८ वैशाख २०८१ शनिबार
अर्थ

ठमेल पनि झोंछे बन्ने चिन्ता

गत शुक्रबार खिचिएको तस्बिरमा सुनसान ठमेल। तस्बिर: नागरिक

२८ वर्षदेखि ठमेलमा व्यापार गर्दै आएका बेलकोटगढी–१२, नुवाकोटका बसन्त अधिकारी पछिल्लो समय पर्यटकलक्षित होटल सञ्चालनको तयारीमा थिए। होटल सञ्चालनका लागि उनले ठमेलमा पाँचतल्ले घरको संचरना तयार गरिसकेका छन्। तर उनी तयार भइसकेको उक्त घर फिनिसिङ गर्ने मुडमा छैनन्।

‘अहिले पर्ख र हेरको अवस्थामा छु,’ उनले भने, ‘ठमेल पहिलेकै अवस्थामा फर्किन्छ कि फर्किंदैन त्यो यकिन नभई थप लगानी गर्दिनँ।’

कोभिड १९ को महामारीले ६ महिनाको अवधिमा विश्वभर पाँच लाख मानिसको ज्यान लिइसकेको छ। सुरुदेखि नै कोरोना जित्ने औषधी वा खोप पत्ता लगाउने अभियानमा लागेका वैज्ञानिकहरु त्यसतर्फ निकै अगाडि पुगिसकेका छन्। बेलायतको अक्सफोर्ड युनिभर्सिटी, चीनको सिनोफार्म र क्यानसिनो लगायतले विकास गरेको खोप क्लिनिकल परीक्षणको तेस्रो चरणमा प्रवेश गरिसकेका छन्। कोरोना भाइरसविरुद्ध प्रभावकारी सिद्ध भइसकेका यी खोपहरुको साइड इफेक्ट घातक भएन भने आगामी सेप्टेम्बर या अक्टोबरदेखि सर्वसाधारणले खोप लगाउन पाउने अपेक्षा वैज्ञानिकहरुको छ।  

यी बाहेक दर्जनौं खोप पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणमा छन्। र यसै वर्षको अन्त्यसम्ममा कोरोनाविरोधी प्रभावकारी खोप बजारमा आइसक्ने विश्वास वैज्ञानिकहरुको छ। यो विषयमा धेरै कुरा सुनेका अधिकारी निकट भविष्यमै कोरोना महामारीबाट विश्वले मुक्ति पाउने र पेसा, व्यवसाय र जनजीवन पुरानै लयमा फर्किनेमा विश्वस्त भए पनि ठमेलको आकर्षण फिर्ता हुनेमा सन्देह व्यक्त गर्छन्। ‘राजधानीको पर्यटकीय हब ठमेलबाट सिफ्ट हुन सक्छ,’ सन् १९६० को दशकमा विश्वभर ख्याति कमाएको झोंछेको विगत सुनेका र वर्तमान देखेका अधिकारीले भने, ‘सरोकारवालाले अहिले होस् पु¥याएनन् भने ठमेल दोस्रो झोंछे बन्न सक्छ।’

पर्यटन व्यवसायी विस्थापित भए भने ठमेलको पहिचान गुम्नेछ, त्यसपछिको अवस्था कल्पना नै गर्न नसकिने बन्छ।–बसन्त अधिकारी, व्यवसायी

सन् १९६० को दशकमा विश्वभरका पर्यटक तान्न सफल झोंछेमा अहिलेका अधिकांश पर्यटक पुग्दैनन्। सन् १९६०–७० को दशकतिर झोंछेको ‘फ्रिक स्ट्रिट’मा खुला रुपमा बिक्री हुने चरेस र गाँजाले विश्वविख्यात गायक बब मार्लेसम्मलाई काठमाडौं तानेको थियो। सन् ७० को दशकमा अमेरिकी सरकारको अनुरोधमा नेपालले चरेस र गाँजाको खुला बिक्रीमा प्रतिबन्ध लगाउँदै विदेशी पर्यटकमाथि ड्रेस कोड लागू गरेको एउटै घटनाले झोंछेको चमक रातारात हराएर गयो। ठीक त्यही बेला विदेशीसामु उपयुक्त विकल्प पस्केर चम्किएको ठमेल अहिले नेपालकै प्रमुख पर्यटकीय हबको रुपमा छ। ठमेल पुग्ने पर्यटकको तथ्यांक नभए पनि नेपाल आएकामध्ये लगभग सबै विदेशी त्यहाँ पुग्ने व्यवसायी बताउँछन्।

