coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

व्यवसायीलाई चार महिनाको भाडा छुट दिने नगरपालिकाको निर्णय (अपडेट)

हलेसी तुवाचुङ नगरपालिकाको स्थानीय राजस्व परामर्श समितिको बैठकमा सहभागीहरु । तस्बिर :नागरिक

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनको मारमा परेका विभिन्न व्यवसायीलाई चार महिनाको शुल्क तथा भाडा छुट गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले आव्हान गरेको लकडाउनका कारण व्यवसायी मारमा परेको भन्दै नगरपालिकाको स्थानीय राजस्व परामर्श समितिको सिफारिस अनुशार त्रि–धार्मिकस्थल हलेसीका होटलबाट मासिकरुपमा उठाइने फोहोर संकलन शुल्क, मन्दीर आसपासका डोरामाला व्यावसायीबाट लिइदैआएको भाडा र कुम्भबत्ती घरमा लाग्ने भाडा छुट दिने निर्णय गरेको हो । 

जारी लकडाउनका कारण हलेसीका होटल तथा व्यापार व्यवसायलाई प्रत्यक्ष अशर पुगेकाले गत चैतदेखि असारसम्मको फोहोर संकलन शुल्क, डोरामाला भाडा र कुम्भबत्ती घर भाडावापत उठ्ने चार लाख रुपैयाँ छुट दिने निर्णय गरिएको नगरपालिकाकी उपमेयर एबं स्थानीय राजस्व परामर्श समितिका संयोजक बिमला राईले बताईन् । गत जेठ २० गतेको राजस्व परामर्श समितिको सिफारिसलाई नगर कार्यपालिकाको बिहिबारको बैठकले अनुमोदन गरेको हो ।  

लकडाउनको मारमा परेका व्यवसायीको हितलाई ध्यान दिएर शुल्क एबं भाडा छुट दिने हलेसी तुवाचुङ नगरपालिका जिल्लाकै पहिलो स्थानीय तह दावी गरिएको छ । राजस्व परामर्श समितिले आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक आन्तरिक आम्दानी अनुमानित ५५ लाख प्रस्ताव गरेको छ । बैठकमा राजस्व संकलनका समस्या र समाधानका उपायका बारेमा समेत ठोस छलफल गरिएको उपमेयर एबं समिति संयोजक राईले बताईन् ।

‘नियमितरुपमा राजस्व संकलन गरिसकेपछि नियमितरुपमा बैंकमा दाखिला नगरेको, गिटी बालुवाको रसिद नकाटि ढुवानी गर्ने गरेको, भौगोलिकरुपमा विकट रहेकाले बैंकमा नियमित रुपमा जम्मा गर्न नसकिएको समस्याहरु पहिचान भएको छ,’ राईले भनिन्, ‘नियमित राजस्व संकलनका लागि वडा कार्यालयलाई जानकारी दिने, रसिद काट्ने तथा ढुवानीकर्तालाई सचेतना गराउने, नगरपालिकाकातर्फबाट सम्वन्धित निकायका कर्मचारी र पदाधिकारीलाई राजस्व संकलन सम्वन्धी तालिमको व्यवस्था गर्ने र ठेक्का प्रणालीबाट गिटी बालुवा निकासी गरेर राजस्व संकलनलाई सुधार गर्ने योजना बनाएका छौँ ।’ समितिका अनुशार आगामी आर्थिक वर्ष करदाता शिक्षाका लागि नगरपालिकामा गोष्ठी सञ्चालन गरिने छ ।  

आर्थिक वर्ष २०७७/०७८ को निति, बजेट तथा योजना निर्माणका लागि उपमेयर संयोजकत्वको निति, बजेट तथा योजना तर्जुमा समितिले विज्ञहरुसँग भर्चुअल बैठकमार्फत आवश्यक सल्लाह सुझाव लिने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित: २२ जेष्ठ २०७७ १७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App