८ वैशाख २०८१ शनिबार
अर्थ

लक्ष्य १२ सय किलोमिटर सडक कालोपत्रे भयो ५५९ किलोमिटर मात्रै

संघीय सरकारले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा पाँच सय ५९ किलोमिटर सडक कालोपत्रे गरेको छ। चालु आवमा सरकारले १२ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। तर, चालु आर्थिक वर्षको आठ महिनाको अवधिसम्म जम्मा पाँच सय ५९ किलोमिटर सडक कालोपत्रे गरेको छ। चालु आर्थिक वर्षको आठ महिनामा भौतिक पूर्वाधार तथा विकास निर्माणको प्रगति निराशाजनक देखिएको छ। अर्थमन्त्री युवराज खतिवडाले संघीय सांसदमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/ ७७ को आर्थिक सर्वेक्षण प्रतिवेदनमा भौतिक पूर्वाधार तथा विकास निर्माणको कार्य  निराशाजनक देखिएको हो।  संघीय सरकारले चालु आवको आठ महिनामा ६ सय ५७ किलोमिटर खण्डास्मित अर्थात ग्राभेल र दुई सय ५२ किलोमिटर कच्ची सडक विस्तार गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।  

सरकारले गत आर्थिक वर्षमा ९ सय ८८ किलोमिटर कालोपत्रे, १३ सय ६३ किलोमिटर ग्राभेल र ४ सय ४० किलोमिटर कच्ची ससडक विस्तार गरेको थियो।  चालु आर्थिक वर्षको फागुनसम्म एक सय ५७ किलोमिटर सडक आवधिक मर्मतसम्भार र स्तोन्नति गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख।  सरकारले चालु आर्थिक वर्षमा तीन सय पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेकोमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा एक सय २९ वटा पुल निर्माण सम्पन्न भएको छ।  

गत आर्थिक वर्षमा भने दुई सय ३० वटा पुल निर्माण भएका थिए। चालु आर्थिक वर्ष २०७६/ ७७ को फागुनसम्म मुलुकभर संघबाट निर्माण भएका रणनीतिक र स्थानीय सडक सञ्जाल तर्फ कालोपत्रे १५ हजार २ सय ५४ किलोमिटर, खण्डास्मित ९ हजार २ सय ५१ किलोमिटर र कच्ची सडक ९ हजार ८ सय ४२ किलोमिटर गरी कूल सडकको लम्बाई ३४ हजार ३ सय ४७ किलोमिटर पुगेको छ। प्रदेश र स्थानीयस्तरबाट ६१ हजार तीन सय ९५ किलोमिटर सडक निर्माण भएको छ।  चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत १ सय ३९ किलोमिटर सडक कालोपत्रे भएको छ।  ५८ किलोमिटर ग्राभेल र तीन सय ३३ किलोमिटर सडक आवधिक मर्मतसम्भार भएको छ।  

रेलमार्ग  

चालु आर्थिक वर्षको आठ महिनामा जयनगर जनकपुर बर्दिबास ७० किलोमिटर रेलमार्गमध्ये ५६ किलोमिटर रेलमार्गको निर्माण सम्पन्न भएको छ।  बर्दिबास निजगढ रेलमार्गको चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ३.५ किलोमिटर टयाक बेड निर्माण भएको आर्थिक सर्वेमा उल्लेख छ।  मेची महाकाली विद्युतीय रेलमार्गको सो अवधिमा विस्तुत अध्ययन प्रतिवेदन तयार भएको जनाइएको छ।  सरकारले केरुगं काठमाडौं, विरगन्ज काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन कार्य सम्पन्न भएको जनाएको छ।  

राष्टिय गौरवको हालत बिजोग

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा राष्टिय गौरवको आयोजनाको प्रगतिपनि अन्त्यन्तै न्यून देखिएको छ।  कुनै पनि राष्टिय गौरवका आयोजनाले लक्ष्य अनुसार आठ महिनाको अवधिमा भौतिक प्रगति हासिल गर्न सकेका छैनन्।  चालु आर्थिक वर्षमा मध्यपहाडी लोकमार्गमा एक सय ४० किलोमिटर सडक कालोपत्रे भएको छ।  त्यसैगरी १ सय ८६ किलोमिटर सडक ग्राभेल भएको छ।  उक्त लोकमार्गमा एक सय २९ वटा पुलमध्ये ६७ पुलको निर्माण सम्पन्न भएको छ।  कुल १८ सय ७९ किलोमिटरमध्ये हालसम्म ८०२ किलोमिटर सडक कालोपत्रे भएको छ।  

चालु आर्थिक वर्षको आठ महिनामा हुलाकी राजमार्ग आयोजनाको एक सय ४२ किलोमिटर सडक कालोपत्रे भएको आर्थिक सर्वेमा उल्लेख छ।  त्यसैगरी सो अवधिमा दुई सय किलोमिटर सडक ग्राभेल भएको छ।  हालसम्म उक्त आयोजनाको दुई सय ७० किलोमिटर सडक कालोपत्रे र ३ सय २५ किलोमिटर ग्राभेल र ८५ पुल निर्माण भएको आर्थिक सर्भेमा उल्लेख छ।  

उत्तर दक्षिण लोकमार्ग चालु आर्थिक वर्षको आठ महिनामा ५८ किलोमिटर सडक कालोपत्रे भएको छ। त्यसैगरी सोही आयोजना मातहतको गैडाकोट राम्दी मालढुंगा सडक खण्डमा ११ किलोमिटर ग्राभेल भएको छ।  चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा कोसी कोरिडोरमा २.७ किलोमिटर ग्राभेल र १२ किलोमिटर सडक चौडा पार्ने काम सम्पन्न भएको आर्थिक सर्भेमा उल्लेख छ।  

आठ महिनामा दुई लाख सवारीसाधन थपिए

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा दुई लाख ३१ हजार सवारीसाधन थपिएका छन्।  गत आर्थिक वर्षमा ३५ लाख ९१ हजार २ सय २८ सवारीसाधन दर्ता भएकोमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कुल ३८ लाख २३ हजार एक सय ८ पुगेको आर्थिक सर्भेमा उल्लेख छ।  कुल सवारीमध्ये ७८.८ प्रतिशत मोटरसाइकल रहेको छ। 

प्रकाशित: १४ जेष्ठ २०७७ ०६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App