८ वैशाख २०८१ शनिबार
अर्थ

दातृ निकायको सहयोगमा तत्काल असर पर्दैन

नेपाल निम्नमध्यम आय वर्गमा उक्लियो

नेपाल निम्नमध्यम आय वर्गमा उक्लिएपछि दातृ निकायले गर्ने सहयोग घट्न सक्ने अनुमान गरिरहेका बेला यसले तत्काल असर नपर्ने विज्ञहरुले बताएका छन्। विश्व बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१९ मा नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार ९० डलरमा पुगेपछि नेपाल निम्नमध्यम आय वर्गमा उक्लिएको छ।  

विश्व बैंकका अनुसार एक हजार ३६ देखि चार हजार ४५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आम्दानी भएका मुलुकहरू न्यूनमध्यम आय वर्गमा पर्छन्। भर्खर निम्न आयबाट निम्नमध्यम आय वर्गमा प्रवेश गरेकाले दातृ निकायले गर्ने सहयोगमा तत्काल असर नपर्ने अर्थशास्त्री डा. स्वर्णिम वाग्ले बताउँछन्। ‘३–४ वर्षपछि अलि माथि पुग्यो भने विश्व बैंकलगायतका निकायले क्रमशः ऋणको ब्याज बढाउन सक्छन्,’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष वाग्लेले भने, ‘तत्कालका लागि सहयोगमा कुनै असर पर्दैन।’

विश्व बैंकले नेपाललाई एक प्रतिशत मात्र ब्याजमा लगानी गर्दै आएको छ। पछिल्लो पाँच वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी तीन सय ३० अमेरिकी डलर वृद्धि भएको छ। सन् २०१८ मा नेपालीको प्रतिव्यक्ति आम्दानी नौ सय ७० डलर थियो। विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालीको प्रतिव्यक्ति आम्दानी सन् २०१९ मा बढेर एक हजार ९० डलर पुगेको हो। सन् २०१५ प्रतिव्यक्ति आम्दानी सात सय ८० डलर थियो।

३–४ वर्षपछि प्रतिव्यक्ति आय अलि माथि पुग्यो भने दातृ निकायको ऋणको ब्याज क्रमशः बढ्न सक्छ  

स्वर्णिम वाग्ले

निम्न आय भएको वर्गबाट निम्नमध्यम आय हुँदै मध्यम आय वर्गतर्फ उन्मुख भएपछि विश्व बैंकलगायत दातृ निकायले दिने ऋणको ब्याजदर क्रमशः बढाउँदै लैजाने विज्ञहरु बताउँछन्। नेपाल प्राविधिक रुपमा मात्र निम्नमध्यम आय वर्गमा प्रवेश गरेको अर्थशास्त्री वाग्ले बताउँछन्। ‘नेपालीको प्रतिव्यक्ति आम्दानी निम्नआय वर्गभन्दा ५४ डलरमात्र माथि छ,’ वाग्लेले भने, ‘योभन्दा धेरै माथि पुग्यो भने दातृ निकायले दिने सहुलियत ऋणको दर बढाउँदै जान सक्छन्।’ अहिलेको भन्दा आम्दानी अझै माथि पुगेपछि मात्र दातृ निकायका सहायता मापण्ड र ब्याजदर बढ्ने उनले बताए। नेपालले अहिले सुविधाजनक सर्तको ऋण लिँदै आएको छ।

निम्नमध्यम आय वर्गमा उक्लिनु सकारात्मक भएको अर्थशास्त्री बताउँछन्। आयस्तरमा सुधार भएर माथि उक्लिए पनि अहिलको आम्दानी अनुसार दातृ निकाय तथा विकास साझेदारले हेर्ने दृष्टिकोणमा ठूलो तात्विक अन्तर नपर्ने यस क्षेत्रका जानकार बताउँछन्।

तीन वर्षको आर्थिक वृद्धिदर राम्रो भएकाले नेपाल निम्नमध्यम आय वर्ग भएको देशमा स्तरोन्नति भएको अर्थशास्त्री शंकर शर्माले बताए। ‘विश्व बैंकको ¥याङकिङ अनुसार नेपाल निम्नमध्यम आय वर्गमा उक्लिएको छ,’ शर्माले भने, ‘माथि जानु मुलुकका लागि राम्रो हो।’ अहिले महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण मुलुकको आर्थिक वृद्धिदर खुम्चिएकाले आगामी वर्ष खस्किन पनि सक्ने उनले बताए। ‘अर्को वर्षको आर्थिक वृद्धिदर कस्तो हुन्छ निश्चित छैन,’ शर्माले भने, ‘यही अवस्थामा नरहन सक्छ।’

कोभिड प्रकोपले मुलुकको आर्थिक वृद्धिदर खुम्चिएकाले आगामी वर्ष खस्किन सक्छ ः  

शंकर शर्मा

नेपालले तीन वर्षदेखि निरन्तर हासिल गर्दै आएको आर्थिक वृद्धिदरले नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय वृद्धि भए पनि अहिले मुलुकमा फैलिएको कोभिड–१९ को असरले फेरि निम्नआय वर्गमा झर्न सक्ने विज्ञले औंल्याएका छन्।  

निम्नमध्यम आय वर्गमा स्तरोन्नति भए पनि दातृ निकायले गर्ने सहयोगमा तात्विक फरक नपर्ने शर्माले बताए। ‘नेपालको क्षमता बढेकाले विकास साझेदारले अनुदान घटाएर ऋण बढाउँदै लगेका छन्,’ शर्माले भने, ‘दातृ निकायले गर्ने प्राविधिक सहयोगमा सामान्य फरक पर्न सक्छ। निजी क्षेत्रबाट आउने सहयोगमा केही फरक पर्ला।’ रेमिटेन्सको आम्दानी वृद्धि भएकाले दातृ निकायहरुले अनुदान घटाउँदै लगेका थिए।

विश्व बैंकले एक हजार ३५ अमेरिकी डलरभन्दा कम आम्दानी हुने मुलुकलाई न्यून आयवर्गमा राखेको छ। सन् २०१८ मा नेपालीको प्रतिव्यक्ति आम्दानी नौ सय ७० डलर मात्र थियो। मुलुकले पछिल्ला तीन वर्षमा आर्थिक क्षेत्रमा राम्रो प्रगति गरेको छ। आव ०७५÷७६ मा ७.०५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको छ। चालु आर्थिक वर्ष ०७६/७७ मा आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएकोमा कोभिड महामारीका कारण खुम्चिएर २.३ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। दक्षिण एसियाली मुलुकमा माल्दिभ्सको प्रतिव्यक्ति आय सबैभन्दा धेरै छ। सन् २०१९ मा माल्दिभ्सको प्रतिव्यक्ति आम्दानी नौ हजार ६ सय ५० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ ।

प्रकाशित: २१ असार २०७७ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App