८ वैशाख २०८१ शनिबार
अर्थ

व्यवसायीलाई ‘निल्नु न ओकल्नु’

लेकसाइडका सटरको महँगो भाडादर

कोरोना भाइरस संक्रमणका कारण पर्यटन व्यवसायीले मार खेप्न थालेको झन्डै ६ महिना लागेको छ। चीनमा संक्रमण सुरु भएपछि यहाँका व्यवसायीले मार खेप्न थालेका थिए। नेपालमा ढिला लकडाउन भए पनि विदेशीको आगमन घट्न थालेको चीनमा संक्रमण सुरु भएदेखि नै हो। विश्वका अन्य मुलुकमा संक्रमण फैलिँदै गर्दा यहाँ पर्यटक आगमन निकै नै खस्किसकेको थियो।

कोरोनाका कारण सबैखाले व्यवसायी मारमा छन्। त्यसमा पर्यटन क्षेत्रले खेपेको मार अझै बढी छ। कोरोनाका कारण ठूला पर्यटन व्यवसायी पनि मारमा छन्। त्यसमा अझ बढी मार सानालाई परेको व्यवसायीको भनाइ छ। लेकसाइडमा महँगो भाडा तिरेर व्यवसाय गरेका साना व्यवसायी अहिले के गरौं, कसो गरौं को अवस्थामा छन्। अझै कम्तीमा दुई वर्ष पर्यटक आगमन नहुने आँकलन गरेका व्यवसायी लेकसाइडको व्यापारलाई निरन्तरता दिन कठिन रहेको बताउँछन्।  

मासिक भाडा तिर्न सक्ने अवस्थासमेत नहुँदा झनै अन्योल थपिएको उनीहरुको भनाइ छ। कतिपय व्यवसायीले मासिक खर्च बेहोर्न सक्ने अवस्था नहुँदा व्यवसाय नै बन्द गर्ने सोचमा पुगिसकेको बताएका छन्। महँगो भाडा तिरेर सटरमा व्यवसाय सञ्चालन गरेका साना व्यवसायीलाई अहिले व्यवसाय नै ‘निल्नु न ओकल्नु’ भएको छ। अझै लामो समय व्यवसाय सञ्चालन नहुने पक्का जस्तै देखेका साना व्यवसायी के र कसो गर्ने भन्ने दोधारमा छन्।  

‘मासिक ५० हजार रुपैयाँमा एउटा सटर भाडामा लिएर व्यवसाय गरेको छु। तर लकडाउनपछि पूरै व्यवसाय बन्द छ,’ एक व्यवसायीले भने, ‘अब भाडा नै कसरी तिर्ने भन्ने अन्योल छ। अहिले त त्यही व्यापार नै निल्नु न ओकल्नु भइसक्यो।’ ती व्यवसायीका अनुसार चीनमा संक्रमण सुरु भएपछि नेपाल आउने चिनियाँ पर्यटक घट्न थालेका थिए। चिनियाँ पर्यटक लक्षित व्यवसाय खस्कन थालेको थियो। भाइरस संक्रमण विश्वभर फैलिँदै गर्दा अरु मुलुकका पर्यटकको आउजाउ पनि रोकियो र लकडाउन सुरु हुँदासम्म व्यवसायीले नोक्सान खेपेको लामो समय भइसकेको उनले बताए।  

‘अझै दुई वर्ष लेकसाइडको व्यापार हुने छाँटकाँट छैन,’ उनले भने, ‘मासिक ५० हजार रुपैयाँको दरले चैतपछिको भाडा मात्र दुईलाख रुपैयाँ पुग्यो। आम्दानी भने शून्य छ। अब व्यापार नै बन्द गर्नुको विकल्प छैन। भाडा तिर्न सक्ने अवस्था छैन।’ अझै एक महिना पर्ख र हेरको अवस्थामा बसेको बताउँदै उनले भने, ‘एक महिनापछि पनि व्यापार गर्ने अवस्था देखिएन भने पसल नै बन्द गर्नुपर्छ। किनकी महँगो भाडा तिरेर लेकसाइडको सटर लिएर बस्ने अवस्था भएन।’  

