coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

राष्ट्र बैंकले १ , बैंक वित्तीय संस्थाले ३ प्रतिशत ब्याजमा पुनर्कर्जा दिने

कोरोनाको संक्रमणको अवधीमा महंगो ब्याज तिर्न नसक्ने वर्गका लागि नेपाल राष्ट्र बैंकले सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ।  मुलुक कोभिड–१९ को चपेटामा परेका बेला राष्ट्र बैंकले विगत चार वर्षदेखी उपलब्ध गराउँदै आएको पुनर्कर्जाको ब्याजदर कम गर्न नयाँ कदम चालेको हो।  

राष्ट्र बैंकले एक सूचना जारी गर्दै ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७’ को मस्यौदा तयार भएकाले सम्वन्धित बैंक, वित्तीय संस्था, व्यबसायी लगायत सरोकारवालालाई आगामी १५ दिनभित्र सुझाव दिन आग्रह गरेको छ।  

राष्ट्र बैंकले यस अघिका आर्थिक वर्षमा पनि पुनर्कर्जा कार्यक्रम सञ्चालन गर्दै आएपनि कोभिड–१९ विरुद्ध लडन आगामी आवमा कृषि, पर्यटन, उर्जा, उद्यम, व्यापार व्यवसाय गर्न सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने उदेश्यले ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७’ तयार गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए।  

मस्यौदा अनुसार अब पुनर्कर्जालाई तीन तहमा वर्गिकरण गरिएको छ। यसअघि पुनकर्जा शिर्षकमा सबै क्षेत्रमा समान ब्याजदरमा पुनकर्जा दिने व्यवस्था रहेकोमा अब विशेष पुनर्कर्जा, साधारण पुनर्कर्जा र लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा गरी तीन तहमा वर्गिकरण गरिएको राष्ट्र बैंकले जनाएको छ।  

राष्ट्र बैंकका अनुसार विशेष पुनर्कर्जा अन्तर्गत निर्यात, महिला उद्यमी, प्राकृतिक प्रकोपबाट असर परेका क्षेत्रमा कर्जा दिईनेछ। यस्तो कर्जा राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई १ प्रतिशतमा उपलब्ध गराउने छ भने यी बैंक वित्तीय संस्थावाट सर्वसाधारणले ३ प्रतिशत ब्याजदरमा विशेष पुनर्कर्जा लिन सक्नेछन्।  

त्यसैगरी, लघु, घरेलु तथा साना उद्यम सञ्चालन गर्नका लागि राष्ट्र बैंकले २ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशत ब्याजदरमा सर्वसाधारणलाई कर्जा दिनुपर्नेछ। यस्ता उद्यम, व्यापार, व्यवसायका लागि बढीमा १५ लाख रुपैयाँ पुनर्कर्जा दिने व्यवस्था गरिएको मस्यौदामा उल्लेख गरिएको छ।  

राष्ट्र बैंकका अनुसार सर्वसाधारणले ५ प्रतिशत ब्याजदरमा साधारण पुनर्कर्जा लिन सक्नेछन् भने यी बैंक वित्तीय संस्थालाई राष्ट्र बैंकले ३ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको हो।  

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार पुनर्कर्जाको अवधी बढीमा एक वर्षको हुनेछ। त्यसैगरी, नयाँ व्यवस्था अनुसार लगातार तीनदेखी २० प्रतिशत नाफा गरेका उद्योगी व्यवसायीले पुनर्कर्जा नपाउने भएका छन्।  

राष्ट्र बैंकका अनुसार हाल पुनर्कर्जा कोषमा ६० रुपैयाँ रहेकोमा सरकारले आगामी आवको बजेटबाट पुनर्कर्जा कोषको सीमा १ खर्ब रुपैयाँ पुर्यारउने घोषणा गरेको छ।  

तर, चालु आवको नौ महिनामा मुलकका बैंक तथा वित्तीय संस्थाले करिब १८ अर्ब रुपैयाँ लिएका छन्।  

पुनर्कर्जाको सीमा

नेपाल राष्ट्र बैंकका अनुसार नयाँ व्यवस्था अनुसार अब बैंक वित्तीय संस्था आफैले राष्ट्र बैंकले तोकेका क्षेत्र तथा मापदण्डभित्र रहि ऋणी छनोट समेत आफै गर्नूपर्ने छ। त्यसैगरी, पुनर्कर्जाको ७० प्रतिशत रकम सोझै बैंक वित्तीय संस्थाले पाउँने भएका छन् भने यो शिर्षकमा प्रतिव्यक्ति बढीमा १० करोड रुपैयाँ कर्जा लगानीको सीमा तोकिएको छ।  

राष्ट्र बैंकका अनुसार पुनर्कर्जा कोषको ७० प्रतिशत रकम बैंक वित्तीय संस्थालाई प्रदान गरेपछि बाँकी रहेको ३० प्रतिशत रकम हालकै व्यवस्था अनुसार परिचालन गरिनेछ।  

त्यसैगरी, विनाधितो लघु कर्जा प्रवाह गरी गरिवी न्यूनिकरण गर्न स्थापना भएका लघुवित्त वित्तीय संस्थाले पुनर्कर्जा कोषको ३० प्रतिशत रकममध्ये बढीमा १० प्रतिशत कर्जा प्रदान गर्ने मस्यौदामा उल्लेख गरिएको छ।  राष्ट्र बैंकका अुनसार नयाँ व्यवस्था लागु भएपछि साधारण पुनर्कर्जाको सीमा प्रतिग्राहक २० करोड रुपैयाँ रहनेछ।

 

प्रकाशित: २० जेष्ठ २०७७ १३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App