१५ चैत्र २०८० बिहीबार
अर्थ

नौ सय मेट्रिक टन ‘इमलसन’ विस्फोटन गरिने

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको स्केच।

सडक अन्तर्गत मुलुकमा पहिलोपटक बनाउन थालिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्गका लागि करिब नौ सय मेट्रिक टन इमलसन एक्सप्लोसिभ (विस्फोटक पदार्थ) प्रयोग गरिने भएको छ। उक्त विस्फोटक पदार्थ प्रयोग गरेर  २.७८ किलोमिटर लामो सुरुङमार्ग निर्माण हुनेछ।  

विस्फोटक पदार्थ खरिदका लागि गृह मन्त्रालयले अनुमति दिएको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ। यसअघि सुरुङमार्गमा प्रयोग हुने विस्फोटक पदार्थ खरिद गर्न नेपाली सेनाले आयोजनालाई आग्रह गर्दै आएको थियो। तर निर्माणको ठेक्का लिएको जापानी कम्पनीले सुरुङमार्ग निर्माणका लागि सेनाले तयार पारेको विस्फोटक पदार्थ ढुक्क भएर खरिद गर्न नसकिने दाबी गर्दै आएको थियो।  

सेनाले आफ्नै कारखानामा तयार पारेको र ठेकेदार कम्पनीले अन्यत्रबाट खरिद गर्नुपर्ने अडानले गर्दा केही समय अलमलमा परेको कार्यलाई अघि बढाउन सहज भएको आयोजनाले जनाएको छ। ‘गृहले विदेशबाट विस्फोटक पदार्थ ल्याउन सहमति दिएपछि काममा सहज भएको छ,’ आयोजना प्रमुख रुपक जोशीले भने। नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको जिम्मा जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको छ।  

सेनाले तयार पारेको विस्फोटक पदार्थ प्रयोग गर्ने÷नगर्नेबारे आयोजना, ठेकेदार कम्पनीका पदाधिकारी तथा सैनिक अधिकारीबीच पटकपटक छलफल भएको थियो।  

नागढुंगा सुरुङमार्गमा सेनाले आफ्नो उद्योगमा तयार हुने विस्फोटक पदार्थ प्रयोग गर्न आग्रह गर्दै आए पनि ठेकेदार कम्पनीले सेनाले तयार गर्ने विस्फोटक पदार्थप्रति  चित्त बुझाउन सकेको थिएन। ठेकेदार कम्पनीले नेपाली सेनाले तयार पारेको विस्फोटक पदार्थलाई ‘खुला स्थानमा विस्फोटन गराउन मिल्ने’ भन्दै  प्रयोग गर्न आनाकानी गरिरहेको थियो।  

आयोजनाका अनुसार ठेकेदार कम्पनीले आवश्यक पर्ने विस्फोटक पदार्थमध्ये तत्काल तीन सय मेट्रिक टन विदेशबाट ल्याउने अनुमति पाएको छ।

सडक निर्माणमा प्रयोग गरिने विस्फोटक पदार्थ नेपाली सेनाले सुनाखरीमा बनाउँदै आएको छ। यतिखेर देशभरिका सबै सडकमा चाहिँदा अधिकांशले सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग गर्ने गर्छन्। नागढुंगा सुरुङमार्गका लागि कम्तीमा नौ सय टन इमलसन एक्सपोलिसिभ, ६ लाख डेटोनेटर र ६ लाख मिटर डेटोनेटरिङ कर्ड आवश्यक पर्ने बताइएको छ ।  

आयोजनाका अनुसार ठेकेदार कम्पनीले आवश्यक पर्ने विस्फोटक पदार्थमध्ये तत्काल तीन सय मेट्रिक टन विदेशबाट ल्याउने अनुमति पाएको छ। ‘सेनाले तयार पारेको विस्फोटक पदार्थ पनि सुरुङमार्गमा परीक्षाण गर्छौं,’ आयोजनाका एक अधिकारीले भने, ‘सुरुमै सुरुङमार्गमा परीक्षण नगरिएको विस्फोट पदार्थ प्रयोग गर्न अप्ठेरो भएको हो।’ सुरुङमार्गको काम आधा सम्पन्न भएपछि सेनाले तयार पारेको विस्फोटक पदार्थ प्रयोग गरिने बताइएको छ। ठेकेदार कम्पनीले अहिलेको भारतबाट विस्फोटक पदार्थ ल्याउने तयारी गरेको छ। सैन्य प्रयोजन र विकास निर्माणको काममा प्रयोग हुने विस्फोटक पदार्थ विदेशबाट ल्याउँदा अनिवार्य रूपमा गृह मन्त्रालयको स्वीकृति लिनुपर्छ।  

