१५ चैत्र २०८० बिहीबार
अर्थ

आर्थिक चपेटामा सैलुन व्यवसायी

नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सावधानीस्वरूप लागू गरेको बन्दाबन्दी (लकडाउन) खुकुलो बनाउने निर्णय जेठ २८ गते गर्यो । ८० दिनदेखि बन्द पसल सञ्चालन गर्दा व्यापारी खुसी थिए । अर्काेथरिका व्यापारीमा भने निरासाको बादल हटेन । वरिपरिका पसल निर्वाध चलेका छन् त्यहिँ भिडमा रहेको जयकुमार ठाकुरको सैलुन खुलेन । मोबाइल, खाद्यान्न तथा अन्य पसलहरू खुल्दा चैत ११ गतेदेखि उनको पसलमा ताला झुण्डिएको छ । यस्तोमा उनलाई सुखी होइन झन निरास बनाएको छ । उनीजस्तै वीरेन्द्रनगरस्थित यरीचौकका अधिकांश पसल खुला छन् । तर विडम्बना त्यहिँ पसलका भिडमा रहेको न्यू लुक्स जेन्स पार्लर भने बन्द छ ।

लकडाउनको ठूलो मारमा परेका जयकुमार ठाकुरको पनि सैलुन बन्द छ । उनले आफू मात्र होइन आठजनालाई रोजगारी दिएका थिए । अहिले उनीहरू सहित सुर्खेतका सबै सैलुन व्यवसायी ठूलो आर्थिक चपेटामा परेका छन् । अन्य व्यवसाय सञ्चालन खुले पनि सैलुन व्यवसाय सञ्चालनका लागि सरकारले थप निर्णय नगर्दा जीविको पार्जनका लागि समस्या हुँदै आएको सैलुन व्यवसायीहरू बताउँछन् । सरकारले व्यवसाय खोल्न पाउने विभेदकारी निर्णय गर्दा आफ्नो व्यवसाय ठप्प भएको सैलुन व्यवसायीको छाता संगठन नेपाल नाइ संघ सुर्खेतले जनाएको छ ।

जनजीवन सहज पार्न सरकारले जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधन सञ्चालन गर्न दिने र पसलहरू खुला गर्न दिने निर्णय गरेको थियो । निजीसहितका सबै निर्माण कार्य, विकास आयोजना तथा सपिङ मल, सैलेन सेन्टर, डिपार्टमेन्ट स्टोर (खाद्य सामग्रीबाहेक) पार्टी प्यालेस, सिनेमा हलबाहेकका व्यापार–व्यवसाय तथा पसलहरू खुला गर्ने निर्णय गरेको थियो । यो निर्णय अव्यावहारिक र विभेदकारी भएको सैलन व्यवसायी विनोद ठाकुरको भनाइ छ । ‘अरु पसलमा आउँदा जोखिम नहुने र सैलुनमा आउँदा जोखिम हुने हुँदैन,’ उनले भने, ‘सरकारले विभेदकारी निर्णय गर्यो ।’ सैलुन व्यापारीहरूलाई पनि सुरक्षात्मक सावधानी अपनाएर व्यवसाय सञ्चालन गर्न दिनुपर्ने अर्का सैलुन व्यापारी शम्भु ठाकुरको माग छ ।

जनकपुरबाट पाँच वर्ष अघि वीरेन्द्रनगर आएका विनोद ठाकुरको आय स्रोत यही पसल हो । लकडाउनले व्यवसाय बन्द हुँदा दैनिक गुजारा गर्न समस्या भएको छ । ‘दिनमा कमाउँदै साँझबिहानको छाक टार्ने गथ्र्ये,’ उनी भन्छन्, ‘पसल बन्द हुँदा ऋण काडेर दैनिकी चलाइ रहेको छुँ ।’ पसल बन्द हुँदा उनको मात्र रोजगारी खोसिएको छैन सुर्खेतका करिब एक सय जनाभन्दा बढीको रोजगारी खोसिएको छ । अरु व्यापार जस्तै आफ्नो व्यापार पनि सञ्चालन गर्न पाउनु पर्ने भन्दै शुक्रबार सैलुन व्यापारीहरूले संयुक्तरूप जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।

न्यून आर्थिक अवस्था भएका सैलुन व्यवसायीलाई समस्या हुँदा जीविका चलाउन समस्यो भएको अर्का सैलुन व्यवसायी मनोज ठाकुर बताउँछन् । ‘हाम्रो अन्य कुनै वैकल्पिक व्यवसाय पनि छैन,’ ज्ञापनपत्रमा भनिएको छ, ‘जीविका निर्वाह, औषधि उपचार गर्न र कोठा भाडा तिर्न समस्या भएको छ ।’ उनीहरूले पसल सञ्चालन र ऋणको ब्याज मिनाहका लागि पहल गरिदिन प्रशासनलाई आग्रह गरेका छन् । दैनिक एक हजारदेखि पाँच हजारसम्म आम्दानी गर्ने उनीहरूको आम्दानीको स्रोत नै सैलुन हो ।

सुर्खेतमा हाल करिब ५० वटाभन्दा बढी सैलुन पसल छन् । सरकारले अर्काे निर्णय नगर्दा ती सबै पसल बन्द अवस्थामा छन् । सरकारले पसल सञ्चालनका लागि निर्णय गर्नुपर्ने त्यो भएन भने सैलुन व्यवसायीका परिवारलाई खानपिनका लागि सहयोग गर्नुपर्ने उनीहरूले बताएका छन् ।

प्रकाशित: १९ असार २०७७ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App