७ वैशाख २०८१ शुक्रबार
अर्थ

धेरै जिल्लामा फौजी किराको प्रकोप

मन्त्रालय भन्छ– नियन्त्रण प्रयास भएको छ

नयाँ जातको किरा, लकडाउन र विषादी अभाव नियन्त्रणमा मुख्य समस्या

इलामको माई नगरपालिका–३ का किसान मकैबाली नष्ट गर्ने फौजी किरा देखाउँदै । तस्बिर : रासस

गत वर्ष मकै बालीमा पहिलो पटक देखिएको अमेरिकन फौजी किराको प्रकोप अहिले अधिकांश जिल्लामा फैलिइसकेको छ । एक वर्षअगाडि पहिचान भएको उक्त किराबारे किसान अनभिज्ञ रहेको यस क्षेत्रमा संलग्न विज्ञहरु स्विकार्छन् । पहिलो जानकारी नै नभएको नयाँ जातको किरा बालीका फैलिनु, अर्को लकडाउनका कारण आवश्यक विषादी प्रयोग गर्न नपाउँदा मकै सखाप हुने चिन्तामा किसान छन् ।

सरकारका अधिकारी भने यो फैलावटलाई सामान्य ठानेको जवाफ दिन्छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तथा अमेरिकन फौजी किरा नियन्त्रणका लागि गठित प्राविधिक समितिका संयोजकसमेत रहेका हरिबहादुर केसी मन्त्रालयले यही समयमा फौजी किराको प्रकोप फैलिने कुराको पूर्वानुमान गरेको बताउँछन् । 

सोही अनुमानका आधारमा किसान तथा प्राविधिकलाई आवश्यक तालिम तथा सचेतनाका प्रयास हुँदै आएको उनको भनाइ छ । ‘हामी लकडाउनकै बेलामा पनि नियमित रुपमा भर्चुअल बैठकमार्फत नियन्त्रणका सवालमा छलफल चलाउँदै आएका छौं,’ उनले भने, ‘आवश्यक विषादी आयात र भण्डारण अवस्था बझ्दा पर्याप्त छ तर लकडाउनका कारण केही पहाडी जिल्लामा पठाउन गाह्रो भएको छ ।’ फौजी किरा नियन्त्रणका लागि आवश्यक विषादी व्यवस्थापन गर्न मन्त्रालय व्यवसायीसँग निरन्तर समन्वय गर्दै आएको बताउँछन् ।

प्रवक्ता केसीले तयारी गरेको बताइरहँदा अहिले यो फैलावट कुन रुपमा छ र यसको क्षतिको अवस्था कस्तो छ भन्ने कुराको जवाफ सरकारकै निकायसँग छैन । प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव प्रसाद हुमागाईं अहिले फौजी किराको प्रकोप ४० देखी ४२ जिल्लामा फैलिएको बताउँछन् तर क्षतिको विवरण भने उनीसँग पनि छैन । 

दुई साताअघि नागरिकसँगको कुराकानीमा हरेक १५ दिनमा तथ्यांक अद्यावधिक हुने गरी संयन्त्र बनाएको उनले बताएका थिए ‘अहिले यति जिल्लामा प्रकोप फैलियो भन्ने जानकारी मात्र पाइने हो, क्षतिको तथ्यांक आइसकेको छैन, प्रारम्भिक जानकारीलाई हेर्दा करिब अहिले नै १५ हजार हेक्टरभन्दा बढीमा यसले प्रभाव पारेको अनुमान गर्न सकिन्छ ।’ तर दुई हप्तापछि पनि उनीसँग अद्यावधिक तथ्यांक छैन । ‘हामीले सबै प्रदेशमा तथ्यांक मागेको हो तर पाउन सकिएको छैन, म आज पनि त्यसकै फलोअपमा थिएँ,’ उनले भने, ‘हामीले गर्ने आग्रह हो, आदेश दिन मिल्दैन तथ्यांक पाउन हामीलाई पनि गाह्रो प¥यो, अब आफैं एक एक गरेर कृषि ज्ञान केन्द्रमा फोन गर्नुपर्ने अवस्था आयो ।’

