१५ चैत्र २०८० बिहीबार
अर्थ

रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने

कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको रसुवागढी नाका आउँदो सोमबारदेखि सञ्चालनमा आउने भएको छ। रसुवा भन्सार कार्यालय रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बिहीबारदेखि चीनको केरुङमा सामग्री लोड हुन थालेको भएपनि सोमबारबाट मात्र सामग्री आयात हुने बताए। ‘बिहीबारदेखि सामग्री लोड हुन थालेको छ’, उनले भने, ‘सोमबारदेखि सामग्री आयात हुने चिनियाँ पक्षले बताएका छन्।’

गत साता (बुधबार) बसेको दुई देश बीचको सीमा सुरक्षा बैठकले केही सर्त राखेर नाका सञ्चालनमा ल्याउने सहमति गरेको थियो। सहमति अनुसार सहमति अनुसार नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण उपलब्ध गराइसकेका छन्।  

नाका सञ्चालनमा आएपछि मितेरी पुलसम्म चिनियाँ पक्षले नै सामग्री ल्याइदिने छन्। सुरुमा ट्रायलका लागि चिनियाँ चार वटा ट्रकले सामग्री लिएर मितेरी पुल आउने छ। मितेरी पुलमा सामग्री लिन जाने चालक तथा लोड अनलोडका लागि जाने कामदारको दैनिक परीक्षण गरिने छ। मितेरी पुलबाट पारी जान पाइने छैन भने प्यासेन्जर निषेधित क्षेत्र बनाइने छ।  

कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो। चीनसँग सञ्चालनमा रहेका दुईवटा नाकामध्ये सिन्धुपाल्चोकको तातोपानी नाका यसअघि नै सञ्चालनमा आइसकेको छ। सुरुमा स्थानीयले कोरोना भाइरस भित्रन सक्ने त्रासमा नाका नखोल्ने अडान लिएको कारण नाका सञ्चालनमा आउन सकेको थिएन।  

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ।  

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।गएको फागुन अन्तिमसम्म केरुङमा बसिरहेका तथा केरुङको व्यवसाय सञ्चालन गर्ने व्यक्ति जाने तथा आउने गरेका थिए।  

प्रकाशित: १८ असार २०७७ ११:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App