coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कान्छो पाँचतारे मेरियटको लकडाउन सेवा

गौरव अग्रवाल

कोरोना महामारीका कारण काठमाडौं उपत्यकाका १४ पाँच तारे होटल बन्दजस्तै छन्। पाँचतारेमध्यको सबैभन्दा कान्छो (०७६ वैशाखमा खुलेको) काठमाडौं मेरियट होटलले भने अहिले सेवा दिइरहेको छ।  

बिहीबार बिहान १० बजे नक्सालस्थित होटल परिसर पुग्दा केही पाहुना लबीबाहिर बसेर चिया–कफी पिउँदै थिए। दुई विदेशी बालबालिका लबीबाहिरको हरियो दुबोमा खेल्दै थिए।

होटल सञ्चालक गौरव अग्रवाल भन्छन्, ‘लकडाउनअघि जस्तो त होइन, अहिले पाहुना कमै छन्, होटलको क्षमता अनुसार पाहुना ९७ प्रतिशतले घटे पनि सेवा दिइरहेका छौँ।’

उनका अनुसार, यस होटल सुरुवाती दिनमा दैनिक ५० लाख रुपैयाँसम्म कारोबार गथ्र्यो। अहिले कोरोनाकै कारण दैनिक ५० हजार रुपैयाँ कारोबार हुन्छ।  

लकडाउन सुरु भएपछि होटलका अधिकांश विदेश पाहुना देश फर्किए। अहिले झन्डै एक दर्जन विदेशी पाहुनालाई होटल सेवा दिइरहेको छ।  

अग्रवाल भन्छन्, ‘लकडाउन सुरु भएपछि हामीले पाहुनालाई केही भनेनौँ। जाने गए, नजानेलाई सेवा दिनैप¥यो। तपाईंहरु जानुस् त भन्न मिलेन।’  

योबीचमा धेरै देशमा चार्टर्ड उडान भए, तर यी पाहुना आफ्नो देश फर्कन चाहेनन्। अग्रवाल भन्छन्, ‘विश्वको उत्कृष्टमध्येकै एक नेपाली हस्पिटालिटी देखेर होला, उहाँहरुले यहीँ सुरक्षित महसुस गर्नुभयो।’

‘लकडाउनअघि जस्तो त होइन, अहिले पाहुना कमै छन्, होटलको क्षमता अनुसार पाहुना ९७ प्रतिशतले घटे पनि सेवा दिइरहेका छौँ।

दुई सय १४ कोठा रहेको होटलमा कोरोनाअघि भरिभराउ नै हुन्थ्यो। अग्रवालका अनुसार, चेन होटलका रुपमा मेरियट होटल विश्वका एक सय ३० देशमा खुलेका छन्। ६० मिलियन डलर लगानीमा सञ्चालनमा आएको काठमाडौं मेरियट १३ रोपनी क्षेत्रफलमा छ। १३ तले यस होटलमा क्यासिनो, अल डे डाइनिङ रेस्टुरेन्ट, ठमेल किचन, सुविधा सम्पन्न फिटनेस सेन्टर, स्विमिङ पुल, एक सय ९३ डिलक्स रुम, २० वटा स्विट रुम, एउटा प्रेसिडेन्सियल रुम रहेको छ।  

अग्रवालका अनुसार, विश्वका अन्य होटलले कोठाको प्रतिरात दुई सय डलर लिइरहेका छन्। मेरियटले भने यही जुलाईदेखि सात हजार सात सय ७७ रुपैयाँ कोठा चार्जमा दुईजनालाई ब्रेकफास्टसहित सेवा दिइरहेको छ।

कोरोना महामारीका कारण विदेशी पाहुना आउन सक्ने अवस्था नरहेपछि आन्तरिक पाहुनालाई राहत स्वरुप सस्तोमा अन्तर्राष्ट्रिय हस्पिटालिटीको सेवा दिने आफूहरुको योजना भएको अग्रवाल बताउँछन्। राष्ट्रिय अभियानको रुपमा आयोजना गरिएको नेपाल भ्रमण वर्ष–२०२० रद्ध भएपछि व्यवसायमा सोचेजस्तो व्यापार भएन। अग्रवाल भन्छन्, ‘यो अवस्थामा हरेक क्षेत्र धराशयी छ। संक्रमणको अन्त्यसँगै विदेशी पर्यटकलाई नेपाल घुम्ने बनाउन सरकारले भिसा शुल्क, हवाईभाडा, विभिन्न पर्यटकीय गन्तव्यमा लाग्दै आएको शुल्क घटाउनुपर्छ। विश्वसम्पदामा सूचीकृत क्षेत्रमा पर्यटकले तिर्दै आएको शुल्कमा समेत छुट दिनुपर्छ।’

पहिले नेपालमा चिनियाँ, भारतीय, एवं युरोपियन देशबाट बढी पर्यटक  आउने गर्थे। अहिले ती देश नै सबैभन्दा बढी कोरोना महामारीको चपेटामा परेकाले तत्कालै त्यहाँका नागरिक भ्रमणमा निस्कने सम्भावना न्यून छ।  

कोरानाले विश्व अर्थतन्त्रमै असर गरेका बेला मेरियटलाई पनि आफ्ना कर्मचारीलाई तलब–भत्ता दिनै समस्या छ। होटल संघ नेपालले होटलसँग सम्बन्धित कर्मचारीलाई अहिले काम नभएका बेला १२ प्रतिशत मात्रै तलब दिने घोषणा गरेको थियो। तर, मेरियटले व्यापार कम भएको अवस्थालाई मध्यनजर गर्दै कर्मचारीलाई ३३ प्र्रतिशत तलब दिँदै आएको छ।  

अग्रवाल भन्छन्, ‘अहिले हामीसँग दुई सय ५० स्थायी कर्मचारी छन्।  उनीहरुले जुन १ देखि महिनामा १० दिन मात्रै काम गर्दैै आएका छन्। मेरियट ब्रान्डका विश्वभरका होटलमा जस्तै हामीले कर्मचारीलाई तलबसुविधा दिएका हौँ।’

यो होटल भर्खरै खुलेकाले बैंकको ब्याज तिरिसकेको छैन। यो अवस्थामा बैंकले पनि केही छुट दिनुपर्ने उनी बताउँछन्। ‘यस्तो विषय बजेटमै उल्लेख हुनुपर्ने हो,’ उनी भन्छन्। 

प्रकाशित: २० असार २०७७ ०४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App