१६ चैत्र २०८० शुक्रबार
अर्थ

होटल व्यवसायीको माग: मापदण्ड पूरा गरेर होटल सञ्चालन गर्न देऊ

होटल खोल्न पाउनुपर्नेलगायत मागबारे जानकारी गराउँदै कास्कीका होटल व्यवसायी । तस्बिर: उमेश पुन/नागरिक

कास्कीका होटल व्यवसायीले होटल खोल्न दिन माग गरेका छन् । कास्कीमा रहेका पृथ्वी होटल व्यवसायी समिति कास्की, पोखरा सिटी रेवान, लेखनाथ होटल व्यवसायी समिति, लोकदोहोरी व्यवसायी समिति कास्की र धम्पुस पर्यटन व्यवसायी समिति कास्कीले आइतबार पोखरामा पत्रकार भेटघाट गरी सरकारले जारी गरेको मापदण्ड पूरा गरेर होटल सञ्चालन गर्न दिन माग गरेका हुन् । राज्यले अत्यावश्यक सेवामा राखेकाले होटल सञ्चालन गर्न पाउनुपर्ने उनीहरुको तर्क छ ।

राज्यले दिने हो भने आफूहरु होटल सञ्चालन गर्न तयार रहेको सिटी रेवान पोखराका निवर्तमान अध्यक्ष केपी पाठकले बताए । राज्यले होटल सञ्चालन गर्ने वातावरण बनाओस्, ‘उनले भने, ‘हामी सरकारले तोकेको मापदण्ड पूरा गरेर होटल सञ्चालन गर्न तयार छौं ।’ होटल सञ्चालनका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सरकारले निःशुल्क वा सहुलियत दरमा उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

पृथ्वी होटल व्यवसायी समिति कास्कीका अध्यक्ष हरिप्रसाद पाण्डेले पनि होटल खोल्न आफूहरु तयार रहेको बताए । कोरोना तत्काल अन्त्य हुन्छ भन्ने देखिएन, ‘उनले भने, ‘त्यसैले कोरोनासँग जुध्दै पेसा व्यवसायमा फर्किनुको विकल्प छैन ।’

होटल सञ्चालन गर्दा सरकारले भने बमोजिम एक दिन पाहुना राखेपछि कोठा सफा गरेर ४८ घण्टा खाली राख्नुपर्नेलगायत सबै मापदण्ड पूरा गर्न आफूहरु तयार रहेको व्यवसायीले बताएका छन् । तर त्यसका लागि अहिलेको रेटमा १५ देखि २० प्रतिशत मूल्य बृद्धि गर्नुपर्ने उनीहरुको भनाइ छ ।

पोखरा सिटी रेवानका अध्यक्ष दीपकप्रसाद तिमिल्सिनाले बैंक तथा वित्तिय संस्थाले किस्ता र घरबेटीले घरभाडा माग्दा आफूहरु मारमा परेको बताए । हामी अहिले दुई ढुंगाको तरुलजस्तै भएका छौं, ‘उनले भने, ‘होटल बन्द छन्, तर एकातिर घरधनीले घरभाडा माग्छन्, अर्कोतिर बैंकहरुले ब्याज र किस्ता माग्छन् ।’

होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष अर्जुन लम्सालले अब पनि होटल सञ्चालन गर्न नपाउने हो भने आफूहरु पलायनको बाटोमा जाने बताए ।

कास्केली होटल व्यवसायीले राहत प्याकेज घोषणा गर्नसमेत माग गरेका छन् । उनीहरुले १२ बुँदे मागसहित राहत प्याकेज घोषणा गर्न माग गरेका हुन् । व्यवसायीले लकडाउन अवधिभर घरभाडा छुट दिनुका साथै संक्रमणकाल रहेसम्म ५० प्रतिशतदेखि शतप्रतिशतसम्म घरभाडा छुट दिन, वैंक ब्याज तथा करमा सहुलियत, लकडाउन र संक्रमणकाल रहेसम्म बिजुली, पानी, टेलिफोन र इन्टरनेतलगायत महशुलमा विशेष सहुलियत दिन, लकडाउन र संक्रमणकाल अवधिभर व्यवसाय कर तथा अन्य सबै प्रकारका राजस्व छुट दिन, बैंक तथा वित्तिय संस्थाबाट लिएको लोन तिर्ने अवधि दुई वर्ष थप गर्न तथा सो अवधिभरको ब्याजमा सहुलियत प्रदान गर्न, सफ्ट लोनको व्यवस्था गर्न माग गरेका छन् । उनीहरुले विदेशबाट फर्केका नेपालीलाई आफूले इच्छाएको होटलमा क्वारेन्टिन बनाएर बस्न पाउने व्यवस्था गर्न माग गरेका छन् ।

व्यवसायीले माग पूरा नभए होटल तथा रेस्टुरेन्ट बन्द गरेर होटलको साँचो सरकारलाई बुझाउने चेतावनी दिएका छन् । आफूहरुले मागहरु समेटिएको ज्ञापन पत्र कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पठाएको पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष हरिप्रसाद पाण्डेले जानकारी दिए ।

कास्कीमा ६ हजार होटल तथा रेस्टुरेन्ट रहेको र तिनमा करिब ४५ हजार बेड रहेको बताइन्छ । कास्कीका होटल तथा रेस्टुरेन्टले मात्र वार्षिक ५–६ अर्ब राजस्व बुझाउने गरेको होटल व्यवसायीको दाबी छ । कास्कीका सम्पूर्ण होटलहरुमा करीब ५० अर्ब लगानी रहेको र त्यसमा व्यवसायीको २० अर्ब र बाँकी सबै बैंक तथा वित्तीय संस्थाबाट लोनका रुपमा निकालेर लगानी गरेको उनीहरुको भनाइ छ ।

प्रकाशित: २२ असार २०७७ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App