८ वैशाख २०८१ शनिबार
अर्थ

कनेक्ट आइपिएसबाट गरिने भुक्तानीको सीमा हटाउन सुझाव

सेयर बजारमा अनलाइन कारोबार गर्दा कनेक्ट आइपिएसबाट गरिने भुक्तानीको सिमा हटाइनुपर्ने सुझाव दिएका छन्। आइतबार आगामी मौद्रिक नीतिमा पुँजी बजारका समावेश हुनुपर्ने विषय आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको बेबिनारमा सहभागी लगानीकर्ताले यस्तो सुझाव दिएका हुन्।  

त्यस्तै, मार्जिन कर्जाको सीमा ८० प्रतिशत राख्नुपर्ने पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन्। कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले सेयर कर्जामा असुल्दै आएको चर्को ब्याजलाई पनि घटाउनुपर्ने मा गरिन्। ‘लगानीकर्ताको मागलाई बोर्डले अनिवार्य रुपमा पुरा गर्नुपर्छ,’ उनले भनीन्।  

पोखरेलले तीन महिना बजार बन्द हुँदा सबैभन्दा बढी  लगानीकर्ता पीडित भएको गुनासो गरिन्। नियामक निकायको कमजोरीका कारण बजार खुल्न नसकेको उनको आरोप लगाइन्। सेयर बजारको लागि नीतिगत सुधार आए पनि कार्यान्वयन हुन नसकेको उनले बताइन्। पूर्ण अनलाइन भएको खण्डमा बजार बन्द गर्न नपर्ने भए पनि यसमा नियामक निकायले ध्यान दिन नसकेको उनको गुनासो छ।  

नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले सेयर बजारमा अहिले ग्रहण लागिरहेका बताए। बजारमा लागेको ग्रहण हटाउने जिम्मेवारी नेपाल राष्ट्र बैंकमा पुगेको बताए। वेबिनारमा बोल्दै अध्यक्ष रानाभाटले लामो समयदेखि बन्द रहेको बजार खुला गर्न राष्ट्र बैंकले पहलकदमी लिनुपर्ने सुझाव दिए। बजारका प्रत्यक्ष नियमनकारी निकायहरु राष्ट्र बैंकमा नै निर्भर भएकोले बजार सञ्चालन हुन नसकेको उनको भनाइ थियो। उनले बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा प्रवाह गर्ने कर्जाको सीमा बढाउनुपर्न, मार्जिन कलमा सहुलियत दिनुपर्ने लगायत विषयमा मौद्रिक नीतिमा समेट्नुपर्ने सुझाव दिए। यस्तै, सेयर धितोमा गएको कर्जाको ब्याज तिर्ने समय थप गर्नुपर्ने र धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोबारमा प्रवाह गर्ने ऋणको ब्याजदर बैंकले प्रवाह गर्ने कर्जाको भन्दा कम हुने व्यवस्था गर्न सुझाव दिए।

त्यस्तै, उनले विद्युतीय माध्यमबाट लगानीकर्ता र धितोपत्र दलालबीच रकम पठाउँदा र प्राप्त गर्दा रकमान्तर हुने रकमको सीमा हटाउन समेत सुझाए।  

अध्यक्ष रानाभाटले अहिले मार्जिन लेन्डिङको सेवा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए। साथै उनले बन्ड मार्केटलाई सहज रुपमा कारोबार गर्ने व्यवस्था मिलाउनुपर्ने, गैरआवासीय नेपालीलाई पनि दोस्रो बजारमा कारोबार गर्न लागि उपयुक्त वातावरण बनाउनुपर्ने सुझाव दिए।

त्यस्तै, सेयर बजारका विश्लेषक एवं लगानीकर्ता प्रकाश तिवारीले नेपालको सेयर बजार सबैभन्दा बढी समय बन्द भएको भनी गिनिज बुकमा नाम लेखाउने अवस्थामा पुगेको बताए। सेयर बजारले पुँजी निर्माण र तरलता सिर्जना गर्नुपर्ने भए पनि नेपालमा अझै त्यस्तो हुन नसकेको धारणा राखे। नेपालको पुँजी बजारबाट तरलता भन्ने चिज नै हराउने अवस्थामा पुगेको र झण्डै सय दिन बजार बन्द गराएर गिनिज बुकमा नाम लेखाउनुपर्ने अवस्थामा आएको भन्दै उनले आलोचना गरे।  