त्यस्तै केही दिनअघि सुरुङमार्गको जग्गा मुआब्जा विवाद समाधान  भएको थियो। निर्माण कार्य थालेको आठ महिनादेखि मुआब्जा विवाद टुंगोमा नपुग्दा समस्या भइरहेको थियो। सरकारले धादिङतर्फको गुठीको जग्गा उपभोग गर्नेलाई मूल्यांकनको ५० प्रतिशत रकम क्षतिपूर्ति दिने निर्णय गरेपछि विवाद साम्य भएको हो। यसअघि गुठीको जग्गा उपभोग गर्नेलाई  मूल्यांकनको ३३ प्रतिशत क्षतिपूर्ति दिने कानुनी व्यवस्था थियो।  

मन्त्रिपरिषद् बैठकले सोही नियम (३३ प्रतिशत क्षतिपूर्ति दिने) कानुनी व्यवस्थालाई संशोधन गरेपछि काम अघि बढाउन सहज भएको हो। मन्त्रिपरिषद्ले गुठीको जम्मा उपभोग गरिरहेकालाई मूल्यांकनको ५० प्रतिशत क्षतिपूर्ति दिने निर्णय गरेको थियो। आयोजनाले अधिग्रहण गर्नुपर्ने धादिङतर्फको ४४ रोपनीमध्ये १७ रोपनी जग्गाको मुआब्जा विवाद ६ महिनाअघि साम्य भए पनि बाँकी जमिनमा विवाद कायमै थियो। काठमाडांैतर्फको दुई सय ६६ रोपनी जमिन पनि यसअघि नै अधिग्रहण गरिएको थियो।  

धादिङतर्फको मुआब्जा प्रतिआना सात लाख ७० हजार रूपैयाँदेखि नौ लाख ९० हजार रुपैयाँसम्म दिइएको छ। साथै काठमाडौंतर्फको जग्गाको मुआब्जा प्रतिआना नौ लाखदेखि ४२ लाख रूपैयाँसम्म दिइएको छ। धादिङतर्फको १७ रोपनीसहित काठमाडौंतर्फको घर, जग्गालाई समेत गरी हालसम्म करिब साढे पाँच अर्ब रूपैयाँ मुआब्जा वितरण भइसकेको र अब एक अर्ब रूपैयाँजति भुक्तानि हुन बाँकी छ। काठमाडौंतर्फ १३ पक्की घर र  ४० वटा टहरा भत्काउन पनि मुआब्जा दिइएको थियो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको ऋण सहयोगमा उक्त आयोजना सन् २०१९ को नोभेम्बर १४ देखि सुरु भएको हो। सुरुङमार्ग निर्माणका लागि जाइकाले सहुलियत ब्याजमा १६ अर्ब रूपैयाँ ऋण उपलब्ध गराउने सम्झौता गरेको छ। सुरुङमार्ग निर्माणका लागि सम्झौता भएलगत्तै ठेकेदार कम्पनीले सबै तयारी पूरा गरेको र आवश्यक उपकरण ल्याइसकेको बताइएको छ।  

सुरुङमार्गको लम्बाई २.७८ किलोमिटर हुनेछ। साढे नौ र चार मिटरका दुई वटा सुरुङको निर्माण गर्ने आयोजनाको लक्ष्य छ। धादिङ र काठमाडौंतर्फ पाँच÷पाँच सय मिटर सडक तथा दुई फ्लाइओभर र सुरुङमार्ग तथा मुआब्जासहित उक्त आयोजनामा करिब २३ अर्ब रूपैयाँ खर्च हुनेछ।  आयोजना ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य छ।

प्रकाशित: २२ असार २०७७ ०३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App