उनी गत वर्षकै पनि अमेरिकन फौजी किराले पुर्याएको क्षतिको तथ्यांक नभएको बताउँछन्, ‘तथ्यांक संकलनको अफ्ठ्यरोका कारण पोहोर पनि तथ्यांक यकीन भएन, कतै ५० प्रतिशतभन्दा बढी नोक्सानीको कुरा आयो, कतै १० प्रतिशतसम्म क्षति भयो भन्ने पनि आयो ।’

बढी प्रभावित भनिएका प्रदेश १ बाहेक कुनै पनि प्रदेश अन्तर्गतको भूमि व्यवस्था तथा कृषि मन्त्रालयसँग यसको प्रारम्भिक तथ्यांकसमेत छैन । प्रदेश १ मा पनि गत वैशाख मसान्तसम्मको मात्र तथ्यांक छ । प्रदेश १ भूमि व्यवस्था तथा कृषि मन्त्रालयका बाली संरक्षण अधिकृत मुकेश यादव प्रदेश १ मा १० हजार ६ सय ५५ हेक्टरमा यसले प्रभाव पारेको बताउँछन् । उनी कृषि ज्ञान केन्द्रमार्फत यसको नियन्त्रणमा काम गरिरहेको बताउँछन् । 

प्रदेश २ भूमि व्यवस्था तथा कृषि मन्त्रालयका बाली संरक्षण अधिकृत मनिष कुमार पाल प्रदेश २ अन्तर्गतका पाँच जिल्लामा यसले व्यापक प्रभाव पारेको भए पनि क्षतिको विवरण संकलन नभएको बताउँछन् । ‘लकडाउन र कोरोनाको त्रासका कारण फिल्डमा गएर काम गर्न सक्ने अवस्था छैन,’ उनी भन्छन्, ‘अहिले प्रकोप नियन्त्रणका लागि गठित टास्क फोर्सले स्थानीय तहसँग समन्वय गरेर योजना बनाइरहेको छ, तथ्यांक संकलन बिस्तारै गर्दै जान्छौं ।’

वाग्मती प्रदेश भूमि व्यवस्था तथा कृषि मन्त्रालयसँग यसको प्रभावबारे कुनै पनि तथ्यांक छैन । यससम्बन्धी तथ्यांक राख्ने जिम्मेवारी पाएका वरिष्ठ बाली संरक्षण अधिकृत केशव खनालले भने, ‘हामीसँग यससम्बन्धी अहिलेसम्म कुनै तथ्यांक आएको छैन ।’ प्रदेश ५ भूमि व्यवस्था तथा कृषि मन्त्रालयकी वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारी आधा दर्जन जिल्लामा यसले क्षति पुर्याएको जानकारी आएको भए पनि क्षतिको तथ्यांक आइनसकेको बताउँछिन् । उनले भनिन्, ‘कृषि ज्ञान केन्द्रमार्फत तथ्यांक संकलन गरिरहेका छौं, दुई—चार दिनमा सम्पर्क गर्नुस् ।’

वैशाखको सुरुदेखि नै फैलिन सुरु गरेको अमेरिकन फौजी किराले पारेको क्षतिबारे प्रारम्भिक तथ्यांकसमेत नहुनुले फौजी किराको प्रकोप नियन्त्रणमा सम्बन्धित निकायको चासो कति छ भन्ने कुरा स्पष्ट हुन्छ । अझ तराई क्षेत्रमा त यसको प्रभाव वर्षभरि देखिँदै आएको छ । नजिकबाट अनुसन्धान गर्दै आएका नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) किट विज्ञान महाशाखाका वरिष्ठ वैज्ञानिक अजय श्री रत्न बज्राचार्य वर्षभरी नै यसले आफ्नो प्रभाव छाड्दै आएको बताउँछन् ।

