८ वैशाख २०८१ शनिबार
अर्थ

मापदण्ड अनुसार होटल सञ्चालन गर्न व्यवसायीको माग

कास्कीका होटल व्यवसायीहरुले होटल खोल्न दिन माग गरेका छन्। कास्कीमा रहेका पृथ्वी होटल व्यवसायी समिति कास्की, पोखरा सिटी रेवान, लेखनाथ होटल व्यवसायी समिति, लोकदोहोरी व्यवसायी समिति कास्की र धम्पुस पर्यटन व्यवसायी समिति कास्कीले आइतबार पोखरामा पत्रकार भेटघाट गरी सरकारले जारी गरेको मापदण्ड पूरा गरेर होटल सञ्चालन गर्न दिन माग गरेका हुन्। राज्यले अत्यावश्यक सेवामा राखेकाले होटल सञ्चालन गर्न पाउनुपर्ने उनीहरुको तर्क छ।

राज्यले दिने हो भने आफूहरु होटल सञ्चालन गर्न तयार रहेको सिटी रेवान पोखराका निवर्तमान अध्यक्ष केपी पाठकले बताए। ‘राज्यले होटल सञ्चालन गर्ने वातावरण बनाओस्’, उनले भने ‘हामी सरकारले तोकेको मापदण्ड पूरा गरेर होटल सञ्चालन गर्न तयार छौं।’ होटल सञ्चालनका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सरकारले निःशुल्क वा सहुलियत दरमा उपलब्ध गराउनुपर्ने उनको भनाई छ।

पृथ्वी होटल व्यवसायी समिति कास्कीका अध्यक्ष हरिप्रसाद पाण्डेले पनि होटल खोल्न आफूहरु तयार रहेको बताए। ‘कोरोना तत्काल अन्त्य हुन्छ भन्ने देखिएन’, उनले भने, त्यसैले कोरोनासँग जुध्दै पेशा व्यवसायमा फर्किनुको विकल्प छैन।’ होटल सञ्चालन गर्दा सरकारले भने वमोजिम एक दिन पाहुना राखेपछि कोठा सफा गरेर ४८ घण्टा खाली राख्नुपर्नेलगायतका सबै मापदण्ड पूरा गर्न आफूहरु तयार रहेको व्यवसायीहरुले बताएका छन्। तर त्यसका लागि अहिलेको रेटमा १५ देखि २० प्रतिशत मूल्य बृद्धि गर्नुपर्ने उनीहरुको भनाई छ।

पोखरा सिटी रेवानका अध्यक्ष दीपकप्रसाद तिमिल्सिनाले बैंक तथा वित्तिय संस्थाले किस्ता र घरबेटीले घरभाडा माग्दा आफूहरु मारमा परेको बताए। हामी अहिले २ ढुंगाको तरुलजस्तै भएका छौं’, उनले भने, ‘होटलहरु बन्द छन्, तर एकातिर घरधनीले घरभाडा माग्छन्, अर्कोतिर वैंकहरुले ब्याज र किस्ता माग्छन्।’होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथका अध्यक्ष अर्जुन लम्सालले अबपनि होटल सञ्चालन गर्न नपाउने हो भने आफूहरु पलायनको बाटोमा जाने बताए।

कास्कीका होटल व्यवसायीहरुले राहत प्याकेज घोषणा गर्नसमेत माग गरेका छन्। उनीहरुले १२ बुँदे मागसहित राहत प्याकेज घोषणा गर्न माग गरेका हुन्। व्यवसायीहरुले लकडाउन अवधीभर घरभाडा छुट दिनुका साथै संक्रमणकाल रहेसम्म ५० प्रतिशतदेखि शतप्रतिशतसम्म घरभाडा छुट दिन, वैंक व्याज तथा करहरुमा सहुलियत, लकडाउन र संक्रमण काल रहेसम्म बिजुली, पानी, टेलिफोन र ईन्टरनेतलगायतको महशुलमा विशेष सहुलियत दिन, लकडाउन र संक्रमणकाल अवधीभर व्यवसाय कर तथा अन्य सबै प्रकारका राजश्व छुट दिन, वैंक तथा वित्तिय संस्थाबाट लिएको लोन तिर्ने अवधी २ वर्ष थप गर्न तथा सो अवधीभरको ब्याजमा सहुलियत प्रदान गर्न, सफ्ट लोनको ब्यबस्था गर्न माग गरेका छन्। उनीहरुले विदेशबाट फर्केका नेपालीहरुलाई आफूले ईच्छाएको होटलहरुमा क्वारेन्टिन बनाएर बस्न पाउने ब्यबस्था गर्न माग गरेका छन्।

व्यवसायीहरुले माग पूरा नभए होटल तथा रेष्टुरेण्ट बन्द गरेर होटलको चावी सरकारलाई बुझाउने चेतावनी दिएका छन्। आफूहरुले मागहरु समेटिएको ज्ञापन पत्र कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पठाएको पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष हरिप्रसाद पाण्डेले जानकारी दिए।

कास्कीमा ६ हजार होटल तथा रेष्टुरेण्ट रहेको र तिनमा करीब ४५ हजार बेडहरु रहेको बताइन्छ। कास्कीका होटल तथा रेष्टुरेण्टहरुले मात्र वार्षिक ५/६ अर्ब राजश्व बुझाउने गरेको होटल व्यवसायीहरुको दाबी छ। कास्कीका सम्पूर्ण होटलहरुमा करीब ५० अर्ब लगानी रहेको र त्यसमा व्यवसायीहरुको २० अर्ब र बाँकी सबै वैंक तथा वित्तिय संस्थाबाट लोनका रुपमा निकालेर लगानी गरेको उनीहरुको भनाई छ।

प्रकाशित: २१ असार २०७७ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App