२७ श्रावण २०७७ मंगलबार
अर्थ

मेगा बैंकको संयुक्त कारोबार सूरु

पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरेको मेगा बैंक नेपालले संयुक्त कारोबार सुरु गरेको छ।  पोखरामा एक समारोहका बीच गण्डकी विकास बैंकलाई मेगा बैंकमा प्राप्तिको घोषणा गरेपछि संयुक्त कारोबार सूरु गरेको बैंकले जनाएको छ।  

सो अवसरमा गण्डकी प्रदेश प्रमुख अमीक शेरचनले ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारालाई सार्थक बनाउँदै मध्यमवर्गीय नेपालीको बैंक बन्न मेगा बैंकलाई सुझाव दिए।  

छोटो समयमै मेगा बैंक देशकै अग्रणी बनेको बताउँदै उनले आगामी दिनमा पनि व्यावसायिक सफलताका लागि शुभकामना दिए।  

त्यसैगरी, सो अवधसरमा गण्डकी प्रदेश सभाका सदस्य बिन्दुकुमार थापा र पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जिसीले गण्डकी विकास बैंकलाई प्राप्ति गरेकोमा मेगा बैंकलाई बधाई दिए।  सोही अवसरमा साबिक गण्डकी विकास बैंक सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको थियो।  कार्यक्रममा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले गण्डकी विकास बैंकलाई प्राप्ति गरी आजबाट संयुक्त कारोबार गर्न पाउँदा उत्साहित भएको बताए।  

९५ वटा शाखा कार्यालय रहेको गण्डकी विकास बैंक मेगा परिवारमा समाहित भएपछि मेगा बैंक अब पूँजी, व्यवसायको आकार र शाखा सञ्जालमा देशकै ठूलो मध्येको एक वाणिज्य बैंकको रुपमा स्थापित भएको बताए।  

मेगा बैंक र गण्डकी विकास बैंकको शेयर आदान प्रदान अनुपात १:१ रहेको उनले बताए। कार्यक्रममा बोल्दै साबिक गण्डकी विकास बैंक सञ्चालक समितिका अध्यक्ष सुशील गौचनले मेगा बैंकमा समाहित भएकाले खुसी लागेको बताए।  

गण्डकी विकास बैंकले स्थापनाको छोटो सयममै गण्डकी प्रदेशसहित विभिन्न प्रदेशका ग्राहकहरुको मन जित्न सफल भएको बताउँदै उनले अब त्यो विश्वास र माया मेगा बैंकमा सरेको बताए।  

मेगा बैंक सञ्चालक समितिका सदस्य एवं मर्जर समितिका संयोजक मदनकुमार आचार्यले लकडाउनको कठिन परिस्थितिमा पनि गण्डकी विकास बैंक प्राप्ति प्रक्रियालाई सफल भएको बताउँदै उनले प्राप्ति प्रक्रियामा सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवाला, नेपाल राष्ट्र बैंक, मेगा बैंक तथा गण्डकी विकास बैंकका सञ्चालक समिति र शेयरधनीहरुलाई आभार व्यक्त गरे।  

कार्यक्रममा मेगा बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले गण्डकी प्रदेशका ११ वटै जिल्लामा शाखा कार्यालय विस्तार भएको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि गण्डकी प्रदेशमा मात्रै मेगा बैंकको शाखा सञ्जाल ४८ पुगेको बताईन्।  

अब मेगा बैंकको शाखा सञ्जालका हिसाबले वागमती प्रदेशपछि गण्डकी प्रदेश दोस्रो नम्बरमा बताउँदै उनले उत्कृष्ट व्यवसाय गरिरहेको गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकको ओज बढेको मेगा बैंकको शाखा सञ्जाल अब ५८ वटा जिल्लामा फैलिएको उनले बताईन्।  

मेगा बैंक देशका अन्य वाणिज्य बैंकमध्ये मेगा बैंक निक्षेपका आधारमा ११औं स्थान, कर्जाका आधारमा १२ औं र नाफाका आधारमा ११औं स्थानमा रहेको उनले बताईन्।  हाल  बैंकका कर्मचारीको संख्या १२ सयबाट १८ सय पुगेको छ।    

९५ वटा शाखा सञ्जाल रहेको गण्डकी विकास बैंकको चुक्ता पूँजी २ अर्ब ७५ करोड रहेको थियो।  विसं २०७७ चैत्र मसान्तको एकीकृत तथ्याङ्कका आधारमा मेगा बैंकको निक्षेप १ खर्ब २५ अर्ब भन्दा बढी र कर्जा १ खर्ब ९ अर्ब भन्दा बढी रहेको छ।  

ग्राहकको विश्वास जित्दै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०१९’ पुरस्कारबाट समेत सम्मानित भएको मेगा बैंकको ग्राहक संख्या अब ११ लाख भन्दा बढी भएको छ।  बैंकका शाखा संख्या २ सय ६ वटा, एक्सटेन्सन काउन्टर ३० वटा र एटीएम १ सय ४२ पुगेका छन्।  

 

प्रकाशित: २२ असार २०७७ १४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App