‘यो अलि चिसो समयमा नबाँच्ने किरा भए पनि हामीले तराईमा जाडो महिनामा पनि अध्ययन गर्यौं, हिउँदे मकैमा पनि देखियो,’ उनले भने, ‘उच्च र मध्यपहाडी भेकमा हिउँदमा नबाँच्ने भए पनि तराईबाट फेरि फैलिन्छ ।’ उनी यो पुतली अवस्थामा एक रातमा सय किलोमिटरसम्म उडेर बसाइ सर्ने गरेकाले भारतबाट पनि सहजै नेपालमा आउने गरेको बताउँछन् ।  

मकैको माटोमुनिको भागबाहेक घोगासम्म खाने यो किरा लार्भा अवस्थाका दुई हप्तामा क्षति पुर्याउने गरेको पाइएको छ । वरिष्ठ वैज्ञानिक बज्राचार्यले एउटा पुतली अवस्थाको किराले हजारदेखि १५ सयसम्म फुल पार्ने गरेको बताए । ‘एउटा पुतलीले धेरै अण्डा पार्ने हुनाले यसको विस्तार छोटो समयमै हुन्छ र यसलाई नियन्त्रण गर्ने भनेकै लार्भा अवस्थामा हो,’ उनले भने, ‘जब बिस्तारै हुर्कँदै जान्छ, त्यसलाई कुनै पनि विषादीले नियन्त्रण गर्न सकिँदैन ।’

अमेरिकन फौजी किरालाई कतिपय अवस्थामा नदेखिने तर क्षति गर्न सुरु गर्ने भएकाले त्यही अवस्थामा विषादी प्रयोग गर्नुपर्ने बज्राचार्यको सुझाव छ । ‘यसमा सरकारले सफ्ट खालका विषादीको सिफारिस गरेको छ, बिरुवामा पर्याप्त मलजल पुगेको अवस्थामा यसको नियन्त्रणपछि गरिँदा उत्पादनमा असर नपुग्न सक्छ,’ उनले भने, ‘समयमै नियन्त्रण गर्न सके सामान्यतया १० देखि १५ प्रतिशत क्षतिमै रोक्न सकिन्छ ।’ 

उनले अहिले धेरैतिर यसको प्रकोप फैलिएको जानकारी आएको भए पनि धेरैतिर किसानमा जानकारी अभावले अन्य किरालाई पनि अमेरिकन फौजी किरा भनेको पाइएको बताए । उनले भने, ‘धादिङलगायत जिल्लामा पनि यसको प्रकोप फैलिएको छ तर हामीलाई प्राप्त फोटो हेर्दा अन्य किरा भएको पाइएको छ ।’

किरा नियन्त्रणका लागि अहिलेसम्म विषादीको प्रयोग गर्न सिफारिस गर्दै आएको भए पनि जैविक उपचारका लागि पनि अध्ययन गरिँदै आएको उनले बताए । ‘यसको नियन्त्रणका लागि शत्रु जीव किराबाट आक्रमण गराउने एउटा उपाय हो, अहिले ट्राइकोग्रामा र टेलेनोमस नामक बारुला जातका रैथाने किराको पहिचान भएको छ,’ बज्राचार्यले भने, ‘प्रयोगशालाबाट यसको उत्पादन भइरहेकाले तयारीपछि यसलाई अमेरिकन फौजी किराको प्रकोप भएको ठाउँमा छाड्ने योजना छ ।’ त्यसका अतिरिक्त अहिले नेपालमै यसलाई असर गर्ने भाइरस र ब्याक्टेरियासमेत पाइएकाले यी किरामा रोग फैलाउन सकिने देखिएको बताए ।

बज्राचार्यले अमेरिकी मुलुकमा पहिचान भएको भए पनि अहिले यसले अमेरिकी मुलुकमा कम क्षति पु¥याएको बताउँछन् । उनी भन्छन्, ‘यसका लागि अमेरिकी मुलुकमा जस्तो तत्काललाई मकैको वंशाणुगत गुण नै बदल्न नसके पनि यसले मन नपराउने मकैको पहिचान गर्न सके क्षतिलाई रोक्न सकिन्छ ।’

प्रकाशित: ३० जेष्ठ २०७७ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App