८ वैशाख २०८१ शनिबार
अर्थ

आलुखेती पढ्दै जुम्ली महिला

पातारासी गाउँपालिका ५ को इन्द्रेणी आलुबाली कृषक पाठशालाका ३२ जना महिला अहिले आलुखेतीका बिषयमा अध्ययन गर्छन्। उनीहरु गाउँमै आलुखेती र आलु खेतीको महत्वका बारेमा पढ्छन्। प्रयोगात्मक अभ्यास पनि गर्छन्। यो क्षेत्र आलु खेतीका लागि निकै उपयुक्त मानिने भएकोले आलु कृषक पाठशाला स्थापना गरिएको हो।

यो क्षेत्रमा मुल बाली आलु भए पनि आधुनिकरण भने हुन सकेको छैन। न त किसानलाई रोग कीराको थाहा छ,  नत उपचार  विधि नै।  उनीहरुलाई सत्रु जीव र मित्र जीवको बारेमा थाहा पनि छैन। यति मात्र होइन कृषकलाई आलु लगाउने विधि नै थाहा नभएको अवस्थामा यो कृषक पाठशाला एक राम्रो माध्यम बनेको छ।  

पाठशालामा २५० बर्गमिटर क्षेत्रफलमा परम्परागत विधिबाट र २५० बर्गमिटर क्षेत्रफलमा आधुनिक विधि प्रयोग गरी ५०० बर्गमिटर क्षेत्रफलमा १५० केजी आलुको विउ लगाएर कृषक पाठशाला चलिरहेको छ। यस पाठशालामा आलुमा लाग्ने रोगकिरा, रोगकिराको उपचार विधि र कस्तो प्रकारको माटोमा आलु फल्छ भन्ने विषयमा कक्ष चल्छ। जैविक विषादी बनाउने तरिका, परम्परागत विधि र  आधुनिक विधिबाट आलु लगाउदा हुने फाइदाका बिषयमा समेत पाठशालामा पढाइने पेस नेपालका कार्यक्रम संयोजक हेमराज भट्टले जानकारी दिए।  

दुवै विधिको तुलनात्मक अध्ययन गरी उपयुक्त विधिलाई प्रयोग गर्ने गरिन्छ।   सामूहिक रुपमा खोजपूर्ण सिकाइका तरिकाहरु, कृषकले आर्जन गरेका ज्ञान सिप अनुभवलाई प्रवद्र्धन गर्ने गर्दै एक आपसमा आदानप्रदान हुन्छ।  भित्ता बिनाको पाठशाला भएकाले प्रत्यक्ष खेतवारीमा गई अभ्यास र अवलोकन गर्ने गरिएको संयोजक भट्ट बताउँछन्।  पाठशालाबाट स्वच्छ बाली उत्पादन गर्ने, सहभागीतामुलक बाली उत्पादन र बजारीकरण गर्ने, जनशक्तिलाई दक्ष र क्षमतावान बनाउने कार्य गरिन्छ। गाउँमै आलु पाठशाला चलाएर आलुखेतीका बारेमा जानकारी हाँसिल गर्न पाँउदा स्थानीय महिला निकै उत्साहित छन्।  

यो पाठशाला कारितास जर्मन आर्थिक सहयोग तथा कारितास नेपाल र पेस नेपालको साझेदारीमा सञ्चालित एकीकृत खाद्य सुरक्षा, विपद् जोनिम न्युनिकरण र जलवायु परिवर्तन अनुकुलन परियोजनाले सञ्चालन गरेको हो। आलु खेती व्यवसायीक रुपमा गरेर आयआर्जन गर्न सघाउ पुगेको स्थानीय बताउँछन्।  

पाठशालामा अध्ययनरत सुनिता बुढा पछिल्लो समयमा गुणस्तरीय आलु खेतीका लागि सक्षम भएको बताउँछिन्। उनले भनिन्,‘पहिले आलु खेती गर ेपनि व्यवसायीक रुपमा गर्न सकेका थिएनौँ। उत्पादित आलु कुहिएर खेर जाने डर हुन्थ्यो। अहिले बजारीकरण र गुणस्तरीय उत्पादनमा सचेत भएका छौँ। ’ यहाँका महिला आलुखेतीबाट आत्मनिर्भर हुन थालेका छन्। पाठशालामा आलुका परिकार बनाउने बारेमा समेत कक्ष सञ्चालन हुुने गर्छ। पाठशालामा सिकेका आलुखेतिका विषय बाहिरका किसानसंग साट्न थालेका छन्।  पाठशालाको सहजीकरण खड्क रानाले गरेका छन्। सहजकर्ता रानाले सहज र सरल भाषा शैलीमा पढाउने गरेको बताए।  

उनले भने,‘ खेतबारीमै पढ्छौँ। खेतबारीमै अभ्यास गर्छौँ। आलुसंग खेल्छौँ आलुसंग रमाएर विभिन्न पाटा पक्ष केलाउँछौँ। ’ आलु उत्पादन गर्न सिक्छौँ।’ निकै रमाएर आलु पाठशाला चल्ने गरेको उनी बताउँछन्।

प्रकाशित: २२ असार २०७७ ०५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App