६ वैशाख २०८१ बिहीबार
अर्थ

बागमती प्रदेश : विदेशबाट फर्कने थपिदै, परीक्षणको दायरा बढाइने

कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । कोरोनाको त्रासपछि विदेशमा रहेकाहरू स्वदेश फर्कने क्रममा छन् । पर्याप्त किट नहुदाँ विदेशबाट फर्कने सबैको स्वाब संकलन गरिएको छैन भने स्वाब संकलन गरि प्रयोगशालामा पठाइएकाहरूको पनि परीक्षण कार्य सुस्त देखिएको छ । बागमती प्रदेशमा भारतबाहेक अन्य देशबाट फर्कनेको संख्या पाँच हजार भन्दा बढी रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका स्वकिय सचिव सन्देश सुवेदीले बताए । यो क्रम प्रतिदिन बढ्दो छ ।

विदेशबाट आउनेहरूलाई उपत्यकाका विभिन्न ठाउँमा होल्डिङ सेन्टरमा राखि सम्बन्धित जिल्ला जिल्लामा पठाउने गरिन्छ । जिल्लामा निर्माण गरिएको क्वारेन्टिनमा १४ दिन वा होम क्वारेन्टिनमा बस्न चाहेमा २१ दिन बस्नुपर्ने हुन्छ । तर पर्याप्त किट नहुदाँ विदेशबाट आउने सबैको परीक्षण हुन सकेको छैन । संक्रमित बढ्दै जादाँ बागमती प्रदेशमा आवश्यक सामग्री, पीसिआर टेष्ट र प्रयोगशालाको क्षमता बढाउन सामाजिक विकास मन्त्रालयले व्यवस्था मिलाउने बताइएको छ ।

विदेशबाट आउनेहरूको संख्या बढी रहेका ठाउँमा स्थानीय तहहरू आफैले नै किट किनेर स्बाब संकलन गरिएको छ । यसरी संकलन गरिएको स्वाब प्रयोगशाला परीक्षणको दायरा बढाउन नसक्दा रिपोर्ट आउन ढिलाई हुने गरेको स्वास्थ्यकर्मीहरूको भनाई छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा बिहिबारसम्म ७ हजार ६ सय ५४ स्बाब संकलन भएकोमा सबैको पीसिआर परीक्षण भएको ल्याब इन्चार्ज नितु अधिकारीले जानकारी दिइन् ।

त्यस्तै धुलिखेल अस्पताल, काभ्रेमा ७ हजार ५ सय ५० व्यक्तिको स्बाब संकलन भएकोमा ७ हजार ४ सय ७३ जनाको पीसिआर परीक्षण भइसकेको छ भने अब ७७ जनाको परीक्षण बाकी रहेको अस्पतालले जनाएको छ । त्यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडा बुधबारसम्ममा ७ हजार ९ सय २ स्वाब संकलन गरिएकोमा ३ सय १० वटाको रिर्पोट आउन बाँकी रहेको केन्द्रका प्रबक्ता डा. पुरुषोत्तम सेढाईले बताए ।

बागमती प्रदेशभित्र काठमाडौँ उपत्यकासहित सात ठाउँबाट परीक्षण गरिन्छ । काठमाडौँ उपत्यकाभित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, वीर अस्पताल काठमाडौँ, त्रिभुवन विश्व विद्यालय टिचिङ अस्पताल महाराजगंज काठमाडौँ, पाटन अस्पताल ललितपुरमा स्बाब परीक्षण गरिन्छ ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा ११ हजार १ सय ८५ वटा क्वारेन्टिन बेड व्यवस्थापन गरेकोमा २ हजार २ सय १७ जना बस्दै आइरहेका छन् । १ हजार २ सय ८६ वटा आइसोलेसन बेड तयारी अवस्थामा रहेको छ भने २ सय ५७  जना बस्दै आइरहेका छन् ।

संक्रमित थपिदै जाँदा बाग्मती प्रदेशको कोभिड संकट व्यवस्थापन समितिले आइसोलेसन बेड थप गर्ने निर्णय गरेको छ । प्रदेशका १३ वटै जिल्लाहरूमा गरी २ हजार ४ सय ५० थप्ने निर्णय गरेको छ । बागमती प्रदेश कोरोना कोषमा जम्मा ४३ करोड १९ लाख २९ हजार ९ सय २ रुपैयाँ संकलन भएको छ । १ सय १९ वटा स्थानीय तहमा १३ करोड ७ लाख र १२ जिल्ला प्रशासन कार्यालयहरूमा ६० लाख निकासा गरिएको छ ।

प्रकाशित: १८ असार २०७७ १४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App