८ वैशाख २०८१ शनिबार
अर्थ

उदयपुर सिमेन्ट सुचारु

उदयपुर सिमेन्ट उद्योग । तस्बिरः महेश्वर

कोरोना भाइरस (कोभिड–१९) को लकडाउनले बन्द पूर्ण सरकारी स्वामित्वको गैंडा छापको उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) शुक्रबारदेखि सुचारु भएको छ । पछिल्लो ३ सातायता नयाँ संक्रमित नभेटिएसँगै उदयपुरमा कोरोना नियन्त्रणोन्मुख भएको निश्कर्ष निकालिएसँगै लकडाउनको अवरुद्ध भएको ६७ औं दिन सुचारु गर्न फाईरिङ भएको छ ।  

महाप्रबन्धक (जिएम) नवलकिशोर साहले दुईमहिनाभन्दा लामो लकडाउनले बन्द उद्योग करोडौं व्यवसायिक घाटा बेहोरिसकेकाले थप घाटाबाट जोगाउन र सिमेन्ट प्रयोगको ‘पिकसिजन’ मा अभाव टार्न उत्पादन सुचारु गरिएको बताए । दैनिक ८ सय मेट्रिक टन क्लिंकर उत्पादन क्षमताको उसिउलिले सरदर ६ सय मेट्रिक टन उत्पादन गर्दै आएको छ । त्यस आधारमा ६५ दिन बन्द हुँदा सरदर उत्पादनकै दरले हिसावले पनि ३९ हजार मेट्रिक टन क्लिंकर अर्थात ७ लाख ८० हजार बोरा सिमेन्ट उत्पादन हुन सकेन ।  

जसको हाल कायम मूल्य प्रतिबोरा ७ सय ४१ रुपंैयाका दरले जोड्दा हुन आउने ५७ करोड ७९ लाख ८० हजारबराबर व्यवसायिक घाटा लकडाउनले उद्योगलाई पारेको जिएम साहले बताए । त्यसबाहेक उद्योगका ३ सय ८० कर्मचारी÷मजदुरलाई तलब भत्तावापत मासिक ६२ लाखका दरले हुनआउने १ करोड २५ लाख थप व्ययभार परेको जिएम साह बताउँछन् ।  

यता उद्योग बन्दको अवधिमा विद्युत, कर्मचारी÷मजदुरलाई अतिरिक्त समय भत्ता (ओटी), लाईमस्टोन, कोईला र लुब्रिकेन्टजस्ता सामग्री भने बचत भएको छ । ‘फुल फेज’ मा उद्योग चल्दा मासिक अढाईदेखि ३ करोड रुपैंयासम्म विद्युत महसुल उठ्ने गर्छ भने कर्मचारी÷मजदुरलाई ओटीवापत मासिक ९० हजारदेखि १ लाख १० हजारसम्म अतिरिक्त भुक्तानी दिनु पर्छ । त्यस्तै लाईमस्टोन दैनिक एकहजार टन, कोईला दिनमा १ सय २५ टन र लुब्रिकेन्ट÷डिजलजस्ता इन्धन दैनिक १५ हजारसम्म खर्च हुने गरेको उत्पादन महाशाखा प्रमुख सञ्जयलाल कर्णले बताए ।  

त्यस आधारमा विद्युत ५ करोड ५० लाख, ओभरटाईम (ओटी) ६५ लाख, लाईमस्टोन ६५ टन, कोईला ८ हजार टन र १० लाख हाराहारीको इन्धन बचतको अनुमान गरिएको छ । यसरी उत्पादन, विद्युत, तलबभत्ता, लाईमस्टोन, कोईला, इन्धन सबै नाफा घाटाको हिसाव गर्दा पनि उद्योगलाई कम्तीमा ५० करोड बढी खुद घाटा हुन पुगेको उद्योगका प्रशासन तथा अर्थ महाशाखा प्रमुखसमेत रहेका नायव महाप्रबन्धक (डिजिएम) ध्रुब देवकोटा बताउँछन् । उनका अनुसार चालु वर्षको सुरुमै मुख्य यन्त्रको पंखा (एसपी प्mयान) बिग्रेर २ महिना लामो उद्योग अवरुद्ध हुँदा लक्ष्य अनुसार उत्पादन गर्न हम्मे परेको थियो । तर, पंखा मर्मत गरेपछि निर्वाध सञ्चालन भईरहेकाले लक्ष्य छुनै लाग्दा आईलागेको कोरोना कहरको लामो लकडाउन झेल्नुपर्दा उद्योगको हुर्मत लिएको डिजिएम देबकोटाले बताए ।  

उद्योगका प्रवक्ता तथा बिक्री विभाग प्रमुख रामबहादुर जिसीले सातादिनदेखि बिक्री सुरु गरिएको उद्योगमा मौज्दात सिमेन्ट सकिन लागेको छ । डेढलाख बोराजस्तो स्टक रहेको सिमेन्ट बिक्री खुल्ला भएपछि दिन बिराएर बेच्दा पनि सकिन लागेको जिसीले बताए । व्यवस्थापनले सातादिनअघि नै उद्योग सुचारु गर्न खोजे पनि कोरोना कहरले कोईला ल्याउन नसक्दा केहीदिन ढिला हुन गएको उनले बताए । लामो समय लकडाउनका कारण धेरै मजदुर÷कर्मतचारी घरघर गएकाले उद्योगको आवासमा रहेका सीमित प्राविधिकबाट काम सुचारु गरिएको छ । उद्योग चलेसँगै अन्य मजदुरलाई हाजीर हुन बोलाइए पनि प्रशासनको अनुमति (पास) नपाउँदा आउन कठिनाई भएको उद्योगले जनाएको छ ।  

 

 

प्रकाशित: १६ जेष्ठ २०७७ ०९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App