coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोरोनाले रोक्यो पहेँलो धातुको कालोबजार

विश्वभरका मानिसको दिनचर्या नै फेरिदिएको कोरोना भाइरसका कारण चितवनमा पहेँलो धातु सुनको कालोबजार रोकिएको छ । कोरोना कहरसँगै बजारमा सुनको भाउ बढेर प्रतितोला ९० हजार रुपैयाँभन्दा बढी भएको कारण मागमा ह्वात्तै ह्रास आउँदा सुनको कालोबजार बन्द भएको हो ।

कोरोना संक्रमण समुदायमा बिस्तार हुन नपाओस् भनी सरकारले बन्दाबन्दीलाई केही खुकुलो बनाएसँगै बजारमा सुन पसल खुलेका छन् । सुनको आकासिएको भाउ र मानिसलाई पैसाको खाँचोले गर्दा यतिखेर बजारमा सुन किन्नेभन्दा पनि पुराना गहना बिक्री गर्न आउने धेरै भएको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।

‘दिनभर ग्राहक कुर्‍यो, सुन किन्न कोही आउने होइन’ नारायणगढका सुनचाँदी व्यवसायी रुबिन रामुदामु भन्छन्, ‘बिहेका लागि गहना किन्न आएका एकदुई जनाबाहेक सबै पुरानो गहना बेच्नेहरुमात्रै आएका छन् ।’ सुनको माग घटेपछि बजारमा सुनको अभाव पनि हटेको उनले बताए । सुनको अभाव हटेसँगै चितवनको बजारमा सुनको कालोबजार बन्द भएको छ ।  

सुनचाँदी व्यवसायी महासंघले दैनिक निर्धारण गर्ने सुनको बजारभाउभन्दा प्रतितोला तीन हजार रुपैयाँसम्म बढी रबम लिएर विगतमा सुनको कालोबजारी हुने गरेको थियो । कोरोनाकाल अघिसम्म जिल्लामा सुनको मागको तुलनामा आपूर्ति निकै कम हुँदा कालो बजार फस्टाएको थियो । त्यतिबेला दैनिक २० किलो सुन अवैध रुपमा कालोबजारियाले नेपाल भित्र्याउने गरेको र त्यस्तो सुनको कारोवार चितवनमा हप्तामा पाँच किलोसम्म हुने गरेको थियो ।  

चितवनको मुख्य बजार नारायणगढमा छिमेकी जिल्लाबाट समेत सुन खरिदका लागि उपभोक्ता र व्यवसायी आउने गर्छन् । नेपाल सुनचाँदी व्यवसायी संघ, चितवनमा आवद्ध करिब चार सय सुनचाँदी पसलमध्ये दुई सय ५० वटा नारायणगढमा, एक सय ३० वटा जिल्लाको पूर्वी क्षेत्रमा र २० वटा माडी क्षेत्रमा रहेका छन् । वैधानिक रुपमा चितवन भित्रिने सुन सबै व्यवसायीलाई बराबर भाग लगाउने हो भने एक जनाको भागमा दुई हप्तामा एक तोला सुन पर्न आउँछ । अहिले जिल्लामा सुनको माग धान्ने प्रमुख आधार पुरानो सुन बनेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष बिपिन रामुदामु राष्ट्र बैंकले विदेशबाट नेपाल आयात गर्ने सुनको परिमाण अहिले देशको माग धान्न पर्याप्त भएकोले बजारमा सुन अभाव नरहेको बताउँछन् । उनका अनुसार, देशको माग दैनिक ३० किलोभन्दा बढी रहेकोमा २० किलो सुन आयात हुने गरेको छ । चितवनको दैनिक माग दुई किलो सुन रहेको जानकारी दिँदै उनी भन्छन्, ‘हामीले काठमाडौँदेखि राष्ट्र बैंकले सुनको कारोवारका लागि स्वीकृति दिएका बैंकबाट कोटा अनुसार सुन खरिद गरेर जिल्लामा ल्याउनु पर्छ ।’ कोटा अनुसार चितवनमा हप्तामा तीन किलो सुन आइरहेको उनले बताए । यसरी सुन ल्याउन सुनचाँदी व्यवसायी जिल्ला संघले थोक व्यापारीलाई सिफारिस दिन्छ ।