व्यवसायीका अनुसार लेकसाइडका अग्रभागका भवनका सटरको मासिक भाडा कम्तीमा ५० हजार रुपैयाँ छ। लामो समयदेखि व्यापार गर्नेले केही कम भाडा तिरे पनि पछिल्लो एक–दुई वर्षदेखि व्यापार थालेका व्यवसायीले महँगो भाडा तिरेका थिए। मासिक भाडा मात्र नभई लाखौं रकम बिनाब्याजको अग्रिम डिपोजिट राख्नुपर्दा व्यवसायी झनै बढी मारमा रहेको व्यवसायीले बताए। ‘व्यक्तिगत सहमतिमा लाखौं रुपैयाँ घरधनीले अग्रिम डिपोजिट लिएका हुन्छन्। मासिक घरभाडा निकै नै महँगो छ,’ पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष समेत रहेका पर्यटन व्यवसायी सोमबहादुर थापा भन्छन्, ‘अहिले मासिक भाडा तिर्न सक्ने अवस्था साना व्यवसायीलाई छैन। एक–दुई महिनाको कुरा मात्र भएन।’  

थापाका अनुसार पर्यटनमा आकर्षण बढ्दै जाँदा पछिल्लो समय लेकसाइडमा सटरको भाडा निकै महँगो बनेको थियो। पर्यटनमा आम्दानी देखेर व्यवसायीले महँगो भाडा तिरेर व्यवसाय गरेका थिए। ‘पहिल्यै कमाएका व्यवसायीलाई त केही समय सहज होला। नयाँ व्यवसायीलाई भने व्यापार नै निल्नु न ओकल्नु भएको छ,’ थापाले भने, ‘अहिले १० प्रतिशत भाडा तिर्न सक्ने अवस्था छैन।’ महिनौं नोक्सान खेप्नु परेपछि अहिले कतिपय घरधनिले भने साना व्यवसायीको सटरको भाडा छुट गरेका छन् भने केहीले गरेका छैनन्।  

‘पर्यटन बाहिरबाट आएका पाहुनाबाट हुने व्यवसाय हो। बाहिरबाट हेर्दा धेरैले कमाएजस्तो देखिन्छ। तर सानो व्यवसाय गर्नेले त्यो आकारमा कमाइ गरेका छैनन्,’ थापाले भने, ‘महँगो भाडा, ठूलो आकारको अग्रिम डिपोजिट, लगानी गर्दा व्यवसायीले छोटो समयमा नाफा कमाइहाल्ने अवस्था रहन्न। त्यसैले लेकसाइडका सबै व्यवसायीले नाफा लिएका छन् भन्न मिल्दैन।’  

थापाका अनुसार एक–दुइटा सटर भाडामा लिएर व्यवसाय गरेका व्यवसायी बढी मारमा छन्। लेकसाइडका घरका ९५ प्रतिशत सटर अरु व्यवसायीले भाडामा लिएर सञ्चालन गरेका छन्।  

महिनौं नोक्सान खेपेको व्यवसायमा मासिक भाडा छुट गराउन व्यवसायीले अपिल पनि गरेका हुन्। तर, बैंकले सहुलियत ब्याजमा ऋण दिने र ऋणको किस्ता तिर्ने समय बढाइदिने हो भने घरधनीलाई पनि भाडा छुट दिन सहज हुने उनले बताए।  

‘कतिपयले महँगो ब्याजमा ऋण लिएर घर बनाएका हुन्। घरधनीले सहुलियत पाएमा भाडामा व्यवसाय गर्नेलाई पनि छुट दिन सक्छन्, नत्र समस्या छ,’ थापाले भने।  

