३० श्रावण २०७७ शुक्रबार
अर्थ

परम्परागत खेती तरिका त्याग्दै ताप्लेजुङको बुङ्कुलुङका किसान

स्थानीय झारपातबाट जैविक बिषादी बनाउने प्रयास गर्दै ताप्लेजुङको हाङ्देवा बुङ्कुलुङका किसान । तस्बिर : खगेन्द्र नागरिक

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङ्देवा बुङ्कुलुङका मिङ्मानोर्बु शेर्पाले कृषि पेशामा सर्मपित भएर दिन बिताएको करिव १२ वर्ष भयो । बाजेले जे गरे उनका बाबुले पनि त्यहिँ । बाबुको लय छोरा मिङ्मा नोर्बुले समेत समाउँदै आए । ‘परम्परागत खेती गरिँदो रहेछ,यसो मौसम हेर्यो, त्यसलाई सुहाउँदो खेती गर्न थालिहाल्यो’ मिङ्मानोर्बुले भने । 

अब भने उनलाई पुरानै ढर्राको खेती किसानी असम्भव रहेछ जस्तो लाग्न थालेको छ । अब उनले तत्कालै खेती गर्ने ठाउँको माटो परीक्षण गर्ने योजना बनाएका छन्। मौसमी पात्रो तयार गर्ने र त्यहिँ पात्रो अनुसार चल्ने उनको योजना छ । स्थानीय जडिबुटी र झारपात प्रयोग गरेर उनले जैविक बिषादी बनाउने छन्। बिगतमा बालीमा रोगकिरा लागे रसायनिक बिषादी प्रयोग गरिहाल्ने परम्परा उनको दिमागबाट हटेको छ । 

उनी कुन समयमा, कस्तो प्रकार र कसरी बाली लगाउने भन्नेमा जानकार बनेका छन्। ‘कम्तिमा दुई सेन्टिमिटर सम्म फरक पारेर तरकारी बाली रोपण गरे राम्रो हुने रहेछ’ यसको फाईदा बारे बताउँदै मिङ्मानोर्बुले भने‘यस्तो रोपणले पानी र रोगकिराको असरबाट समेत बचाउने रहेछ’ । यसअघि मकैको फेदमा सिमी खेती गर्दै आएका उनलाई अब त्यो लाभदायी हुदैन भन्ने ज्ञान पनि पलाएको छ । भन्छन्, ‘बरु ठाउँ अलग गरेर रोप्छु र अहिलेभन्दा बढी उत्पादनका लागि कोशिश गर्छु ।’  

कुम्भकर्ण लघु उद्यम समूहमा आबद्ध भएका त्यहाँका किसान मध्येकी एक हुन् निङ्मादिकी शेर्पा । किसानी पेशामा आबद्ध भएको उनको जीवनको समयले पनि एक दशक नाघी सकेको छ । तर खेती कसरी गर्ने भन्ने प्राविधिक ज्ञान भने उनले यसपटक मात्र पाईन् । अहिले सम्म खेती गर्ने ठाउँको माटो परीक्षण गर्नुपर्छ भन्ने ज्ञान नै थिएन उनमा । डढेली सहितका रोग लागे बजारमा आएर रसायनिक बिषादी लगेर छर्किन्थिन्। ‘दश वर्षपछि खेती गर्ने तरिका थाह पाएँ ।’ उनले भनिन् । 

अब उनी रोग किरा लागे रसायनिक बिषादी खोज्न बजार झर्ने होईन, झारपात र घरायसी औषधी मुलोको प्रयत्न गर्नेछिन्। सिस्नो, अंगेरी, बोझो, गाईको गहुँत, तितेपाती, बोझो, चिङ्फिङ, पदिना र टिम्बुर सहितका झारपात तथा जडिबुडीबाट घरमै बसीबसी रोगकिरा बिरुद्ध लड्ने जैविक बिषादी बनाउन सकिन्छ भन्ने मेसो पाएपछि त्यहाँका किसानले बालीमा रसायनिक बिषादी नलाउने निधो पनि लिएका छन् । 

‘घरमै बस्तुभाउको गोबर मल छ,जैविक मल उत्पादन गर्ने ज्ञान समेत पाए पछि अब हाम्रो गाउँको उत्पादन पूर्णतया अग्र्यानिक हुनेछ’कृषक दावा शेर्पाले बताए । त्यहाँका किसानले अग्र्यानिक उत्पादन मात्र होईन,परम्परागत खेती प्रणालीलाई समेत त्याग्ने भएका छन् । स्थानीय कृषक लाक्पानुपु शेर्पाले नयाँ प्रविधि र नयाँ सिकाईबाट खेती गरे उत्पादन र गुणस्तरमा समेत बृद्धि हुने अनुमान लगाएका छन् । उनको खेतबारीमा यसैवर्षबाट नयाँ ढंगबाट उत्पादन सुरु हुने छ ।  

परम्परागत खेती प्रणाली अवलम्वन गर्दै आएका कृषकहरुलाई बैज्ञानिक तवरले अग्र्यानिक खेती गर्ने सीप प्रदान गर्न गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा)मार्फत व्यवसायिक खेती सम्वन्धी सैद्धान्ति, प्राविधिक र अभ्यासमुलक ज्ञान दिएको थियो । परम्परागत खेती प्रणाली बिस्थापन गरेर नयाँ ढंगबाट उत्पादन गर्ने कार्यमा कृषकहरु उत्साहित देखिएको त्यहाँका लागि खटिएकी उद्यम विकास सहजकर्ता कल्पना शिवाकोटीले बताईन् । 

कार्यक्रम कार्यान्वयन गर्ने संस्था कञ्चनजंघा महिला विकास केन्द्रका कार्यक्रम संयोजक गोपाल न्यौपानेले लामो समय देखि खेतीपातीमा आबद्ध रहेपनि प्राविधिक र सैद्धान्तिक ज्ञानको अभावमा गुणस्तरीय र अग्र्यानिक उत्पादन लिन नसकेका किसानलाई लाभ पुर्याउन किसानलाई सीप विकास सम्वन्धी अनुशिक्षण गराईएको बताए । 

ताप्लेजुङको निर्वाचन क्षेत्र नं १(क) मा मेड्पाको कार्यक्रम कार्यान्वयन गर्ने जिम्मेवारी कञ्चनजंघा महिला विकास केन्द्रले पाएको छ । उद्योग अधिकृत देउप्रकाश तामाङले उपयुक्त नर्सरी, माटो सुहाउँदो बाली, गुणस्तरीय र अग्र्यानिक उत्पादन, जैविक बिषादी र मलको प्रयोग र हावापानीको उचित व्यवस्थापनले उत्पादन र उत्पादकत्वमा बृद्धि हुने ज्ञान पाउनु नै किसानका लागि सबैभन्दा ठूलो सम्पति हुने बताए । 

प्रकाशित: १९ असार २०७७ १७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App