coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बेसार फलाउने योजना छैन, खाने मात्रै कुरा

प्रधानमन्त्री केपी शर्मा ओलीले आजकल आफ्नो सम्बोधनैपिच्छे रोग प्रतिरोधी क्षमता बढाउन बेसार खानुपर्ने सुनाउँछन्। त्यसो त उनले सुरु सुरुमा नेपालीको भान्सामा बेसार पाक्ने हुनाले कोरोनाको संक्रमण फैलन नसक्ने तर्क पनि गरे। उनको सुझाव र तर्कमा तथ्य के छ भन्ने कुरामा कमै चर्चा भए पनि सामाजिक सञ्जालमा बेसार जोडिएका स्टाटस भने आइरहन्छन्। प्रधानमन्त्रीले आफ्नो रटान दोहो¥याउन छाडेका पनि छैनन्।

एकताका उनीसहित उनका अर्का अध्यक्ष प्रचण्डले व्यवसायी दुर्गा प्रसाईको घरमा पुगेर मार्सी चामलको भात खाएको तस्बिर भाइरल भएपछि एकाएक मार्सी चामलको माग बढेको थियो। त्यो समय बाजुराका जयबहादुर सिंहले गाउँ पुगेर मार्सी धानको चामल लिएर काठमाडौंमा बिक्री गरको अनुभव सुनाए। ‘गाउँमा तराईबाट गएको चामलको भात खान मरिमेट्थ्यौं। तर यता गाउँको चामलको चर्चा हुन थाल्यो,’ सिंहले नागरिकसँग भने, ‘चामलको माग धान्न समेत गाह्रो भयो। त्यो समय एक किलोकै अढाइ सय रुपैयाँसम्ममा बिक्री गरियो।’ तर अहिले मार्सी धानको चामलको माग त्यत्ति नभएको उनको बुझाइ छ।

नेता जोडिँदा महत्व बढेको मार्सी धानको चामल जस्तै बेसारको माग पनि बढ्नुपर्नेमा त्यसो नभएको व्यापारी बताउँछन्। किराना व्यवसायी महासंघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्य प्रधानमन्त्रीले नभनेकै अवस्थामा पनि भान्सामा बेसार प्रयोग हुँदै आएकोले एक्कासि माग नबढ्ने बताउँछन्। ‘बेसार स्वास्थ्यका लागि आवश्यक कुरा त हो। तर उहाँले जसरी हचुवाका भरमा बोल्दै आउनुभएको छ, त्यसलाई सबैले ठट्टाका रुपमा लिएका छन्,’ बज्राचार्य भन्छन्, ‘तर दालचिनी, ल्वाङ जस्ता अरु मसलाजन्य पदार्थको माग केही बढेको महसुस गरेका छौं।’

स्वास्थ्य अनुसन्धान परिषद्का बोर्ड सदस्य समेत रहेका आयुर्वेद चिकित्सक डा. हेमराज कोइराला प्रधानमन्त्रीको प्रस्तुति र व्याख्या जस्तो भए पनि बेसारमा औषधीय गुण पर्याप्त रहेको बताउँछन्। ‘बेसार लगायत गुर्जो, अश्वगन्धा, असुरो, पिप्ला, जेठीमधु जस्ता जडीबुटीले रोगको रोकथाममा भूमिका निभाउन सक्छन्,’ कोइराला भन्छन्, ‘तर यसलाई कुन फर्म र मात्रामा खाने भन्ने कुरा जानकारी हुनुपर्नेमा नभएको पाइएको छ।’  

मसला बाली विकास कार्यक्रमका प्रमुख युवराज पाण्डेय भने पछिल्लो समय अदुवा, बेसार लगायत मसला बालीमा आकर्षण बढ्दै गएकाले तीनै तहका सरकारले यसलाई प्राथमिकता दिएको बताउँछन्।

उनी बेसारमा भाइरल इन्फेक्सन नियन्त्रण गर्ने गुण भएको बताउँछन्। ‘बेसार १ ग्रामभन्दा बढी खानु हुँदैन। हाम्रो भान्सामा पाक्ने हरेक चिजमा बेसार चाहिने हुनाले थप खानुपर्छ भन्ने पनि हुँदैन,’ उनी भन्छन्, ‘तर यसलाई तेलमा फुराउँदा तत्व नष्ट हुने हुनाले तरकारी भुटिसकेपछि राख्नुपर्छ।’  

