८ वैशाख २०८१ शनिबार
अर्थ

फेवा किनारमा ‘फिसिङ’ भीडभाड

पोखरा फेवाताल किनारमा बल्छी खेल्न पुगेका युवाहरुको भीड । तस्बिरः उमेश पुन/नागरिक

सिन्धुलीका बिमल तामाङ, ३५, लकडाउन अघि दैनिक ज्यालादारीमा काम गर्थे । घर बनाउने काममा व्यस्त हुने उनी त्यो बेला कामका लागि कहिले कता त कहिले कता दौडधुप गरिरहन्थे । कोरोना भाईरस महामारीसँगै उनीजस्ता धेरै युवाको काम खोसियो । भाइरस संक्रमणकै त्रासले गरिएको लकडाउनले त उनी आर्थिक हैसियतले झनै थलिए । लकडाउन केही खुकुलो भईसक्दा पनि उनको दैनिकी पूर्ववत अवस्थामा फर्केको छैन ।  

दिनभर फुर्सदिला भएका उनी अचेल फेवातालमा बल्छी खेल्न पुग्छन् । बल्छी खेलेर माछा समाएर दिन कटाउन थालेको धेरै दिन त भएको छैन, तरपनि माछा समाउने चाख भने उनमा बढ्दै गएको छ । ‘आज त आधाकिलो जति माछा समाएको छु,’ फेवाकिनारमा बल्छी खेलिरहेका तामाङले भने, ‘माछा समाउँदा समय बितेको पत्तै हुने रहेनछ ।’ तामाङले भने बल्छीमा पारेका माछा बेलुकी घरमा लगेर खाने समेत गरेका छन् । माछाको आहारालाई पोको पारेर तालमा हु¥याउँदै बल्छीमा माछा अल्झाउने काइदा उनले अपनाएका छन् ।

कोरोना महामारीका यतिबेला फेवाताल किनारमा बल्छी खेल्ने युवाहरुको भीड देखिन्छ । बिहानैदेखि बेलुकीसम्म ताल किनारमा बल्छी खेल्ने युवाहरुको जमात देखिन्छ । ती मध्ये अधिकांशले आधुनिक बल्छी प्रयोग गरेका हुन्छन । बल्छीमा फसाँएका मध्ये कतिपयले माछा खाने गरेका छन् भने केहीले रमाइलोका लागि मात्र समाउने गर्छन् । बल्छीमा फँसेका माछा तालमै छाड्ने पनि गरिन्छ । बल्छी खेल्न पुगेका सबै युवाले माछा खाँदैनन, बरु, बल्छीमा माछा फँसाउने गरि साथीहरुबीच प्रतिश्पर्धा गर्छन ।  

फेवाताल किनारको ड्यामसाड, हल्लनचोक, सेदी, खपौदी, पामे क्षेत्रमा तालमा बल्छी खेल्ने युवाहरुको भीडभाड देखिन्छ । कतिपय तालपारिको किनारमा पनि बल्छी खेल्न पुग्छन् । फेवा बाहेक बेगनासमा पुग्ने युवा पनि उत्तिकै हुन्छन् । त्यस्तै फुस्रेखोला, फेवातालको सिरान क्षेत्रको घाँटीछिनासम्म पनि बल्छी खेल्न पुग्छन् । त्यसबाहेक मर्दीखोलासम्म पनि युवाको भीड पुगिसक्छ । पोखरा आसपासमा मात्र नभई स्याङजा, तनहुँका नदीमा पनि बल्छी खेल्न जाने युवाहरु प्रयाप्त हुन्छन् ।  

पोखराको एक बैंकका जागिरे समेत रहेका सैलेश रायमाझि माछा समाउनमा निकै नै सौखिन छन् । उनी पोखरा एंगलर्स (ब्लनभिचक) क्लवका सचिव पनि हुन् । यो क्लव २०६८ मा स्थापना भएको हो । क्लवले बल्छीलाई खेलको रुपमा विकास गर्ने योजना बनाएको छ । माछा समाउने गरि खेलिने खेलको यो नेपालको एकमात्र क्लव भएको रायमाझिले बताए । उनका अनुसार क्लवले माछा मार्ने भन्दा पनि संरक्षण गर्नमा बढि ध्यान दिन्छ ।

रायमाझि माछा समाउनमा निकै नै सौखिन छन् । त्यसैले फुर्सद मिल्नासाथ आफुजस्ता सौखिन साथीको समुह बनाएर पोखरा बाहिरका क्षेत्रमा पनि माछा समाउन पुग्ने गरेका छन् । त्यसबाहेक क्लवमार्फत नै माछा समाउने प्रतियोगिता पनि आयोजन गर्दै आएको उनले बताए । 