ठमेल क्षेत्रले होटल, रेस्टुराँ, गेस्टहाउस, खुद्रा पसल, मसाज सेन्टर, ट्राभल एजेन्सी, टुर कम्पनी, कार्गो, मनी एक्सचेन्ज जस्ता सयौं व्यवसायलाई सफलताको शिखरमा पु-याएको छ। ठमेलबाटै व्यवसाय सुरु गरेका बाग्लुङका चन्द्रप्रसाद ढकाल अहिले मुलुकको प्रतिष्ठित व्यवसायीमा मात्र गनिँदैनन्, निजी क्षेत्रकै सर्वोच्च संस्था नेपाल उद्योग वाणिज्य महासंघलाई नेतृत्व गर्ने दौडमा समेत सामेल छन्। यस क्षेत्रले हजारौंलाई प्रत्यक्ष र लाखौंलाई अप्रत्यक्ष रुपमा रोजगारी दिएको व्यवसायीको भनाइ छ। काठमाडौंको पर्यटनमा झण्डै आधा शताब्दी एकछत्र बर्चश्व कायम गरेको ठमेलको भविष्यप्रति अधिकारीजस्ता धेरै व्यवसायी चिन्तित छन्।

राजधानीमा महँगो भाडा तिर्नुपर्ने मध्येको एक इलाका ठमेलमा यतिबेला घरधनी र भाडाको घरमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीबीच बहालको विषयमा दोहोरी चलिरहेको छ। लकडाउन सुरु हुनुअघिदेखि नै पर्यटक आगमन घटेर व्यवसाय गुमाउन थालेका व्यवसायी एक सुको आम्दानी नगरी भाडा तिर्नुपर्ने बाध्यतामा छन् भने घरधनीका आफ्नै समस्या छन्। घरभाडामात्र आम्दानीको स्रोत भएका व्यक्तिलाई बैंक ऋणको किस्ता र पारिवारिक खर्चमा चासो छ। लकडाउन अवधिको भाडा छुट दिँदा यी दुवै खर्च टार्ने स्रोत उनीहरुसँग नहुन सक्छ भन्छन्, अधिकारी।

कतिपय घरधनीहरु भाडा घटाउन वा छुट दिन नसकिने अडानमा रहेको व्यवसायीको भनाइ छ। ‘लकडाउनपछिको समय पनि यसअघिकै जस्तो हुन्छ भन्ने भ्रमले कतिपय घरधनी आफ्नै अडानमा छन्,’ ठमेलमा ३५ वर्षदेखि ठमेलमा पर्यटकलक्षित गार्मेन्ट पसल सञ्चालन गरिरहेका व्यवसायी कृष्णमान श्रेष्ठले भने, ‘तर त्यो सोच उनीहरुकै लागि घातक बन्न सक्छ।’ झोंछेमा पर्यटक घटेपछि ठमेल सरेका श्रेष्ठ पोल इन्टरप्राइजेज नामको फर्ममार्फत व्यवसाय गरिरहेका श्रेष्ठ कोभिड महामारी सकिएपछि पनि ठमेलमा टिक्न सकिँदैन कि भन्ने डर बढेको बताउँछन्।  