प्रधानमन्त्रीले पटकैपिच्छे खान सुझाउने आयुर्वेदका यी औषधीको प्रवद्र्धनमा कार्यक्रम ल्याउन सरकारले पहल नगरेको उनको गुनासो छ। ‘सरकारले जहिल्यै योजना बनाउँदा डब्लुएचओलाई हेरेर बनाउँछ। जसले आयुर्वेदलाई प्राथमिकता दिँदैन,’ उनी भन्छन्, ‘स्वास्थ्यमा आएको बजेट ९७ प्रतिशत एलोपेथिकमै जान्छ। बाँकी तीन प्रतिशत आयुर्वेदमा जान्छ, होमियोपेथिकको त नामै आउन्न।’ उनी स्वास्थ्य मन्त्रालयले सबैलाई समेटेर कार्यक्रम ल्याउन नसकेको बताउँछन्। भन्छन्, ‘स्वास्थ्य मन्त्रालय त हाम्रा लागि एलोपेथिक मन्त्रालय हो।’

सरकारले कृषि अनुसन्धान परिषद् नार्कमार्फत अदुवा बाली अनुसन्धान कार्यक्रम चलाइहेको छ। २०४९ बाट सञ्चालनमा आएको कार्यक्रमले अहिलेसम्म कपुरबोट १ र २ जातको बेसार अनुसन्धानपछि सिफारिस गरेको छ। तर सिफारिस भएकै जातको प्रयोग कम रहेको पाइएको छ। ‘अदुवा सबैमा एकनास औषधीय गुण हुन्छ। तर बेसारमा मुख्य गरी कपुरबोट १ र २ मा मात्र बढी औषधीय गुण पाइन्छ,’ कार्यक्रमका प्रमुख समिर अहमद भन्छन्, ‘किसानले अहिले एक सय २० प्रकारका बीउको प्रयोग गरेका हुन्छन्। हामीले विभिन्न ठाउँमा उत्पादन गर्दै सिफारिस जात वितरण गर्दै आएका छौं तर अन्य निकाय र किसानले यसको विस्तारमा चासै देखाउन्नन।’

मसला बाली विकास कार्यक्रमका प्रमुख युवराज पाण्डेय पछिल्लो समय अदुवा, बेसार लगायत मसला बालीमा आकर्षण बढ्दै गएकोले तीनै तहका सरकारले यसलाई प्राथमिकता दिएको बताउँछन्। ‘हामीले बीउ उत्पादन गर्दै आएका छौं। कृषि ज्ञान केन्द्रमार्फत वितरण गर्ने हुनाले माग धान्नै सक्दैनौं,’ उनी भन्छन्, ‘सिँचाइ सुविधा नभएको ठाउँमा पनि खेती गर्न सकिने र जंगली जनावरले असर नगर्ने हुनाले पनि यसको व्यवसायमा फाइदा छ।’  

उनले आकर्षण बढेको बताए पनि सरकारी तथ्यांकले यसको उत्पादन क्षेत्रमा कमी आएको देखाउँछ। सरकारले भर्खरै जारी गरेको आर्थिक वर्ष ०७६÷७७ को आर्थिक सर्भेक्षणले मुलुकभर ७० हजार तीन सय २१ हेक्टरमा मसला बाली उत्पादन हुँदै आएको छ। जुन आर्थिक वर्ष ०७५÷७६ को तुलनामा २.९ ले कम हो। तथापि सर्भेक्षणले उत्पादन ९.५ प्रतिशतले बढेर पाँच लाख ५० हजार दुई सय ८१ मेट्रिक टन पुेगेको देखाएको छ। बेसार भने ६ हजार सात सय ७७ हेक्टरमा खेती गरिँदै आएको र उत्पादन ६६ हजार मेट्रिक टन छ।  

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा करिब २८ करोड रुपैयाँ बराबरको २१ सय ८० टन बेसार आयात भएको छ। आर्थिक वर्ष ०७५÷७६ मा २६ करोड २० लाखको दुई हजार २१ टन बेसार आयात भएको विभागको तथ्यांक छ।

प्रकाशित: ७ असार २०७७ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App