७ वैशाख २०८१ शुक्रबार
अर्थ

लकडाउनअघि करिब १७ हजार पर्यटकको आगमन

लाङटाङ जान लागेका स्वदेशी पर्यटक तस्बिर÷हिमनाथ

लाङटाङ राष्ट्रिय निकुञ्जमा लकडाउन अघि करिब १७ हजार पर्यटक भित्रिएका छन्। चालु आर्थिक वर्ष ०७६/७७ चैतअघिसम्म १६ हजार ९ सय २५ पर्यटक आएका हुन्। जसमा ९ हजार २३ नेपाली, ७ हजार ७ सय ९८ विदेशी र सार्क राष्ट्रका १ सय ४ पर्यटक छन्।  

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण गएको पुस महिनादेखि नै पर्यटक आउने क्रम घटेको थियो। कोरोनाको संक्रमण रोकथामका लागि देश लकडाउन भएपछि पर्यटक आउने क्रम शुन्यमा झ¥यो। पछिल्लो समय पर्यटकीय क्षेत्रहरूमा नेपाली पर्यटक आउने क्रम बढ्दै गएको थियो। यहाँ आउने पर्यटकमध्ये विदेशीको तुलनामा नेपालीले खर्च पनि बढी गर्ने गरेका छन्।  

पर्यटक आउने मुख्य सिजनमा नै लकडाउन भएपछि यहाँका होेटल व्यवसाय मर्कामा परेका हुन्। निकुञ्ज क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि प्रत्येक वर्ष ७ हजारदेखि १९ हजारसम्म पर्यटक आउने गरेका छन्। निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन्। साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन्।  

असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन्। जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेका छन्। तर तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ।  

होटल तथा पर्यटन व्यवसाय बन्द भएपछि यहाँका होटल तथा पर्यटन व्यवसायीलाई मासिक ६ करोड ७८ लाख घाटा भएको होटल तथा पर्यटन व्यवसायी संघ रसुवाले गरेको सर्वेक्षणले देखाएको छ।  

आगामी दिनमा नेपाली पर्यटक बढी संख्यामा भित्राउने, धार्मिक मेला (गोसाइँकुण्ड मेला) व्यवस्थित गरेर सञ्चालन गर्ने र पर्यटनसँग सम्बन्धित कार्यक्रमहरू ल्याउन आवश्यक रहेको संघका अध्यक्ष निशान गजुरेलले बताए।  

इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्याण्ड, वेलायत, कोरिया, रसिया, स्पेन, उरुग्वे, सिंगापुरलगायतका देशका पर्यटक आउने गरेका छन्। लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ पुग्छन्।

निकुञ्ज क्षेत्रमा आएपछि लाङटाङ लगायतका एक दर्जन हिमश्रृङ्खला, गोसाइँकुण्ड लगायतका विभिन्न कुण्ड, ऐतिहासिक स्थल रसुवागढी पर्छ भने विश्वको दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायतका जनावर पनि देख्न सकिन्छ। 

प्रकाशित: २० असार २०७७ ०२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App