सुनमा घुन थरीथरीका
सुन खरिद गर्दा उपभोक्ता ठगिने पहिलो नम्बरको घुन जर्ती हो । सुनका गहना बनाउने क्रममा टुक्रिएर नास भई जाने सुनलाई जर्ती भनिन्छ । कति परिमाणको गहना बनाउँदा कति जर्ती जान्छ भन्ने वैज्ञानिक आधार केही नहुँदा व्यवसायीले आफैँ जर्ती तय गर्छन् । शिर, नाक, कान, घाँटी, नाडी र औँलामा लगाइने एक सय आठ प्रकारका गहनामा जर्ती कटाइन्छ । अहिले प्रचलनमा रहेका गहनामध्ये रानीहार, नेकलेस, मंगलसुत्र, चुरा, टप, तिलहरी, औँठी, झुम्का, कण्ठी, सिरफूल, बाला प्रमुख रहेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ, चितवन शाखाले ६ वर्षअघि निर्धारण गरेको बिनारसायनका गरगहनाको जर्ती दस प्रतिशतसम्म रहेको छ । संघले सबैभन्दा कम फुली र मुन्द्रीमा पौने एक लाल एवं सबैभन्दा बढी रानीहारमा २२ लालसम्म जर्ती कायम गरेको छ । सुन खरिद गर्ने ग्राहकले गहनाको तौलमा जर्तीको रकम अलग्गै थप गर्नुपर्छ वा जर्ती कटाएर कम तौलको गहना लैजानुपर्छ । यो दुबै अवस्थामा ग्राहक ठगीमा पर्छन् ।  

सुन किन्दा जर्तीको रकम बढी तिरेका ग्राहकले त्यही गहना बिक्री गर्दा पुनः जर्तीको भाग कटाएर व्यवसायीको खरिद मूल्यमा बेच्नुपर्छ । किन्दा छापावाल सुनको भाउमा किनेको गहना बिक्री गर्दा तेजाबी सुनको भाउ पर्छ । व्यवसायीले बिक्री गर्नेभन्दा खरिद गर्ने दर एक हजारदेखि दुई हजार रुपैयाँ सस्तो हुन्छ । त्यसमाथि छापावाल र तेजावी सुनको भाउको अन्तर एकदेखि दुई हजार रुपैयाँ हुन्छ । यो दरपछि ज्याला र जर्ती कटाउँदा गहना खरिदको मूल्यभन्दा बिक्री गर्दाको मूल्यमा करिब २० प्रतिशतले कम हुन्छ । यो हिसाबले एउटा गहना पाँच पटक किनबेच गर्दा सिङ्गो गहना गायब हुन्छ ।

सुनमा भेटिने अर्को घुन हो, रसायन । सुनका गहना बनाउने क्रममा सुनका टुक्रा जोड्न प्रयोग गरिने रसायनले एकातिर गहनाको तौल बढाएको हुन्छ भने अर्कोतिर सुनको शुद्धता कायम रहँदैन । सुनमा २४ क्यारेट भनेपछि ९९ दसमलव पाँच प्रतिशत शुद्धता हुनुपर्नेमा राजधानीकै ठूला र नाम चलेका सुन पसलमा ९७ दसमलव दुई प्रतिशत शुद्धता पाइएपछि राजधानीबाहिर सुनको शुद्धता कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ । सुनमा मिसिने रसायनले सुनको शुद्धता घटाउने र तौल बढाउने काम गर्छ ।

यस्तो सुनका गहना बिक्री गर्दा पुनः जर्ती र रसायनका नाममा रकम कटाइन्छ । सुन व्यवसायीहरु नेपाल आयात हुने छापावाल सुनमा नै २४ क्यारेटको शुद्धता नभएको दाबी गर्छन् ।

प्रकाशित: २१ असार २०७७ ०६:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App