coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तातोपानीबाट सवा आठ अर्व रुपैयाँको आयात

पहिलेको अवस्थामा फर्किन प्रयासरत उत्तरको प्रमुख तातोपानी नाका भएर चालु वर्षको बितेका ११ महिनामा चीनबाट झन्डै सवा आठ अर्व रुपैयाँ मूल्यका सामाग्री नेपाल आयात भएका छन् । २०७२ वैशाख १२ को भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत वर्ष जेठको १५ गतेबाट संचालनमा आएको थियो । फाट्टफुट्ट बाहेक साउनदेखि मात्र नाकाबाट नियमित सामाग्री आयात हुन थालेको हो । कोरोना भाइरस फैलिएपछि चीनले अन्तर्राष्ट्रिय नाका बन्द गर्दा चैत दोस्रो सातासम्म तातोपानीबाट दुई महिना आयात ठप्प भएको थियो ।  

नाका चलेको नौ महिनामा आठ अर्व २० करोड रुपैयाँ मूल्यका चिनियाँ सामाग्री आयात भएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । नेपालमा कोरोना संक्रमण फैलिएपछि स्वास्थ्य सामाग्री आयात हुन नदिन नेपाल सरकारले माघ १६ गतेदेखि बन्द नाका संचालनमा ल्याउने निर्णय गरेको थियो । निर्णयसँगै चैत १६ बाट नाका खुलेको थियो । स्वास्थ्य सामाग्रीसँगै अन्य सामान पनि आयात भइरहेको प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए ।  

‘तातोपानी अन्तर्राष्ट्रिय नाका भएकाले सबै किसिमका सामाग्री आयात भइरहेको छ । तर कोरोनासँग सम्वन्धित स्वास्थ्य सामाग्री प्राथमिकताका साथ भित्रिरहेका छन्,’ उनले नागरिकसँग भने । कोरोनाअघि भित्रँदै आएका लत्ताकपडा, तयारी पोशाक, विद्युतीय सामाग्री मात्रै आयात हुन सकेको छैन । त्यसबाहेक स्याउ, लसुन, कृषि उपकरण र बीऊविजन भने आयात भइरहेको खत्रीले जानकारी दिए । 

कोरोनापछि व्यापारीले स्वास्थ्य सामाग्री र अत्यावश्यक सामान आयात गरिरहेको भन्सार तथ्यांकले देखाउँछ । भन्सार तथ्यांकअनुसार नाकाबाट सबैभन्दा बढी कोरोनासँग सम्वन्धित सामाग्री आयात भएको छ । नाका खुलेको दुई महिनामै एक अर्व ८४ करोड रुपैयाँ मुल्यका स्वास्थ्य सामाग्री आयात भएका छन् । पिसिआर मेसिन, भिटिएम किट्स्, भेन्टिलेटर, पिपिइ सेट, साधारण र एन–९५ माक्स, सेनिटाइजर लगायत ११ किसिमका कोरोनासँग सम्वन्धित सामाग्री नाकाबाट आयात भइरहेका छन् ।  

सोही अवधिमा साढे ११ करोड मुल्यका स्याउ, लसुन, साढे चार करोड मूल्यका धान बीऊ, एक करोड मूल्यका कृषि उपकरण र ५० लाख रुपैयाँ बराबरका एम्बुलेन्स भित्रिएको भन्सारको तथ्यांक छ । ‘भूकम्पअघिकै लयमा फर्किन नाका प्रयासरत छ,’ प्रमुख भन्सार अधिकृत खत्रीले भने । चालु वर्षमा चिनियाँ सामाग्री आयातबाट भन्सारले एक अर्व ३४ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन गरेको उनले जानकारी दिए ।  

मालबाहक सामाग्री आयात÷निर्यात गर्ने शर्तमा मात्र चीनले नाका खोलेको थियो । तर चीनबाट आयात भए पनि नेपालबाट भने सामाग्री निर्यात हुन सकेको छैन । कोरोना भाइरसका कारण नाकाबाट तत्काल निर्यात सम्भव नदेखिएको भन्सारका अधिकारी बताउँछन् । नाकाबाट मान्छे आवागमन भने बन्द रहँदै आएको छ । कोरोना महामारीमा स्वास्थ्य सामाग्री अभाव हुन नदिन तातोपानी नाकाले टेवा पुर्याइरहेको प्रमुख भन्सार अधिकृत खत्री बताउँछन् । भूकम्पअघि भन्सारले वार्षिक १५ अर्वको आयात, पाँच अर्वको निर्यात गरेर झण्डै चार–पाँच अर्व रुपैयाँ राजस्व असुली गथ्र्यो ।

प्रकाशित: ६ असार २०७७ १०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App