नेपालको सेयर बजार सरकार, धितोपत्र बोर्ड, नेप्से लगायत नियमनकारी निकायबाट नभई पुँजी बजार खोल्ने वा बन्द गर्ने निर्णय केही सीमित लगानीकर्ताको हातमा पुग्नु बजारको सबैभन्दा कमजोर र दुखद पक्ष भएको उल्लेख गरे। सेयर बजार स्वार्थ समूहको कब्जामा पुगेको उनको भनाइ थियो।

२७ वर्षको इतिहासमा नेपालको सेयर बजार अझै दयनीय अवस्थामा रहेको, इक्विटी मार्केटमा मात्रै केन्द्रित रहेको बताउँदै उनले बन्ड मार्केट, रियल सेक्टरका कम्पनीहरु भित्र्याउने पहल गर्न नसकेको आरोप लगाए। निक्षेपभन्दा बन्डमा बढी कर तिर्नुपर्ने अवस्था, डिजिटल पेमेन्ट गेटवेको अभाव, संस्थापक कारोबारको सहज कारोबार हुन नक्सनु लगायतले बजारमा विस्तार हुन नसकेका उनले बताए।

अहिलेको एनएफआरएस प्रणालीले सरकारले कर पाउने, कर्मचारीले बोनस पाउने लगानीकर्ताले लाभांश नपाउने अवस्था आउन सक्ने उनले बताए। त्यस्तै, गैरआवासीय नेपालीलाई यही अवस्थामा आऊ लगानी गर भन्दैमा आउन सक्ने अवस्था नरहेको उनको भनाइ छ। यहीँ बस्ने लगानीकर्ताले सहज रुपमा लगानी गर्ने र कारोबार गर्ने अवस्था नभइरहेको अवस्थामा बाह्य लगानीकर्तालाई भित्र्याउँछु भन्ने कोरा कल्पना मात्र भएको उनले बताए।  

धितोपत्र बोर्डको पूर्वअध्यक्ष सुरविर पौडेलले धितोपत्र बजारलाई राष्ट्र बैंक, सरकारले कम प्राथमिकतामा राखेको बताए। अब वास्तविक क्षेत्रका कम्पनीलाई ल्याउनुपर्ने उनको भनाइ छ। सूचीकृत हुन आउनेलाई कर्जामा सहुलिएर दिने नीति आवश्यक रहेको र यो भएको खण्डमा बजारको विकासमा सघाउ पुग्ने बताए। राष्ट्र बैंक तथा वित्तीय संस्थाको हितमा मौद्रिक नीति ल्याएको खण्डमा त्यसको प्रभाव बजारमा पर्ने उनको दाबी छ। नियामक निकायको रुपमा धितोपत्र बोर्डले काम गरिरहेको छ। तर एकैपटक रातारात काम गर्न नसकिने उनले बताए। ऐनमा भएको काम गर्दै जाने हो भने बोर्ड र बजारको विश्वसनीयता बढ्दै जाने उनले बताए।  

डा. गोपालप्रसाद भट्टले पुँजी बजारले सबै कामको लागि मौद्रिक नीतिको मुख ताक्नु दुखद भएको बताए। पुँजी बजारको नियामक निकाय भनेको धितोपत्र बोर्ड हो, त्यसैले बोर्ड आफैंले बजारको विकासका लागि आवश्यक उपकरण, लगानीकर्ताको सुरक्षा, आवश्यक तरलता व्यवस्थापन लागयत विषयमा बोर्ड आफैंले व्यवस्थापन गर्न उनले सुझाव दिए। ‘नेपालमा कर्जा दिने पनि बैंक तथा वित्तीय संस्था, लगानीकर्ताको उपकरण जारी गर्ने पनि बैंक तथा वित्तीय संस्था, मार्केट सञ्चालन गर्ने पनि वित्तीय संस्था,’ उनले भने। बजार विकासमा अन्य निजी क्षेत्रलाई परिचालन गर्नुपर्ने उनले बताए।

प्रकाशित: ८ असार २०७७ ०१:५६ सोमबार

भुक्तानी कनेक्ट आइपिएस