coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आर्थिक वृद्धिमा कृषिको योगदान १० प्रतिशत बढ्ने

आर्थिक सवेक्षण

कोभिड–१९ को असरले आर्थिक वृद्धिदरमा अन्य क्षेत्रको योगदान खुम्चिए पनि कृषिको करिब १० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को आर्थिक वृद्धिमा कृषिको योगदान ३२.७ प्रतिशत रहने अनुमान छ । गत आवमा यो २१.२ प्रतिशत थियो ।  

कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान घट्दै गए पनि आर्थिक वृद्धिमा बढेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७.७ प्रतिशत रहने अनुमान छ । कृषि क्षेत्रको उत्पादन २.६ प्रतिशतले बढ्ने अनुमान छ ।

कोभिडको असरले उद्योग, व्यापार, व्यवसाय लगायत सेवा क्षेत्रको योगदान घटेपछि कृषिको योगदान बढ्ने देखिएको हो । मकै, गहुँ तथा फलफूल बालीमा सामान्य वृद्धि हुने अनुमान छ । कोरोनाका कारण आपूर्ति व्यवस्था असहज बन्दा तरकारी, मासु र दूध उत्पादनमा असर पर्ने बताइएको छ ।

सरकारले कृषिजन्य उत्पादन धान, गहुँ र उखु न्यूनतम समर्थन मूल्य कायम गर्दै आएको र यसले कृषकलाई व्यवसायतर्फ उत्प्रेरित गर्न सहयोग पुगेको छ । वस्तुको बजारीकरणमा सहयोग र बिचौलिया नियन्त्रणमा समेत सघाउ पुर्याएको जनाएको छ ।  

सर्वेक्षणमा कृषि बिमा कार्यक्रमअन्तर्गत यो वर्षको फागुन महिनासम्ममा १८ अर्ब ८२ करोड ७६ लाख रुपैयाँ बिमांकको ७५ प्रतिशत हुन आउने बिमाशुल्क ६३ करोड ३३ लाख १२ हजार अनुदान उपलब्ध गराएको उल्लेख छ । गत आर्थिक वर्षमा ७५ लाख ३५ करोड रुपैयाँ अनुदान दिइएको थियो ।

सर्वेक्षणले कृषि उत्पादनमा खाद्यान्न बाली ४५.२ प्रतिशत, तरकारी १६.८, औद्योगिक बाली १४.५ प्रतिशत, नगदे बाली १३.३ प्रतिशत र अन्य १०.२ प्रतिशत रहेको अनुमान गरेको छ । खाद्यान्न बाली २.९ प्रतिशत, नगदे बाली ३.६ प्रतिशत, दलहन ५.८ प्रतिशत, मसला १.३ प्रतिशत र फलफूल ६.१ प्रतिशतले उत्पादन बढेको छ । त्यस्तै, औद्योगिक बाली ४.५ प्रतिशत, तेलहन १.४ प्रतिशत र तरकारी ४.३ प्रतिशतले उत्पादन घटेको छ ।

चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा खाद्यान्न बाली लगाइएको क्षेत्रफलमा ०.९ प्रतिशतले ह्रास आएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा धान उत्पादनमा १.१ प्रतिशतले ह्रास आए पनि मकै, गहुँ र जौ बालीको उत्पादन र उत्पादकत्व क्रमशः २.९ र ३.८ प्रतिशतले वृद्धि हुने अनुमान छ ।  

गत वर्षको तुलनामा मकै बालीको क्षेत्रफल ०.२ प्रतिशतले बढेर नौ लाख ५८ हजार एक सय ५० हेक्टर पुगेको छ । मकै बालीको उत्पादन र उत्पादकत्व क्रमशः ६.७ प्रतिशत र ६.५ प्रतिशतले बढ्ने अनुमान छ ।

गत आर्थिक वर्षको तुलनामा गहुँ बाली लगाइएको क्षेत्रफल ०.३ प्रतिशतले बढेर सात लाख पाँच हजार आठ सय ८७ हेक्टर कायम भएको छ । यस अवधिमा गहुँको उत्पादन र उत्पादकत्व क्रमशः ८.९ र ८.७ प्रतिशतले बढेर उत्पादन २१ लाख ८५ हजार दुई सय ८९ मेट्रिक टन पुग्ने अनुमान छ ।

सर्वेक्षणले धान बाली सबैभन्दा बढी प्रदेश २ मा २५.६ प्रतिशत, प्रदेश १ र ५ मा क्रमश २२.४ प्रतिशत र २१.४ प्रतिशत र कर्णालीमा सबैभन्दा कम २.४ प्रतिशत उत्पादन हुने अनुमान गरेको छ । चालु आर्थिक वर्षमा गहुँ प्रदेश नं २ मा सबैभन्दा बढी २९.० प्रतिशत, मकै र फापर प्रदेश नं १ मा क्रमशः २९.१ र २४.३ प्रतिशत रहने अनुमान छ ।

चालु आर्थिक वर्षमा दलहन बाली ५.८ प्रतिशतले बढेर चार लाख चार हजार दुई सय १० मेट्रिक टन पुग्ने अनुमान छ । तेलहन बालीको उत्पादन गत वर्षको तुलनामा १.४ प्रतिशतले घटेर दुई लाख ७८ हजार तीन सय २५ मेट्रिक टन पुग्ने अनुमान छ । चालु आर्थिक वर्षमा नगदे बालीको उत्पादन ३.६ प्रतिशतले बढेर ३२ लाख ३० हजार मेट्रिक टन पुग्ने अनुमान छ ।

गत वर्षको तुलनामा तरकारी बालीमा ४.३ प्रतिशतले ह्रास आई ४० लाख ८९ हजार मेट्रिक टन हुनेछ । फलफूल गत वर्षको तुलनामा ६.१ प्रतिशतले बढेर १२ लाख ५० हजार मेट्रिक टन पुग्ने अनुमान छ । गएको वर्षको तुलनामा कपास बाहेकका औद्योगिक बाली उखु, जुट, चिया, कफी, माछाको उत्पादन घट्ने अनुमान छ । चालु आर्थिक वर्षमा मसला बालीको उत्पादन ९.५ प्रतिशतले वृद्धि भई पाँच लाख ५० हजार दुई सय ८१ मेट्रिक टन पुग्ने अनुमान छ ।

प्रकाशित: १४ जेष्ठ २०७७ ०५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App