‘फेवातालमा बल्छी लिएर जाने मध्ये धेरैले खानेगरि माछा मार्छन । तर, हामी माछा मार्दैनौ, समाउन प्रतिश्पर्धा गर्छौ र पछि ताल वा खोलामै छाड्छौ,’ उनले भने, ‘हामीले माछा मार्ने होईन, समाउने हो । माछा मार्ने भन्ने त हाम्रो क्लवको विधानमै छैन ।’ पानीको चिसो कम हुँदै गएपछि बल्छी प्रतियोगिता राख्ने गरिएको उनले बताए । बेगनासतालमा खुला बल्छी स्पर्धा नै हरेक वर्ष हुने गरेको उनले सुनाए । ‘क्लवले बल्छीलाई खेलको रुपमा विकास गर्न चाहेको हो,’ उनले भने, ‘जथाभावि माछा मार्ने होईन भनेर चेतना जगाउने काम पनि गर्दै आएका छौ ।’

उनको अनुभवमा फेवाताल किनारमा बल्छी लिएर पुग्ने युवाको भीड लाग्ने गरेको छ । पोखरा क्षेत्रमा मात्र नभई नेपालका ठुला नदीहरुमा बल्छी खेल्नकै लागि भनेर विदेशी पाहुना समेत आउने गरेको उनको भनाई छ । कर्णालि, भेरी, तमोर, सेतीमा बल्छी खेल्नकै लागि विदेशी पाहुना आउने गरेका छन् । ‘बल्छीलाई विकास गर्न नसकेर हो । नत्र बल्छी खेल्ने पनि रोमाञ्चक खेल हो,’ उनले भने, ‘बल्छीलाई खेलको रुपमा विकास गर्न जरुरी छ ।’

मत्स्य अनुसन्धान केन्द्रका प्रमुख इकवाल हुसेन पछिल्लो समय युवाहरु जथाभावि बल्छी खेल्न ताल र खोलामा पुग्दा भुरा नोक्सान हुने गरेको बताउँछन् । ‘बल्छी खेल्ने निश्चित ठाउँ तोकिनुपर्छ, जहाँपायो त्यही बल्छी हान्न दिनु हुँदैन,’ हुसेन भन्छन, ‘बल्छी खेलेर रमाउने मात्र नभई समाएका माछा मारेर खाने गरेकोले पनि समस्या छ ।’ बल्छी खेल्नेलाई अहिले कसैले नियन्त्रणमा लिन नसकेको उनले बताए । ‘कतिपय युवाहरु बल्छी खेलेर रमाउन पुग्छन । कतिपयले भने मनोरञ्जन भन्दा माछा संकलन गर्न खोज्छन । कतिपयले त माछा मारेर जिविका चलाउँछन,’हुसेन भन्छन, ‘तर अहिले जथाभावि भएको छ । यो राम्रो होइन । युवाहरु मनोरञ्जन हुने भन्दै जथाभावि बल्छी खेल्न पुग्छन् ।’  

बल्छी खेल्नका लागि लाइसेन्स लिनुपर्छ । स्थानीय तहको शिफारिसमा मत्स्य विकास केन्द्रले लाइसेन्स दिने गर्छ । फेवा मत्स्य विकास केन्द्रले बल्छीकै लागि भनेर एकसय जति लाइसेन्स दिलाइसकेको छ । व्यावासयिक माछा पालनमा भने भिन्दै प्रावधान रहेको उनले बताए । ‘अहिले त लाइसेन्स नलिएका व्यक्तिले पनि समस्या थपिएको छ,’ उनले भने, ‘यसमा स्थानीय तहले पनि ध्यान दिनुपर्छ ।’ अहिले फेवा, बेगनास मात्र नभई अरु खोलामा बल्छी खेल्न पुगेका व्यक्तिसँग लाइसेन्स छ वा छैन भनेर स्थानीय तहले हेर्नुपर्ने उनले बताए । ‘सौखिन व्यक्तिलाई पनि लाइसेन्स दिइन्छ,’ उनले भने ।  

बल्छी खेल्न पुगेका युवापुस्तामा प्रशिक्षण नहँुँदा जहाँपायो त्यही बल्छी खेल्ने गरिएको उनले बताए । जहाँपायो त्यहाँ बल्छी खेल्दा भुरा नोक्सान हुने सम्भावना रहको हुसेनले बताए। ‘युवापुस्तालाई प्रशिक्षण छैन । कुन समयमा माछा मार्ने, बल्छी खेल्ने भन्ने ज्ञान छैन । त्यसैले गर्दा अप्ठेरो परेको छ,’ उनले भने, ‘हुर्कन लागेका भुरा बल्छीमा पर्न सक्छन । त्यसले असर पर्छ ।’

प्रकाशित: २३ असार २०७७ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App