८ वैशाख २०८१ शनिबार
अर्थ

लकडाउनले धकेलिने भो धरहरा पुनर्निर्माण

हालसम्ममा १७ तला ढलान भइसक्नुपर्नेमा १० तलामै काम रोकिएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सन् २०२० अक्टोबरभित्रै धरहरा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो। गत चैत ११ गतेदेखि भएको लकडाउनले धरहरा पुनर्निर्माणको कार्य तोकिएको समयभित्रै सम्पन्न नहुने लगभग निश्चित भएको छ।  

लकडाउनकै कारण धरहरा पुनर्निर्माणको काम लगभग एक वर्ष धकेलिने सम्भावना बढेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धर लकडाउन भएसँगै धरहरा पुनर्निर्माणको गति सुस्त भएको बताउँछन्।  

‘लकडाउन हुनुअघिसम्म धरहरामा दैनिक तीन सयभन्दा धेरै कामदारले काम गर्थे,’ उनले भने, ‘लकडाउनका कारण अधिकांश कामदार घर फर्किएसँगै अहिले धरहरा निर्माणको गति निकै कम भएको छ। अहिले बाँकी रहेका ४० जना कामदारले जसोतसो काम गरिरहेका छन्।’  

सम्पदाविद मानन्धरले लकडाउन नभएको भए धरहराको १७ तलाको ढलान भइसक्ने दाबी गरे। ‘लकडाउन नभएको भए अहिलेसम्म १७ तलाको ढलान भइसक्ने थियो,’ उनले भने, ‘१० तलामै काम रोकिरहेको छ।’  

सम्पदाविद मानन्धर धरहरा पुनर्निर्माण तोकिएको समयभित्रै सम्पन्न नहुने स्वीकार गर्छन्। ‘लकडाउन र अन्य कारणले तोकिएको समय सीमाभित्रै निर्माण सम्पन्न नहुने लगभग निश्चित भइसक्यो,’ उनले भने, ‘लकडाउनले पारेको प्रभाव र निर्माण व्यवसायीले म्याद थपको लागि माग गर्ने निवेदन र अन्य विविध पक्षलाई ध्यान दिएर म्याद थपको  निर्णय हुनेछ।’  

उनले कति म्याद थप गर्ने भन्ने विषय अहिल्यै टुंगो लागिनसकेको बताए। ‘म्याद थप गर्नुपर्ने देखिन्छ। तर अहिल्यै कति थप गर्ने भन्ने टुंगो लागेको छैन,’ उनले भने। धरहरा निर्माण सुरु गरेको २२ महिना बित्दा अहिलेसम्मको भौतिक प्रगति ४० प्रतिशत मात्रै छ।  

सम्पदाविद मानन्धरले ठेकेदार कम्पनीले तराईबाट कामदारको पिसिआर जाँच गरेर ल्याउने तयारी गरिरहेको बताए। ‘अहिले पनि धरहरा निर्माणमा कामदार अभाव छ। कामदार अभावलाई मध्यनजर गर्दै पिसिआर जाँच गरेर थप कामदार ल्याउने तयारी भइरहेको छ।’ प्राधिकरणका अनुसार अहिलेसम्म धरहरा निर्माणमा एक अर्ब रूपैयाँभन्दा धेरै खर्च भइसकेको छ।  

धरहरा पुनर्निर्माणको ठेक्का जिआइइटिसी–रमन जेभीले तीन अर्ब आठ करोड रूपैयाँमा पाएको हो। तर ठेकेदार कम्पनीको ढिलासुस्तीले पनि धरहरा निर्माणले गति नलिएको प्राधिकरणले जनायो। ‘यसअघि प्रत्येक महिना दुई तला ढलान हुँदै आएको थियो,’ सम्पदाविद मानन्धरले भने, ‘अहिले सीमित कामदारले पार्किङको काम गरिरहेका छन्।’

धरहरा बाहिरबाट ११ तल्लाको देखिए पनि भित्री भाग २२ तल्लाको हुनेछ। २०७२ सालको भूकम्पले धरहरा भत्काएपछि सरकारले नयाँ शिराबाट यसको निर्माण थालेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअघि १२ पुसमा धरहराको शिलान्यास गरेका थिए।  

पुरानो धरहरादेखि करिब १० मिटर पूर्वतर्फ नयाँ निर्माण गरिँदैछ। गजुरसहित नयाँ धरहराको उचाइ ७९.९ मिटर हुनेछ। ‘बाहिरबाट हेर्दा नयाँ धरहराले पनि पुरानोकै झल्को दिनेछ,’ सम्पदाविद मानन्धरले भने, ‘तर अहिले निर्माणाधीन धरहरा पहिलाको भन्दा मोटाइ धेरै र बलियो समेत हुनेछ।’ प्राधिकरणले भूकम्पले क्षतिग्रस्त भएर बचेको धरहराको ठुटोलाई भूकम्प स्मारकको रूपमा सिसाको फ्रेममा राख्ने जनाएको छ।  

प्राधिकरणका अनुसार अब बन्ने धरहरा करिब ४२ रोपनी क्षेत्रफलमा फैलिनेछ। धरहराको तल्लो भागमा तीन तलाको पार्किङ हुनेछ। अहिलेसम्म पार्किङ निर्माणको काम पनि ४० प्रतिशत सम्पन्न भइसकेको छ। त्यहाँ तीन सय ४७ वटा चारपांग्रे पार्क गर्न सकिनेछ। धरहरा परिसरमा आकर्षक बगैंचा, संग्रहालय, रंगीन जलफोहोरा, प्रदर्शनी, स्मारिका पसललगायत संरचना राखिनेछ।

प्राधिकरणले गोश्वरा हुलाक कार्यालयको भवन हटाएर अहिले पार्कलगायत संरचना बनाउने काम गरिरहेको छ। भीमसेन थापाले सन् १८३२ मा पहिलोपटक ११ तले धरहरा निर्माण गरेका थिए। १९९० सालको भूकम्पले ११ तल्ले धरहरा क्षतिग्रस्त भएपछि नौ तल्लामा सीमित गरेर पुनर्निर्माण गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि ‘मै बनाउँछु, मेरो धरहरा’ अभियानमा एक महिनाको तलब दिएका थिए।

प्रकाशित: २३ असार २०७७ ०३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App