coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोरोना नियन्त्रणमा २७ करोड खर्च

कोरोना नियन्त्रणमा गरिएको खर्च सार्वजनिक गरिंदै । तस्बिरः चुमन बस्नेत/नागरिक

प्रदेश १ मा कोरोना नियन्त्रण, रोकथाम र उपचारमा २७ करोड रुपैयाँ खर्च भएको छ । शुक्रबार प्रदेश सरकारले पत्रकार सम्मेलन गरी कोरोना नियन्त्रण, रोकथाम र उपचारमा २७ करोड३३ लाख ८९ हजार रुपैयाँ खर्च भएको जानकारी  गराएको हो ।

पत्रकार सम्मेलनमा  प्रमुख सचिव दिनेश भट्टराईले प्रदेश १ मा २७ करोड ३३ लाख ८९ हजार ८ सय ९० रुपैयाँ विभिन्न मन्त्रालयलाई निकासा भई खर्च हुनेक्रममा रहेको बताए । प्रदेश १ मा हाल सम्म कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि ३३ करोड ५४ लाख १ हजार रुपैयाँ प्राप्त भएको छ ।

भट्टराईका अनुसार प्रदेश १ मा कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि प्रदेश सरकारले गठन गरेको कोरोना जनसुरक्षा कोषमा प्रदेश सरकारकातर्फबाट २५ करोड, नेपाल सरकारबाट ४ करोड र बैंक तथा वित्तीय संस्थाबाट १ करोड ८६ लाख प्राप्त भएको छ । यस्तै   प्रदेश पदाधिकारी तथा कर्मचारीबाट १ करोड ६४ लाख ६० हजार,उद्योग तथा व्यवसायीबाट ७४ लाख ८० हजार र अन्य संघ संस्था तथा व्यक्तिबाट २८ लाख ५८ हजार रुपैयाँ गरी कुल ३३ करोड ५४ लाख १ हजार रुपैयाँ प्राप्त भएको भट्टराईले जानकारी दिए ।  

भट्टराईले प्रदेश १ मा असार १८ गतेसम्म ५ सय ८८ जनामा कोरोना संक्रमण भएको र ४ सय जना उपचारपछि घर फर्किसकेको बताए । सरकारले प्रदेश १ का ३ वटा अस्पतालको स्तारोन्नति गरेर वेड संख्या थप्ने तयारी गरेको छ । जसमा कोसी अस्पतालमा २ सय वेड थपेर ३ सय पु¥याउने, मेची अस्पतालमा २ सय आइसोलेशन वेड राख्ने र धाइजन हेल्थपोष्टमा २५ वेडको आइसोलेसन बनाउने तयारी गरिएको छ । पत्रकार सम्मेलनमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ मा कोरोना संक्रमण रोमथाम र  नियन्त्रणको काम प्रभावकारी रुपमा भएको दाबी गरेका छन् । ‘प्रदेशमा प्रभावकारी रुपमा काम भएकै कारण हालसम्म समुदायमा कोरोना संक्रमण फैलिएर विकराल अवस्था नआएको हो ।’  

राईले कोरोना रोकथाम र नियन्त्रणमा प्रदेश सरकारले खर्चहरू पारदर्शी रुपमा गरेको दाबी पनि गरे । राईले भने, ‘कोरोना नियन्त्रण, रोकथाम र उपचारका काममा पारदर्शी रुपमा खर्च गर्न सुरूदेखि नै निर्देशन दिइएकाले सबै खर्च पारदर्शी भएको हो ।’ राईले महामारी रोकथामका लागि आगामि दिनमा प्रदेश सरकारले थप प्रभावकारी कदम चाल्ने पनि जानकारी दिए ।

प्रकाशित: १९ असार २०७७ ११:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App