coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

६५ प्रतिशत पर्यटक मनोरञ्जनको लागि नेपाल

विदेशी पर्यटकमध्ये ६५ प्रतिशत मनोरञ्जनको लागि नेपाल आउने गरेको अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको गरेको आर्थिक वर्ष ०७६/७७ को आर्थिक सर्वेक्षणले देखाएको छ ।  

सर्वेक्षण अनुसार २०७५ माघदेखि २०७६ पुससम्ममा सात लाख ७८ हजार एक सय ७३ विदेशी मनोरञ्जनको लागि नेपाल आएका देखिन्छन् । त्यसमा पदयात्रा र पर्वतारोहणको लागि १६ प्रतिशत, व्यापारका लागि साढे तीन प्रतिशत, औपचारिक कार्यालयसम्बन्धी कामले झण्डै साढे चार प्रतिशत र तीर्थयात्राका लागि १४ प्रतिशत नेपाल आएको सर्वेक्षणमा उल्लेख छ ।

सन् २०१९ मा पर्यटक आगमन समेत बढेको आर्थिक सर्वेक्षणले देखाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत पुससम्ममा २४ हजार एक सय १९ बढी पर्यटक नेपाल आएको बताइएको छ । २०७६ पुससम्ममा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । २०७५ को सोही अवधिमा यो संख्या ११ लाख ७३ हजार ७२ थियो ।  

उक्त संख्यामध्ये हवाईमार्गबाट नौ लाख ९५ हजार आठ सय ८४ र स्थलमार्गबाट दुई लाख १३ हजार सातजना विदेशी नेपाल आएको देखिन्छ ।  

२०७५ माघदेखि २०७६ पुससम्ममा पर्यटकको औसत बसाइसमेत १२ बाट १३ दिन पुगेको छ । त्यस्तै, पर्यटन क्षेत्रबाट आर्जन भएको विदेशी मुद्रा पाँच हजार करोडभन्दा माथि रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

यो वर्ष नेपालमा नौवटा तारे होटल थपिएका छन् । २०७५ पुससम्म एक सय २९ तारे होटल रहेकोेमा २०७६ को सोही अवधिमा एक सय ३८ पुगेको छ । त्यस्तै, तारे होटलहरुको बेड संख्या दुई हजार ५४ ले बढेर १३ हजार दुई सय पुगेको छ ।

तारे बाहेकका होटलहरु २०७५ पुससम्ममा ११ सय २५ रहेकोमा २०७६ पुसमा ११ सय ५१ पुगेका छन् । तिनको बेड संख्या एक हजार ८९ थपिएर ३० हजार सात सय ९९ पुगेको छ ।

पर्वतारोहणतर्फ सरकारलाई यो वर्ष ६८ करोड ६० लाखभन्दा बढी रोयल्टी प्राप्त भएको छ । आठ हजार सय ४१ आरोहीबाट उक्त सलामी दस्तुर प्राप्त भएको हो । सन् २०१८ मा आठ हजार ६ सय ४१ पर्वतारोहीले आरोहण गरेका थिए ।

आर्थिक वर्ष ०७५/७६ सम्म नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवाको संख्या २९ रहेकोमा आर्थिक वर्ष ०७६÷७७ को फागुुनसम्म उक्त संख्या ३० पुगेको छ । सबै मौसममा सञ्चालनमा रहने विमानस्थलको संख्या ३५ पुगेको छ ।

चालु आर्थिक वर्ष ०७६/७७ को फागुनसम्ममा राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ८६ प्रतिशत र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ५६ प्रतिशत निमार्ण कार्य सकिएको छ ।

प्रकाशित: १४ जेष्ठ २०७७ ०६:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App