लकडाउनकै कारण ठमेल क्षेत्रका दुई सय हाराहारी व्यवसायी पलायन भइसकेको नेपाल निर्यात परिषद् र नेपाल तयारी पोसाक उद्योग संघका कार्यसमिति सदस्य समेत रहेका अधिकारी बताउँछन्। ‘कसै कसैले त सात सय व्यवसायी पलायन भइसके पनि भनेका छन्,’ तर त्यसो होइन दुई सय जति चाहिँ पलायन भएका छन्।’ दैनिक आउने पर्यटकमा निर्भर साना आकारका व्यवसाय सञ्चालन गर्नेसँग पलायनको विकल्प नभएको ठमेललाई राम्रोसँग चिनेको दाबी गर्ने अधिकारीले बताए।

हुन पनि ठमेल अचेल सुनसान छ। सम्बद्ध व्यवसायीका अनुसार पर्यटक आएनन् भने यहाँका रेस्टुरेन्ट र चियापसल बाहेकका कुनै पनि व्यवसायले ग्राहक पाउँदैनन्। मंगलबार साँझतिर कुराकानी गर्दा ठमेल क्षेत्रका एक दर्जन व्यवसायीले व्यवसाय खोले पनि कैयौं दिनदेखि ग्राहकको अनुहार देख्न नपाएको बताए। पर्यटकीय बजारको रुपमा नाम कमाएको ठमेलमा किनमेल गर्न स्वदेशी नागरिक कमै पुग्ने उनीहरुको अनुभव छ। स्वदेशीले खोज्ने चिज पनि थोरै मात्र छ ठमेलमा। ‘यस्तो अवस्था कति लम्बिने हो थाहा छैन। बिना आम्दानी कति दिन धान्न सकिएला र !’ सबैजसो व्यवसायीको गुनासो यस्तै पाइयो।

‘विश्वभरी नै कोरोना महामारी फैलिएकोले ठमेलको पर्यटन व्यवसाय पहिलेकै लयमा फर्किन कति समय लाग्छ, अहिले नै भन्न सकिँदैन,’ अधिकारी भन्छन्, ‘औषधी पत्ता लगाएर कोरोना जितिसक्दा पनि पर्यटन क्षेत्र पहिलेकै लयमा फर्किन समय लाग्छ। शताब्दीकै ठूलो आर्थिक मन्दी सुरु भएसँगै विश्वभरका करोडौं मान्छेको रोजगारी गुमेकाले धेरैका विदेश घुम्ने योजना स्थगित हुन सक्छ।’

काठमाडौं उपत्यकामा बढ्दो होमस्टे लगायत पर्यटकलाई आवासको सुविधा दिने वैकल्पिक प्रबन्धले ठमेलका पर्यटक खोस्न सक्ने आशंका त्यहाँका व्यवसायीलाई छ। ‘अब त होसियारीका साथ अघि बढ्न सकिएन भने ठमेलको नामले मात्रै पर्यटक आकर्षित नगर्न सक्छ,’ अधिकारी भन्छन्, ‘पर्यटक आएनन् भने ठमेल भूतको सहर बन्न सक्छ।’

ठमेलमा ८० प्रतिशत हाराहारी बाहिरका व्यवसायी छन्। यहाँ बसोबास गर्नेमा २० प्रतिशत मात्रै स्थानीय छन्। ‘पर्यटन व्यवसायी विस्थापित भए भने ठमेलको पहिचान गुम्नेछ, त्यसपछिको अवस्था कल्पना नै गर्न नसकिने बन्छ,’ अधिकारीले तयार भइसकेको घर फिनिसिङ गर्ने योजना स्थगित गर्नुको कारण खुलाए।

त्यसो भए कोभिड १९ को महामारीपछि पनि ठमेलको रौनक हराउन नदिने उपाय के त ? अधिकारी भन्छन्, ‘घरधनी र व्यवसायी दुवैको बुद्धिमत्तापूर्ण निर्णय; ता कि दुवै पक्षले जित्ने वातावरण बनोस्। मेरो गोरुको बाह्रै टक्काको अडान कसैले पनि लिनु हुँदैन, ठमेलको दीर्घकालीन हितमा हुने निर्णय लिनुपर्छ। तत्कालीन फाइदा मात्र हेर्न थालियो भने कोभिडपछि ठमेल झोंछे बन्नेछ।’

प्रकाशित: १८ असार २०७७ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App