७ वैशाख २०८१ शुक्रबार
अर्थ

किसानलाई रोपाइँ चटारो : सुदूरपश्चिममा २२ प्रतिशत रोपाइँ

रोपाइँ गर्दै कैलालीका किसान । तस्बिरः पुष्पराज जोशी/नागरिक

अघिल्लो वर्ष असार १५ गतेसम्म २२ प्रतिशत रोपाइँ भएको सुदूरपश्चिम प्रदेशमा यस वर्ष भने चाँडै मनसुन भित्रिएसँगै असार पहिलो सातासम्म २२ दशमलव १६ प्रतिशत रोपाइँ भएको छ ।  

मनसुन चाँडै भित्रनु र लक डाउनका कारण फूर्सदिला किसानले चाँडै धानको ब्याड राखेका कारण अन्य वर्षको तुलनामा यस वर्ष सुदूरपश्चिम प्रदेशमा रोपाइँ अगाडि भएको प्रदेश कृषि निर्देशनालयका कृषि निर्देशक यज्ञराज जोशीले बताए । ‘मनसुन चाँडै भित्रनु र सिँचाइ सुविधा पनि विस्तार गरिएका कारण विगतका वर्षभन्दा यस वर्ष चाँडै रोपाइँ सुरु भएको हो,’ उनले भने,‘सिँचाइ सुविधा विस्तार भएका कारण पनि किसानलाई यस वर्ष रोपाइँ गर्न सहजता भएको छ ।’  

सुदूरपश्चिम प्रदेशमा १ लाख ८१ हजार ६ सय ४ हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा यस वर्ष अहिलेसम्म ४० हजार २ सय ४४ हेक्टर अर्थात् २२ दशमलव १६ प्रतिशत जमिनमा रोपाइँ भइसकेको प्रदेश कृषि निर्देशनालय दिपायलले जानकारी दियो ।  

सुदूरपश्चिम प्रदेशमा धानको उर्वरभूमि मानिने कैलाली र कञ्चनपुरमा भने सबैभन्दा कम रोपाइँ भएको छ । अहिलेसम्म कञ्चनपुरमा सबैभन्दा कम १५ प्रतिशत र कैलालीमा १७ प्रतिशत मात्रै रोपाइँ भएको प्रदेश कृषि निर्देशनालयको तथ्याङ्कले बताउँछ । कञ्चनपुरमा ४८ हजार तीन सय ७५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म ७ हजार दुई सय ५६ दशमलव ३ हेक्टर जमिनमा  रोपाइँ गरिसकिएको छ । 

यस्तै कैलालीमा ७१ हजार सात सय १५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म १२ हजार एक सय ९१ दशमलव ६ हेक्टर जमिनमा रोपाइँ भएको छ । पहाडी जिल्ला बाजुरामा सबैभन्दा बढी ४५ प्रतिशत रोपाइँ भएको प्रदेशक कृषि निर्देशनालयको तथ्याङ्क रहेको छ । ७ हजार दुई सय २० हेक्टर जमिनमा धान खेती हुने बाजुरामा तीन हजार दुई सय ४९ हेक्टरमा रोपाइँ सकिएको छ । 

अछाम र बैतडीमा ४०÷४० प्रतिशत रोपाइँ भएको छ । अछाममा धान खेती हुने १६ हजार ५ सय ८० हेक्टरमा ६ हजार ६ सय ३२ हेक्टर र बैतडीमा धान खेती हुने ९ हजार हेक्टरमध्ये तीन हजार ६ सय हेक्टरमा रोपाइँ भएको कृषि निर्देशक जोशीले जानकारी दिए । दार्चुलामा ३५, डोटी र बझाङमा २५÷२५ र डडेल्धुरामा २० प्रतिशत भू–भागमा धान रोपाइँ सकिएको छ । 

दार्चुलामा ४ हजार ४ सय ४८ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा एक हजार ५ सय ६८, बझाङमा ७ हजार एक सय १० हेक्टरमा एक हजार ७ सय ७६ र डोटीमा १० हजार ८ सय ९८ हेक्टरमा धान खेती हुने गरेकोमा दुई हजार ७ सय २५ हेक्टर जमिनमा रोपाइँ सकिएको छ । त्यसैगरी डडेल्धुरामा ६ हजार दुई सय २६ हेक्टरमा धान खेती गरिँदै आएकोमा एक हजार दुई सय ४५ हेक्टरमा रोपाइँ सकिएको छ ।  

कैलाली र कञ्चनपुर सिंञ्चित क्षेत्रसँगै असिंञ्चित क्षेत्रमा पनि असार नलाग्दै पानी परेका कारण धान रोपाइँ चाँडै भएको कैलाली र कञ्चनपुरको कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले बताए । उनले भने,‘किसानले चाँडै बीउ राखेको र मनसुन चाँडै भित्रिएका कारण पनि रोपाइँ चाँडै भएको हो ।’ मनसुन यहि गतिमा भइरहेमा यस वर्ष अन्य वर्षको तुलनामा धान फसल राम्रो हुने पनि उनले बताए । ‘यसरी नै मनसुन भइरहेमा यस वर्ष फसल राम्रो हुन्छ,’ उनले भने,‘तर पनि रोगब्याधि र अन्य कुराले प्रभाव नपारेमा समग्रमा उत्पादन राम्रो हुन्छ ।’ 

प्रकाशित: ९ असार २०७७ ११:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App