१५ चैत्र २०८० बिहीबार
अर्थ

देखिएन धान दिवसको रौनक

धान रोप्नका लागि हिलो सम्याउँदै खोटाङ इन्द्रेणीपोखरीका किसान इन्द्र नारथुंगे। तस्बिर : नागरिक

अहिले अधिकांश किसानलाई आ–आफ्नै खेतमा धान रोप्न भ्याइ–नभ्याइ छ। किसान खेतमा धान रोप्न व्यास्त रहँदा असार १५ लाई धुमधामकासाथ धान दिबसकारुपमा मनाउने गरिएको छ। तर, कोरोना भाइरसको संक्रमणका कारण यसवर्ष खोटाङमा धान दिवस औपचारिकतामै सिमित भए। किसानहरु खेतमा आँठा हाल्न, बाउसे गर्न र छुपुछुपु धान रोप्न व्यस्त छन् तर सरकारी तवरबाट आयोजना हुँदै आएको धान दिवस औपचारिकताका लागि मात्र आयोजना गरिए। 

किसानमा उर्जा भर्ने धान दिबस नहुँदा यसपल्ट हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्दै सामुहिकरुपमा रोपाई गरेको दृश्या देखिएन। दही, चिउरा, लिची, काँक्रा, उसिनेको मकै लगायतका परिकार खाँदै मनाइने दिवस सुनसान जस्तै बनेको छ।  

कोरोना कहरका कारण हाल हरेक कार्यक्रममा बढिमा २५ जना मात्र उपस्थित हुन मिल्ने व्यवस्था छ। त्यही भएकाले कृषि ज्ञान केन्द्र र सरस्वती माबि दिक्तेलले संयुक्तरुपमा सामान्य तरिकाले धान दिवस मनाएको छ। विगतमा स्थानीय तह, सरकारी कार्यालय, संघसंस्था, किसान लगायतका प्रतिनिधिको सहभागीतामा धुमधामका साथ धान दिबस मनाउने अभ्यास भए पनि यसपल्ट औपचारिकताका लागि भौतिक दुरी कायम गरेर दिवस मनाउने व्यवस्था मिलाइएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले बताए।  

यस्तै, हरेक वर्ष धुमधामका साथ धान दिवसको आयोजना गर्दैआएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि यसपल्ट बाम्राङमा केही प्रतिनिधि मात्र पठाएर दिवस मनाएको छ। भीडभाड गर्ने अवस्था नभएकाले नगरपालिकाका केही प्रतिनिधि र केही किसानको उपस्थितिमा मात्र धान दिवस मनाउने व्यवस्था मिलाइएको नगरपालिकाका कृषि शाखाका कृषि प्रशार अधिकृत धर्मेन्द्र कलौनीले बताए। ‘हिलो छ्यापाछ्याप गर्ने, नाचगान गर्दै रमाईलो गर्ने अवस्था छैन,’ कलौनीले भने, ‘थोरै संख्यामा छ फिटको दुरी कायम गरेर धान दिवस मनाउन निर्देशन नै आएको छ।’  

३० प्रतिशत रोपाई सकियो  

खोटाङमा करिब ३० प्रतिशत रोपाई सकिएको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आईतबारसम्ममा ३० प्रतिशत रोपाई सकिएको हो। धान खेती हुँदैआएको १२ हजार ८९८ हेक्टर खेतमध्ये हालसम्ममा ३ हजार ९ सय हेक्टरमा रोपाई भइसकेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले बताए। यसपल्ट बेलामा वर्षा भएकाले जिल्लामा तुलनात्मकरुपमा रोपाई चाँडो भएको हो। बेलामा पानी नपर्दा गत वर्ष यो बेला करिब १० प्रतिशत मात्र रोपाई भएको थियो।  

प्रकाशित: १५ असार २०७७ ०९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App