अर्का पर्यटन व्यवसायी केदारनाथ शर्मा साना व्यवसायी जोखिममा रहेको बताउँछन्। उनका अनुसार लेकसाइडका सटरको महँगो भाडादर बाहेक अग्रिम डिपोजिट बापत ठूलो रकम तिनुपर्छ। डिपोजिट राखिएको रकमको ब्याजसमेत व्यवसायीले पाउँदैनन्। सबैभन्दा थोरै, एउटै सटरको मासिक भाडा ५० हजार रुपैयाँ रहेको उनले बताए। लेकसाइडका गौरीघाटदेखि हल्लनचोकसम्म भवनका सटरको अधिक महँगो छ। मासिक ५०–५५ हजार रुपैयाँ भाडा भए पनि कर तिर्नुपर्ने हुँदा कम भाडादर देखाउने गरिएको शर्माले बताए। लेकसाइडका अधिक सटरमा कस्मिरी व्यवसायीले व्यवसाय सञ्चालन गरेको र उनीहरुले मागेजति भाडा तिर्ने हुँदा त्यसको मार अरुले खेपेको शर्माले बताए। ‘कस्मिरी व्यवसायी महँगो भाडा तिर्न तयार हुन्छन्, त्यसैले सटर भाडामा दिँदा पहिलो प्राथमिकता उनीहरुलाई दिइन्छ,’ उनले भने, ‘त्यसको मार अरु व्यवसायीले खेपेका छन्।’  साना र मध्यम वर्गले पर्यटन मात्र भनेर बस्दा अब थेग्न सक्ने अवस्था नरहेको उनले बताए। हाल चल्तीमा रहेको भाडादरमा कम्तीमा ५० प्रतिशत छुट हुनुपर्ने व्यवसायीको माग छ। घरभाडा नघट्ने हो भने व्यवसायी नै पलायन हुने र नयाँ व्यवसायी तत्काल आउने अवस्था नहुँदा घरधनीसमेत मारमा पर्ने उनले बताए।  

व्यवसायीले पोखरा पर्यटन परिषद् (पिटिसी) र प्रदेश सरकारलाई घरभाडा छुटमा लबिङ गरिदिन आग्रह गरेको शर्माले बताए। पिटिसीका अध्यक्ष चिरञ्जीवी पोखरेलले सहज रुपमा व्यवसाय सञ्चालन गर्दा घरधनी र व्यवसायीबीच व्यक्तिगत सहमतिमा कारोबार भए पनि अहिलेको अवस्था फरक रहेको बताए। ‘घरधनी र व्यवसायीबीच समझदारी कायम हुन सकेन र घरधनीले मेरो गोरुको बाह्रै टक्का भनेर भाडा छुट नदिने हो भने पर्यटन क्षेत्र झनै ओरालो लाग्नेछ,’ पोखरेलले भने, ‘हिजोजस्तो महँगो भाडा तिरेर व्यवसायी बस्ने अवस्था रहन्न। नयाँ र अनुभव नै नभएका व्यवसायी आएर पनि यहाँ व्यवसाय गर्ने छैनन्।’ पर्यटन क्षेत्रलाई छिटो गरी उकास्ने हो भने सबैको मेहनत चाहिने उनले बताए।  

व्यवसायी पलायन हुन नदिन कम्तीमा लकडाउन अवधिको आपसी समझदारीमा र लकडाउनपछि घरभाडामा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने माग राखेको उनले बताए।  

‘सरकारले घरधनीलाई सहुलियत दिनुपर्छ। व्यवसायीले पनि छुट पाउनुपर्छ,’ उनले भने, ‘नत्र व्यवसायी पलायन हुनेछन्। व्यवसायी पलायन भए भने त्यसको मार घरधनीले पनि खेप्नुपर्नेछ।

प्रकाशित: २१ असार २०७७ ०३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App