव प्राप्त भएकोमा भूकम्प प्रभावित क्षेत्रका विभिन्न ठाउँमा आकर्षक एकीकृत बस्तीहरु बन्दै गरेको बताए। समितिको बैठकमा प्राधिकरणले विद्यालय पुनर्निर्माण, पुरातात्विक महत्वका सम्पदा, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन पुनर्निर्माणबारे जानकारी गराएको थियो।

समिति सभापति कल्याणीकुमारी खड्काले निजी आवास, विद्यालय पुनर्निर्माण राम्रोसँग अघि बढेको भन्दै सम्पदा पुनर्निर्माणलाई अझ छिटो अघि बढाउन निर्देशन दिइन्।  

उनले प्राधिकरणको सयमावधिबारे छिट्टै टुंगो लगाउनुपर्नेमा जोड दिइन्। प्राधिकरणको म्याद आगामी पुसमा सकिँदैछ। भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ मा प्राधिकरणको म्याद सरकारले आवश्यक ठाने एक वर्ष थप्न सक्ने प्रावधान छ। बैठकमा सांसदहरुले गुम्बा पुनर्निमौणमा विशेष ध्यान दिन प्राधिकरणलाई आग्रह गरे।

प्राधिकरणले चार सय दुई गुम्बाको मर्मतसम्भार भएको र पुनर्निर्माण गर्नुपर्ने एक सय १७ वटाका लागि आगामी आर्थिक वर्षमा कार्यक्रम परेको जनाएको छ। बैठकमा सांसदहरु जिपछिरिङ लामा, यज्ञराज सुनुवार, रामबहादुर विष्ट, गणेश पहाडी, रंगमती शाही, गणेश पहाडीले निजी आवास, सम्पदा, धरहरा, रानीपोखरी, सिंहदरबार पुनर्निर्माण लगायत विषयमा जिज्ञासा राखेका थिए।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विकास समिति लगायत सबैको सहयोगले पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल भएको भन्दै राम्रा काममा अपनत्व लिन र कमी–कमजोरी सुधारका लागि सुझाव दिन आग्रह गरे।

प्रकाशित: २६ असार २०७७ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App